राणाशासनको अन्त्यसहित मुलुकमा स्वतन्त्रताको माग राखेर १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दहरू विरोधमा उत्रिए। त्यसप्रति असन्तुष्ट राणाहरूले उनीहरू चार जनालाई सोही वर्षको माघ १० देखि १५ गतेसम्म मृत्युदण्ड दिए।
चार युवाहरूलाई मृत्युदण्ड दिएर तत्कालीन राणाहरू विरोधको स्वर बन्द गर्ने प्रयास गरे। तर राणा शासनको अन्त्य र मुलुकमा प्रजातन्त्र स्थापनाको आवाज थुनिए। बरु राणा शासनविरुद्ध अभियान भित्रभित्रै भुसको आगो जस्तो सल्कँदै गयो। २००७ फागुन ७ गते १०४ वर्ष लामो राणा शासनको अन्त्य भयो।
मुलुकमा प्रजातन्त्र र स्वतन्त्रताको घाम झुल्कियो। स्वतन्त्रताका लागि हाँसीहाँसी मृत्युदण्ड स्वीकार गर्ने चार युवाको साहसकै जगमा नेपालमा प्रजातन्त्र, पुनःस्थापित प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा नेपाल आइपुगेको छ। जसका कारण आम नेपालीले अहिलेको स्वतन्त्रताको उपयोग गर्ने अवस्था बनेको छ।
उनै चार सहिदहरू मध्यका गंगालाल श्रेष्ठको नाममा काठमाडौंको बाँसबारीमा झन्डै तीन दशकअघि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र स्थापना भएको छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले केही उद्योग निजीकरण गर्ने निर्णय गर्यो। त्यहीक्रममा तत्कालीन बाँसबासी छालाजुत्ता कारखाना पनि बन्द हुन पुग्यो।
सरकारको उक्त निर्णयले हजारौं नेपाली खुट्टामा जुत्ताको अभावमा पैतालामा किला र काँढाले प्वाल पारेको भन्दै विपक्षी राजनीतिक दलहरूले विरोध जनाए। तर सोही स्थानमा २०५२ सालमा स्वास्थ्य मन्त्रालयअन्तर्गत सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नाममा एक स्वायत्त संस्था स्थापना भयो।
सरकारले उपलब्ध गराएको जग्गामा डा. मृगेन्द्रराज पाण्डे, डा. अरूण सायमी, डा. भगवान कोइराला, डा. अवनिभूषण उपाध्यायलगायत वरिष्ठ चिकित्सकको सामूहिक सोचका आधारमा त्यहाँ मुटुरोगको उपचार हुन थाल्यो। मुटुरोग अस्पतालका नामले बिस्तारै परिचय बनाएको उक्त अस्पतालमा २०५५ पुस १५ देखि डा. केसीको नेतृत्वमा ओपिडी र २०५७ वैशाख १० गते १० बेडको अन्तरंग सेवा सुरु भयो।
जुत्ताको अभावमा खुट्टामा परेको प्वाललाई अस्पतालले टाल्न त सकेन तर यसले हजारौ नेपालीको मुटुमा परेको प्वाल टालेर जीवन दान दिन सफल भएको छ। शुक्रराज शास्त्रीसहितका चार जनाले स्वतन्त्रताका लागि दिएको ज्यानले मुलुकमा प्रजातन्त्रको जग बसाएको थियो भने तिनै चारमध्येका एक गंगालालका नाममा स्थापना भएको अस्पतालले हजारौंको जीवन जोगाएको छ।
गंगालाल अस्पतालमा २०५८ भदौ १८ गते मुटुको पहिलो शल्यक्रिया भएको थियो। बिहान ६ बजेतिर रोल्पाका एक बिरामीको मुटुको पहिलो शल्यक्रिया सफलताका साथ सम्पन्न गरी नेपालको स्वास्थ्य क्षेत्रमा एउटा इतिहास बनाएको गंगालाल राष्ट्रिय हृदयकेन्द्रले पछिल्लो वर्षमा १९ सय ८२ जनाको मुटुको शल्यक्रिया गरिसकेको छ।
