२१ पुस २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

हात्तीपाइले प्रभावितको नि:शुल्क बिमा गरिदिन माग

हात्तीपाइले रोगबाट प्रभावितहरूले निःशुल्क स्वास्थ्य बिमा सेवा उपलब्ध गराउन माग गरेका छन् । शुक्रबार  विराटनगरमा आयोजित कुष्ठ तथा हात्तीपाइले प्रभावितहरूका लागि स्वास्थ्य बिमा नीति सम्बाद कार्यक्रममा सहभागिहरूले यस्तो माग गरेका हुन् ।  

कार्यक्रममा हात्तीपाइले रोगबाट पीडित मोरङ सुनवर्सीका सुरेन्द्रप्रसाद साहले कुष्ठ रोगबाट प्रभावित भएकाहरूलाई जस्तै हात्ती पाइले रोगबाट प्रभावितहरूलाई पनि निःशुल्क बिमा गरिदिन सरकारसँग माग गरे  । उनले हात्तीपाइले रोगले दैनिक जीवनमा ठूलो असर पारेको बताए । ‘ हात्तीपाइले रोगका कारण खुट्टा सुनिएर हिडडुल गर्न, दैनिक काम गर्नसमेत समस्या भएको छ’ उनले भने‘ बारम्बार उपचार गराईरहनु पर्ने र आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या भइरहेकाले सरकारले निःशुल्क स्वास्थ्य बिमा गरिदिए लाभान्वीत हुने थियौं ।’ मोरङ रंगेली –२ का सत्यनारायण पोद्दारले हात्ती पाइले रोगको संक्रमणका कारण श्रीमतिलाई हिंडडुलमै समस्या भएको बताए । उनले हात्तीपाइले रोगबाट संक्रमितलाई बारम्बार स्वास्थ्यको समस्या आउने गरेकाले उपचारका लागि निःशुल्क स्वास्थ्य बिमा गरिदिन सरकारसँग माग गरे ।  

कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले हात्ती पाइले रोगबाट प्रभावितहरूलाई पनि निःशुल्क बिमाको व्यवस्था गर्न स्वास्थ्य बिमा बोर्डमा सुझाव पठाउने प्रतिबद्धता जनाए । उनले कुष्ठ रोग प्रभावितहरूको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था भए पनि जानकारीको अभावका कारण प्रभावितहरू सुविधाबाट बञ्चीत रहेको बताए  ।  

पण्डितका अनुसार कोशी प्रदेशमा ४ सय १३ जना कुष्ठरोग संक्रमित भए पनि २ सय ५८ जनाले मात्रै निःशुल्क स्वास्थ्य बिमा सेवा लिइरहेका छन् ।  

स्वास्थ्य निर्देशनलाय धनकुटाको आयोजनामा भएको कार्यक्रममा निर्देशनलायका निर्देशक ज्ञानबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिव राधिका थपलियालगायतले सूचना, संचार र समन्वयको अभावका कारण सरकारले दिएको सुविधाबाट नागरिकहरू बञ्चीत भइरहेको बताए ।

प्रकाशित: १८ माघ २०८१ २०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App