चर्चित ब्रान्डका दन्तमञ्जन(टुथपेस्ट)मा समेत हानिकारक रसायनहरू फेला परेका छन्। अमेरिकाको ‘लेड सेफ मामा’ नामक वैज्ञानिक संस्थाले गरेको एक अध्ययनले यस्तो भेट्टाएको हो।
उक्त संस्थाको अध्ययन प्रतिवेदन हालै सार्वजनिक भएको थियो। सोही वैज्ञानिक प्रतिवेदनका आधारमा जर्नल ‘दि गार्डेन’ र टाइम्स अफ इन्डियाले यस्तो तथ्यसहितका समाचार सामग्री प्रकाशन गरेका छन्।
अमेरिकी बजारमा बिक्री वितरणमा भइरहेका र धेरै उपभोक्ताले रुचाएका कम्पनीकै टुथपेस्टहरूमा अत्यधिक मात्रामा घातक धातु, सिसा र रसायन फेला परेको समाचारमा उल्लेख छ। जसमा ‘सेन्सोडाइन’, ‘क्रेष्ट’, ‘डक्टर ब्रुमुर्स’, ‘डक्टर्स जेन’, ‘डेभिड’ लगायतका कम्पनीका टुथपेस्ट समेत रहेको भनिएको छ।
अनुसन्धानका क्रममा ५१ वटा ब्रान्डका टुथपेस्ट स्वतन्त्र प्रयोगशालामा परीक्षण गरिएको भनिएको छ। जसमा अत्यधिक धातुहरूले वयस्क मानिसदेखि बालबालिकासम्मको स्वास्थ्यमा जोखिम निम्त्याउने औँल्याइएको छ।
अध्ययनमा समावेशमध्ये सेन्सोडाइन नामक टुथपेस्ट नेपाली बजारमा पनि उपलब्ध र अत्यधिक रुचाइएको पाइन्छ।
फेला परेका घातक रसायनहरूमा लेड(सिसा), मर्करी(पारो), आर्सेनिक र काडमियमको मात्रा टुथपेस्टमा अत्यधिक फेला परेको अध्ययनले देखाएको छ। यी रसायन बालबालिकाका लागि निकै घातक मानिन्छन्।
परीक्षण भएका ५१ वटा टुथपेस्ट मध्येमा ९० प्रतिशत लेड(सिसा)को मात्रा थियो । जुन पदार्थ न्युरो टक्सिन पदार्थ मानिन्छ । ६५ प्रतिशत आर्सेनिक र आधामा मर्करी र एक तिहाइमा काडमियम पाइएको भनिएको छ।
अमेरिकाको वासिंगटनस्थित एफडिए (फेडरल ड्रग्स एसोसिएसन)ले फ्लोराइडमुक्त टुथपेस्टमा १० हजार र फ्लोराइडयुक्त टुथपेस्टमा २० हजार पिपिभी लेड(सिसा)को मात्रा हुनुपर्छ । तर परीक्षण भएका कुनै पनि टुथपेस्टहरू यी मापदण्डभित्र छैनन्।
यो अनुसन्धानपछि पनि उत्पादक कम्पनीहरूले यस्तो हानिकारक पदार्थको अन्त्य गर्ने प्रतिबद्धता गरिसकेका छैनन्। रिपोर्टअनुसार धेरै पटक यस्तो टुथपेस्टले दाँत माझ्ने व्यक्ति बढी जोखिममा हुन्छन्।
नेपालमा उपभोक्ता संरक्षण ऐन २०७५ को धारा ७ उपदफा २ले कुनै पनि उत्पादन, प्रशोधन, प्याकिङ र लेबलभित्र भएको कुनै कमजोरीका कारण वस्तु वा सेवा उपभोग गर्दा कसैको जीउ ज्यान तथा सम्पत्तिको हानी नोक्सानी भएमा वस्तुको उत्पादक जिम्मेवार हुने व्यवस्था गरेको छ।
प्रकाशित: २० जेष्ठ २०८२ १८:३६ मंगलबार





