२० पुस २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

हिमाल अस्पताल र चिकित्सकले डेढ करोड क्षतिपूर्ति दिनुपर्ने

उपचारमा लापरवाहीको कारण शिशुको मृत्यु भएको भन्दै उपभोक्ता अदालतले हिमाल अस्पताल तथा त्यहाँका चिकित्सकलाई १ करोड ४५ लाख ४४ हजार १ सय रुपैंया क्षतिपुर्तिको सजाय फैसला गरेको छ। अस्पतालमा उपचारको क्रममा २८ महिने बालिकाको मृत्यु भएपछि आमा गंगा गौतम र पिताले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए। बालिकालाई निमोनियाँ भएर उपचारको लागि यो अस्पतालमा लगिएको थियो। 

जिल्ला अदालत काठमाडौं हुँदै उपभोक्ता अदालतमा मुद्दा पुगेकोमा बिहीबार अदालतका अध्यक्ष राम प्रसाद शर्मा तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उक्त फैसला गरेको हो। कुल क्षतिपुर्तिमध्येमा ७० प्रतिशत रकम अस्पताल र ३० प्रतिशत उपचारमा संलग्न चिकित्सक डा. जगदिश यादवले तिर्नुपर्ने गरी फैसला भएको अदालतका श्रेष्टेदार शभोकर खरेलले बताए। यो अदालतमा फैसला भएका अस्पतालसम्बन्धी मुद्दामध्येमा सबै भन्दा ठूलो क्षतिपूर्तिको फैसला हो ।  

अस्पतालसम्बन्धी तेस्रो फैसला हो। यो अदालतले हालसम्म उपभोक्ता अधिकारसम्बन्धी पाँचवटा फैसला गरेको छ। ‘सबैभन्दा बढी क्षतिपूर्तिको फैसला गरेको मुद्दा हो, अरु दुईवटा फैसला ५० देखि ६० लाखभित्रका मात्र छन्,’ श्रेष्टेदार खरेलले भने।  

यसअघि अघिल्लो बिहीबार राजधानीकै ग्राण्डी सिटी अस्पताल र उपचारमा संलग्न चिकित्सक डा. सञ्जीव त्रिपाठीले ७० प्रतिशत र अस्पतालले ३० प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला गरेको थियो। यो अस्पताल र चिकित्सकसहितले गरी ५७ लाख १९ हजार रुपैँया क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। यो हिसाबले ४० लाख ३ हजार ३०० रुपैयाँ डा. सञ्जीव त्रिपाठी र ३० प्रतिशत अर्थात् १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नु पर्नेछ

पीडित वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै गत चैतमा मुद्दा दायर गरेकी थिइन्। पीडित वर्षा खुट्टाको तिघ्राको पछाडिको भागमा समस्या आएपछि उपचारका लागि अस्पताल पुगेकी थिइन्। उनको खुट्टामा रहेको बोसो निकाल्ने भनी दुईपटक प्लास्टिक सर्जरी गरिएको थियो। निको हुनुको सट्टा संक्रमण बढेपछि उनले क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेकी थिइन्। यसअघि ओम अस्पताललाई बृद्ध पिताको उपचारमा लापरवाही भएको भन्दै हालेको मुद्दामा ४६ लाख क्षतिपूर्ति फैसला गरेको थियो।

प्रकाशित: १३ असार २०८२ १९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App