युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएआइडी) ले सहयोग दिन छाडेपछि सूक्ष्म पोषक तत्त्व अध्ययन सर्वेक्षण रोकिएको छ। युएसएआइडीको सहयोगमा गर्न लागिएको सर्वेक्षण रोक्नुपर्ने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पोषण शाखाले जनाएको छ। युएसएआइडीले केही दिनअघि पोषण शाखालाई पत्र पठाएर सहयोग रोकिएको जानकारी गराएको थियो।
‘इमेल नै पठाएर सहयोग रोकेको जानकारी गराएपछि हाम्रो ठुलो कार्यक्रम रोकिएको हो,’ पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले भने। अध्ययन सर्वेक्षणले नेपालीको शरीरमा सूक्ष्म पोषक तत्त्वको स्थितिबारे जानकारी लिने उद्देश्य राखेको थियो। सर्वेक्षणको निष्कर्षका आधारमा आवश्यक नीति तथा कार्यक्रम र जनचेतनामूलक कार्यक्रम तय गरिन्छ।
सरकारले यही वर्षभित्र हाल चासोका रूपमा रहेको नेपालले उत्पादन गरेको नुनमा आयोडिनको मात्रा, यसको प्रयोग र निम्त्याएका असरबारे तथ्य प्राप्तिका लागि राष्ट्रिय तहको अध्ययन सर्वेक्षणका लागि विभिन्न चरण पूरा गरेको थियो। ‘अध्ययन सर्वेक्षणका लागि विभिन्न चरण हुँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट अनुमति लिने प्रक्रियासमेत अन्तिम चरणमा थियो। बजेट नै रोकिएपछि अध्ययन–सर्वेक्षण सम्भव छैन,’ उनले भने।
सानो बजेटका भरमा यो अध्ययन सर्वेक्षण सम्भव नभएकाले अहिलेका लागि कुनै विकल्पसमेत नभएको उनले बताए। यो अध्ययन सर्वेक्षणका लागि दुई मिलियन अमेरिकी डलर अर्थात् २७ करोड रूपैयाँ आवश्यक पर्छ।
नेपालले सन् २०१६ मा युएसआइडीकै सहयोगमा सूक्ष्म पोषक तत्त्व अध्ययन सर्वेक्षण गरेको थियो। नेपालमा प्रत्येक १० वर्षमा प्रकाशित हुने नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण पनि युएसआइडीकै सहयोगमा हुँदै आएको थियो। पोषण सर्वेक्षणसँगै यो वर्षका लागि स्तनपान कार्यक्रम पनि रोकिएको थापाले जानकारी दिए।
पछिल्लो समय नेपालको नुनमा आयोडिनको मात्रा बढी भएको र यसले स्वास्थ्यमा असर परेको विषयमा चर्चा चलिरहेका बेला यो अध्ययन आवश्यक भए पनि हालसालै अर्को विकल्प खोज्न पनि कठिन भइरहेको प्रमुख थापाले बताए।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्क (निमजिन) ले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपालीमा नुनमा आयोडिनको मात्रा अत्यधिक भई थाइराइड बढेको या स्वास्थ्यमा अन्य असर परेको जनाइएको थियो। सोही रिपोर्टका आधारमा आयोडिनको मात्रा राष्ट्रिय तहमा नै समस्या बनेको भन्न नमिल्ने हुँदा राष्ट्रिय सर्वेक्षण गर्न लागिएको र त्यसपछि मात्र निक्र्योल गर्न सकिने उनले बताए। तर रकम अभावले कार्यक्रम नै अन्योलमा परेको उनको भनाइ थियो।
युएसएआइडीको सहयोगमा सन् २०१६ मा गरिएको सर्वेक्षणअनुसार नेपालीमा आयोडिनको मात्रा बढी नभई केही प्रदेशमा उल्टै कम देखिएको थियो तर ६ देखि नौ वर्ष उमेरका बालबालिकामा भने तीन सय १४ माइक्रोग्राम आयोडिन रहेको पाइएको थियो।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आयोडिनको मात्रा न्यूनतम एक सय ५० माइक्रोग्राम हुनुपर्छ भने दैनिक नुन ५ ग्राम मात्र खान मिल्छ। तर सन् २०१६ को सर्वेक्षणले नेपालीहरूले दैनिक नौ देखि १० ग्राम नुन प्रयोग गर्ने गरेको पाइएको थियो।
नुन धेरै खाएकाले नेपालीमा आयोडिनको मात्रा बढेर गएको पाइएको प्रमुख थापाले बताए। तर पाकेटको नुनमै आयोडिनको मात्र बढी भएकाले नभई नेपालीको नुन धेरै खाने बानी रहेकाले समस्या बढेको थापाको तर्क छ।
नुन बढी खानेमा पनि मापदण्डभन्दा बढी आयोडिनको मात्रा नभेटिएको उनले बताए। उनका अनुसार दैनिक नौ देखि १० ग्राम नुन खानेमा पाँच सय माइक्रोग्रामभन्दा बढी आयोडिन खपत भएको छैन। दैनिक ११ सय माइक्रोग्रामभन्दा बढी आयोडिन खपत हुनुलाई भने अत्यधिक मानिन्छ। थापाका अनुसार आयोडिन बढी होइन, नुन नै बढी प्रयोग गरेकाले समस्या देखिएको हो।
दैनिक बढी नुन खाएको पाइएपछि नुन प्रयोग घटाउने अभियान थालेको पनि उनले जानकारी दिए। ‘गत फागुनभरि सञ्चालन गरिएको नसर्ने रोगको परीक्षण अभियानमा नुन कम खानुस् भनेका छौं,’ उनले भने।
मापदण्डभन्दा बढी नुन प्रयोग गर्नाले उच्च रक्तचाप हुने, मुटुमा समस्या आउने र मिर्गौला फेल हुनेजस्ता समस्या देखिएकाले नुन कम गर्नेबित्तिकै त्यस्ता समस्या र आयोडिनले निम्त्याउने अन्य विभिन्न समस्याबाट बच्न सकिने सुझाव उनले दिए। तर जनस्वास्थ्यमा आयोडिनको मात्रा बढी भएको र बढी आयोडिनले पारेको असरबारे बृहत राष्ट्रिय सूक्ष्म पोषण सर्वेक्षण नगरी तथ्य प्राप्त गर्न नसकिने उनले बताए।
प्रकाशित: २२ चैत्र २०८१ ०९:२९ शुक्रबार