१० माघ २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालमै पहिलो पटक क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट ‘मायस्थेनिया ग्राभिस’को शल्यक्रिया

चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोगबाट ‘मायस्थेनिया ग्राभिस’ बिरामीको शल्यक्रिया गरिएको छ । दाङकी २२ वर्षिया महिलाको जेठ ८ गते सफल शल्यक्रिया गरिएको अस्पतालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।  

‘मायस्थेनिया ग्राभिस’को उपचारका लागि थाइमक्स निकाल्न दुरविन र एनेस्थेसिया दिँदा  नेपालमै पहिलोपटक नयाँ प्रविधि प्रयोग गरिएको अस्पतालका वरिष्ठ सर्जन डा. विनय ठाकुरले जानकारी दिए । ‘हामीले यसअघि ‘मायस्थेनिया ग्राभिस’को उपचारका लागि तीनवटा प्वाल बनाएर शल्यक्रिया गरिन्थ्यो, यसपटक छातीमा एउटा मात्रै सानो चिरा पारेर शल्यक्रिया गरिएको हो’,–उनले भने । यस्तै बिरामीलाई बेहोस बनाउँदा स्वासप्रश्वास नलिमा पाइप राखेर बेहोस बनाउने गरिएकोमा अहिले नयाँ प्रविधि प्रयोग गरेर हातको नलिबाट औषधि दिएर शल्यक्रिया गरिएको उनले बताए ।  

यस प्रविधिबाट शल्यक्रिया गर्नका लागि डा.ठाकुरको नेतृत्वमा पाँच सदस्य प्रत्यक्ष चिकित्सकको टोली खटिएको थियो । यस प्रविधि प्रयोगबाट ५५ प्रतिशतसम्म खर्च कम गर्न सकिने डा.ठाकुरको भनाई छ । उनका अनुसार काठमाण्डौंमा एक वर्ष अघि रोग पहिचान परी ती महिलाले औषधिको सेवन गर्दै आएकी थिइन् । ‘भारतमा मजदुरी गरेर जिवन निर्वाह गर्दै आउनुभएको र्रैछ । यस रोगले गाल्दै गएपछि काठमाडौँमा उपचार गर्नुभएछ । त्यहाँ चिकित्सकले आजिवन औषधि सेवन गर्न भनेपछि उहाँलाई झन कठिन भएछ,’ डा ठाकुरले भने ‘पछि क्यान्सर अस्पतालमा जान सुझाव दिएपछि यहाँ आउनुभयो हामीले उहाँको नयाँ प्रविधिमार्फत शल्यक्रिया गरेका छौँ । उहाँ स्वस्थ हुनुहुन्छ ।’

मायस्थेनिया ग्राभिस भएपछि जीवनभर औषधि सेवन गर्नुपर्ने हुन्छ । त्यसको विकल्पमा शल्यक्रिया गरिएको डा.ठाकुरले बताए । शल्यक्रियापश्चात विरामीले सेवन गर्नुपर्ने औषधि शुन्यमा झार्न सकिने उनले बताए ।

‘मायस्थेनिया बिरामी भएकाले मासिक २० हजार रुपैंया बराबरको औषधि सेवन गर्नुपर्ने हुन्छ’,उनले भने,‘थाइमक्स निकालेपछि पुरानै अवस्थामा फर्काउन सकिन्छ । यो रोगका बिरामीको मांसपेसी कमजोर हुँदै जाने र शरिरमा थकान महशुस हुने उनले बताए  । मुटु र दुईवटा फोक्सोको बिचमा हुने थाइमक्सले काम गर्न छाडेपछि मसल कमजोर बन्दै जान्छ । जसले शरिरमा आवश्यक नपर्ने तत्वहरु उत्पादन गरेर शरिरलाई शिथिल बनाउने डा.ठाकुले बताए । ‘यसले काम गर्न छाडेपछि सुरुमा आँखामा असर देखापर्छ,अन्तिममा फोक्सोसम्ममा असर पु¥याउँछ’,उनले भने,‘यसबाट क्यान्सर रोगसमेत लागेर मानिसको ज्यान जानसक्छ ।’ त्यस्ता बिरामीको थाइमक्स निकाल्दा अन्य कुरामा असर नपर्ने उनको भनाई छ । शल्यक्रियापछि बिरामी छिटो निको हुने र लामो समय अस्पताल बस्नु नपर्ने डा.ठाकुरले बताए ।

प्राय गरेर नेपालमा २२ बर्ष सम्मका युवालाई यो रोग देखा पर्ने गर्दछ । विश्वमा प्रतिबर्ष एक लाख व्यक्ती बराबर एक जनामा यो रोग देखिने गरेको तथ्याङक छ । २३ वर्षको अवधिमा क्यान्सर अस्पतालमा २ सय ४० जनाको उपचार गरिएको उनले जानकारी दिए । त्यसमध्ये ४० जनामा क्यान्सर समेत देखिएको थियो ।

नयाँ प्रविधि‍मार्फत् शल्यक्रिया गर्न डा.ठाकुरको नेतृत्वमा एनेस्थेसियाको टिम खटिएको थियो । यसका लागि डा.ठाकुरले एनेस्थेसियाको टिमसंगै आफ्नो टिमलाई एक दिनको अभिमुखिकरण समेत गराएका थिए । यो सफल भएपछि उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासन समेत उत्साहित देखिएको छ ।  

अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. रेश्मी थापाले यो शल्यक्रियामा नन इन्कुवेटर प्रविधि प्रयोग गरिएको बताइन् । उनले भनिन् ‘विगतमा यस्तो शल्यक्रिया गर्दा श्वासप्रश्वास नलीमा पाईप राखेर बेहोस् बनाउने गरिन्थ्यो । पाईप मार्फत् मसल रिल्याक्सिङ औषधिको प्रयोग गरिन्थ्यो, जसले शरीरका सबै अंगलाई प्यारालाईज गर्दथ्यो ।’ ‘मायस्थेनिया ग्राभिस’का बिरामीलाई यसरी बेहोस् बनाउँदा जोखिम झन बढी हुने डा. थापाको भनाई छ । उनले भनिन्, ‘मसल रिल्याक्सिङको प्रयोग गर्दा शल्यक्रियापछि पनि लामो समयसम्म अंगहरु प्यारालाईज हुने, बिरामीले राम्रोसँग श्वास फेर्न नसक्ने, लामो समय भ्यान्टिलेटरमा राख्नु पर्ने हुन्थ्यो ।’ आधारभूत (बेसिक) इनेस्थेसिक औषधिको प्रयोग मात्रै गरेर बिरामीलाई बेहोस् बनाईएको उनको भनाई छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले चिनियाँ सरकारको सहयोगमा प्राप्त उपकरणको प्रयोग गरी यो शल्यक्रिया गरिएको बताए। यस्ता उपकरण सर्वसुलभ रुपमा नपाईने भन्दै उनले चीनमा पाईने उपकरण ल्याउन आफूले पहल गरेको बताए । 

अस्पतालले अब यो प्रविधिबाट निरन्तर रुपमा शल्यक्रिया गर्ने अस्पतालका अध्यक्ष डा. विजय न्यौपानेले जानकारी दिए । ‘मायस्थेनिया ग्राभिस’को शल्यक्रिया नेपालमा नै निकै कम हुने शल्यक्रियामा पर्ने बताउँदै अन्य विभागमा पनि यो विधि अवलम्बन गरिने उनले बताए ।  

प्रकाशित: ११ जेष्ठ २०८२ १९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App