१) मुक्तक
फसाउने अनि फस्ने आफन्त नै हुन
मिठो दिई घाँटी कस्ने आफन्त नै हुन
अझै गहिरिएर बुझ्नुपर्छ धेरै कुराहरू
सर्पले भन्दा बढी डस्ने आफन्त नै हुन!
२) मुक्तक
एउटा अनुहार छ सदा पीडा दिइरहन्छ
कसरी भन्नू हेर्नेले खुब आँसु पिइरहन्छ
थाह छ मर्नुभन्दा बौलाउनु ठिक छ भनी
त्यसैले जेजे पर्छ यहीँ मनले लिइरहन्छ!
३) मुक्तक
पैसा र रूपको घमण्ड देखाउनेसँग औकात मिल्दैन
स्वार्थी छ दुनियाँ विचार गर्नु अब कहिल्यै साथ मिल्दैन
अरू कुरा छाडी दिनुस् अराजक मानसिकताले गर्दा
गरिब मान्छे मर्याे देखि भने जलाउने घाट मिल्दैन!
४) मुक्तक
बैगुनी केटो राजनीतिक काममा धेरै नै चापाचाप छ
खाँदिन भन्दा पनि डलरमा बिक्छन् कतै करकाप छ
फोहोरी खेलका फोहोरी किरा गँगटाको जस्तै व्यवहारले
उठेदेखि सुत्नेबेलासम्म आफ्नै ...बालाई सराप छ!
५) मुक्तक
मलाई गिराउने आफ्नैहरू हुन्
मलाई पिराउने आफ्नैहरू हुन्
थाह छैन आँसुको मुल्य कति हो
मलाई तिराउने आफ्नैहरू हुन्!
६) मुक्तक
जून बिनाको रात पनि किन सफेद लाग्छ
सताउनेको भीडभाड देखेर उदेक लाग्छ
बाँचुन्जेल जेजे गरिन्छ नाटक रहेछ सबै
रूप रङमा घमण्ड मान्छेको अनेक लाग्छ।
७) मुक्तक
प्रलोभनमा परे कोरीका पाउ पनि ढोगिन सक्छ
लामो यात्रा गन्तव्यमा नपुग्दै बीचमा रोकिन सक्छ
आधा गाग्री पानी बोक्दा छचल्किएर भिजाउँछ है
जवानी भनेको उम्लिएको दूध जस्तै पोखिन सक्छ!
८) मुक्तक
भन्दा लाग्दैन, दु:ख पाउँछन् के मतलव भो र
लाग्दा तिर्खा, खोला धाउँछन् के मतलव भो र
सम्झीसम्झी नरुनु है छाडी जाने निर्मोहीलाई
काला गए गोरा आउँछन् के मतलव भो र!
९) मुक्तक
आफ्नो खास चिनारी नामको पनि हुन्छ
अनि अर्को कला र कामको पनि हुन्छ
नबुझे र मात्रै होला हामीले यस धर्तीमा
भोलि भेट्ने वाचा त घामको पनि हुन्छ।
१०) मुक्तक
फक्रनै नपाईकन कोपिलाले झर्नुपर्याे
नखाएको विष पो लाग्यो पीर पर्नुपर्याे
ताकीताकी गोली हाने पापी दुष्टहरूले
अबोध बालबालिकाले त्यसै मर्नुपर्याे!
प्रकाशित: १० माघ २०८२ १३:५९ शनिबार





