११ माघ २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

देशभरका रेडियोग्राफरहरूको आन्दोलन दोस्रो दिन पनि जारी

माग पूरा नभए थप कडा आन्दोलनको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध देशभरका रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले बिहीबारदेखि सुरु गरेको कालोपट्टी बाँध्ने शान्तिपूर्ण आन्दोलन शुक्रबार (आज) दोस्रो दिनमा प्रवेश गरेको छ।

सरकारी रेडियोग्राफी संघ नेपालको अगुवाइमा चलिरहेको यो अभियानले अझ व्यापक रूप लिएको छ। काठमाडौंदेखि कञ्चनपुर, झापा, बुटवल, पोखरा, धनगढी, जनकपुर, चितवनलगायत देशका सबै जिल्लाका सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारी आज पनि आफ्नो कार्यस्थलमा कालोपट्टी बाँधेर काममा उपस्थित भएका छन्।

संघका अध्यक्ष दामोदर रोक्काले आज फेरि स्पष्ट रूपमा भने, ‘हामी शान्तिपूर्ण तर दृढताका साथ अघि बढिरहेका छौं। सरकार गम्भीर नभए हामी बाध्य भएर आन्दोलनको स्वरूप कडा बनाउँछौं। हाम्रो आन्दोलन पद र व्यक्ति केन्द्रित होइन, पेशाको अस्तित्व, सम्मान र भविष्यका लागि हो।’

संघले उठाएका मुख्य मागमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष रोक्काले असार ७ गतेभित्र स्पष्ट जवाफ नआए थप आन्दोलनका चरण घोषणा गरिने जानकारी दिए। रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले राष्ट्रव्यापी रूपमा यो अभियानलाई ऐक्यबद्धता जनाइरहेका छन्। 

विद्यार्थी, प्रशिक्षक र वरिष्ठ पेशागत व्यक्तित्वको पनि साथ पाइरहेको यो आन्दोलन अझ सशक्त बन्दै गएको छ। संघले सबै रेडियोग्राफी पेशाकर्मीलाई एकताबद्ध भएर आन्दोलनमा सक्रिय सहभागी भई पेशाको गरिमा बचाउन फेरि आग्रह गरेको छ।

प्रकाशित: ६ असार २०८२ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App