एक वर्षको अवधिमा अस्पतालले बहिरंग सेवाबाट एक लाख ९९ हजार ९७२ जनाले सेवा लिएका छन् भने १५ हजार १४३ जना, आकस्मिक कक्षमा २२ हजार ६७० जना एक लाख २४ हजार २४७ जनाले इसिजी सेवा, २१ हजार २०४ जनाले इको सेवा, ७३ हजार १३३ जनाले इकोकार्डियोग्राम, दुई हजार ५१० जनाले क्रोनरी एन्जिओप्लास्टी सेवा र पाँच हजार ९३९ जनाले एन्जिओग्राम सेवा लिएका छन्। यो अवधिमै एक हजार ३३६ जनामा पेस मेकर, तीन सय ६० जनामा एएसडी डिभाइस कोलोजर सेवा प्रदान गरेको छ।

२०५७ वैशाख १६ गतेबाट नौ शड्ढयाको इनडोर सेवा सुरु गरेको अस्पताल अहिले तीन सय शड्ढयामा सञ्चालित छ। त्यतिबेला डा. दामोदर पोखरेल वरिष्ठ मुटुरोग थोरासिस सर्जन केन्द्रको कार्यकारी निर्देशक थिए भने अस्पाल सञ्चालनमा आउँदा कार्डियोलोजीतर्फ मानबहादुर केसी, अरूण मास्के, रवि मल्ल, युवराज लिम्बू, दिवाकर शर्मा र कार्डियाक सर्जरीतर्फ रामेश कोइराला थिए। नर्सिङ अधिकृतमा नीता डंगोल र प्रशासनतर्फ बच्चु कैलाश कैनी थिए।
मुटुको चालको र मुटुको नसासम्बन्धी युनिटहरू सञ्चालनमा रहेको उक्त अस्पताललाई अहिलेको अवस्थामा आइपुग्न गोपालराज भण्डारी, डा. दिनेशचन्द्र पोखरेल, अशोश श्रेष्ठसहितको महत्त्वपूर्ण योगदन रहेको छ।
सामाजिक अभियन्तासमेत रहेका राजभण्डारीले अस्टेलियाली स्वयंसेवकहरूसँगको समन्वयमा क्याथ ल्याब, पहिलो क्याथ ल्याब भवन, अप्रेसन थिएटरका साथै सिसियु÷एमआइसियु र पाँच वटा सिंगल क्याबिन निर्माण गरेका थिए। अस्पतालमा गोपाल–कमल शल्यक्रिया तथा सघन उपचार भवन निर्माण गरेको छ।
अभाव र आवश्यकताका बिच स्थापना भएको अस्पताललाई नियमित रूपमा सञ्चालन गर्न गोपाल राजभण्डारीसहितका व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहेको कार्यकारी निर्देशक डा. मल्लले स्मरण गरे। राजभण्डारीको सक्रियता र सहयोगकै कारण अस्पतालले गति बढाउन सफल भएको उनको बुझाइ छ।
केन्द्रले दाताहरूमार्फत तीन तले भवन निर्माण गरी डेकेयर कोलोज आइसियु र केही महिनामै सञ्चालनमा छ। बिरामी कुरुवाका लागि समाजसेवी इन्दिरा मल्लको सहयोगमा एक तला थप गरी थप ८० जना आइसियुका बिरामी कुरुवाका लागि कोठा विस्तार गरेको छ। यो वर्ष नै राष्ट्रिय आविष्कार केन्द्रमार्फत ३५० वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ।
बहिरंग विभागको भिड नियन्त्रणका लागि चारवटा काउन्टर सञ्चालनमा ल्याएको छ। १५ मिनेटभित्र प्रयोगशाला नमुना संकलन गर्ने गरी व्यवस्थापन मिलाएर बिरामीको अस्पतालमा गरिने समय र पैसाको बचत गर्ने गरी व्यवस्थापन गरिएको निर्देशक डा. मल्लले बताए।
स्थापनाकालको २९ वर्षको अवधिमा अस्पतालले आम नागरिकको पहुँचमा हुने गरी मुटु सेवा प्रदान गरेको अस्पतालले जनाएको छ। १५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क मुटु उपचार सेवा, २०६६ देखि ज्येष्ठ नागरिकका लागि मुटुको भल्ब खोल्ने सेवा, बाथमुटुरोगीको निःशुल्क शल्यक्रिया, गरिब बिरामीका लागि निःशुल्क राहत सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: २६ माघ २०८१ ०८:१३ शनिबार