२० पुस २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

गाउँमै मोतियाबिन्दुको निःशुल्क उपचार : ९५ जनाको शल्यक्रिया, खुसीयालीमा नाचगान

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि मोतियाबिन्दुका कारण आँखाले राम्रोसँग देख्न सकिरहेकी थिइनन्। सहर पुगेर शल्यक्रिया गर्ने खर्च र व्यवस्थापन गर्न नसकेको अवस्थामा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरले उनलाई घरमै उपचारको अवसर दियो।

‘आँखाले मधुरो देख्ने भएकी थिएँ, सहरमा पुगेर उपचार गराउन पाएको थिइनँ, बुढेसकालमा फेरि आँखा खुल्छन् जस्तो लागेकै थिएन, गाउँमै आएको शिविरमा उपचार गरेपछि अहिले राम्रोसँग देख्न सक्ने भएकी छु,’ नेपालीले भनिन्।

शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेकी रघुगङ्गा–३ मौवाफाँटकी धनीमाया बुद्धिजाले गाउँपालिकाले घरमै शिविर राखेर निःशुल्क उपचारको सुविधा दिएको बताइन्। रघुगङ्गा गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा तीन दिनसम्म चलेको निःशुल्क शल्यक्रिया शिविरमा ९५ जनाको आँखाको शल्यक्रिया भएको छ।

शनिबार सम्पन्न शिविरमा १६० जनाले आँखा परीक्षण सेवा लिए। वडास्तर र गाउँपालिकामा आयोजित शिविरबाट १,०३९ जनाले आँखा परीक्षण गरेको गाउँपालिकाले जनाएको छ। शिविरमा उपचार लिएकाहरूले गाउँमै सहज र सुलभ तरिकाले उपचार पाएकोमा नाचगान गरेर खुसी मनाए। वृद्धवृद्धाले गुम्दै गएको दृष्टि चिकित्सकको उपचारपछि फर्किएर उज्यालो देख्न पाएकोमा नाचगानसहित खुसीयाली मनाए।

ग्रामीण र दुर्गम गाउँ भएको यो गाउँपालिकामा तिलगङ्गा आँखा प्रतिष्ठानका स्वास्थ्यकर्मीले वडास्तरमा गरेको आँखा जाँचमा धेरैमा मोतियाबिन्दु भेटिएपछि शल्यक्रियासहितको निःशुल्क उपचार शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए।

‘दुई महिनाअघि वडा नं २ भगवतीमा गरेको शिविरमा ४८ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो, त्यसपछि सबै वडामा आँखा जाँच शिविर राख्यौँ, वडास्तरको शिविरबाट १४६ जनामा मोतियाबिन्दु पहिचान भयो, ठूलो सङ्ख्यामा मोतियाबिन्दुका बिरामी भेटिएपछि विशेषज्ञ टोलीलाई गाउँपालिकामै ल्याएर उपचार सेवा दिएका हौँ,’ भण्डारीले भने।

गाउँमै विशेषज्ञसहितको आँखा उपचार शिविर सञ्चालन भएपछि ठूला सहरमा पुगेर शल्यक्रिया गर्नुपर्ने बाध्यता र झन्झट हटेको छ भने समय र खर्च पनि बचेको छ। बिरामीको आँखा परीक्षण, मोतियाबिन्दुको निःशुल्क शल्यक्रियासहित चश्मा वितरण गरिएको र एक सातापछि निःशुल्क फलोअप सेवा दिने तयारी भएको तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र अधिकृत मनकृष्ण डङ्गोलले बताए।

शिविरमा दृष्टिसँगै मधुमेह, उच्च रक्तचाप, रगतलगायतको परीक्षण पनि गरिएको थियो। तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा. इन्दिरा पौडेल नेतृत्वको टोली र रघुगङ्गा गाउँपालिकाका स्वास्थ्यकर्मीले उपचार, परामर्श र औषधि वितरण गरे। रासस

प्रकाशित: ११ जेष्ठ २०८२ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App