पाँच महिनादेखि सुरु भएको वीर अस्पतालको वर्नवार्डमा अझै प्लास्टिक सर्जन पूर्ति हुन सकेको छैन। प्लास्टिक सर्जनको अभावमा पालो बाँडेर काम गर्नुपरेको अस्पतालका प्लास्टिक सर्जन डा. पियुष दाहालले बताए।
वर्नवार्ड सञ्चालन भएदेखि नै राष्ट्रिय ट्रमा सेन्टरका प्लास्टिक सर्जनले पालो बाँडेर काम गरिरहेको उनले जानकारी दिए। उनका अनुसार लोकसेवाले खुला परीक्षा प्रक्रियाबाट छनोटमा परेका एकजना प्लास्टिक सर्जन केही समयमै आउने स्थिति छ, तर त्यतिले पुग्दैन। यो वार्ड सञ्चालनका लागि तीनजना प्लास्टिक सर्जन आवश्यक पर्छ।
थप दुईजना पनि लोकसेवा प्रक्रियाबाटै पदपूर्ति हुनुपर्छ, तर यो प्रक्रियाले कहिले पूर्ति हुने निश्चित हुँदैन। एकजना पनि प्लास्टिक सर्जनको दरबन्दी नभएपछि आलोपालो गर्दा दुवैतिर राम्रो काम हुन नसकेको उनले बताए। ‘न ट्रमामा राम्रो काम हुन्छ न त वीरतिर। यसका लागि तोकिएका चिकित्सक नै हुनुपर्छ’, उनले भने।
आलोपालो गरेर वनवार्डमा खट्दा चिकित्सकहरू बिदामा हुने, यता र उताको समय जुध्ने हुनाले बिरामीको उपचारमा कठिनाइ आइपर्ने गरेको दाहालले जानकारी दिए।
बजारमा कुल ४५ जना वर्न प्लास्टिक सर्जन रहेकोमा १५ जना हालै उत्तीर्ण भएका र यकिन रोजगारीमा नभएको देखिएको छ। तीनैमध्येबाट लोकसेवामार्फत वीरमा ल्याउने सम्भावना छ। बाँकी सर्जन भने कोही सरकारी र कोही निजीमा काम गरिरहेका छन्।
गत पुसदेखि सञ्चालनमा आएको यो वार्डमा हाल सामान्य तथा जटिल अवस्थाका रेफरल बिरामी भर्ना भई उपचाररत छन्। वीर अस्पतालमा १५ शड्ढयाको वनवार्ड सञ्चालनमा छ।
प्रकाशित: १७ वैशाख २०८२ ०९:४१ बुधबार





