१७ माघ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कर्णालीका एक लाख बढी किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाइने

कर्णाली प्रदेशका १ लाख २० हजार ५ सय १० जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ। दश वटा जिल्लाका किशोरीहरूलाई यो खोप दिइने छ। जसमध्ये जुम्लाका ८ वटै स्थानीय तहका ८ हजार ८ सय २९ जना, मुगुका ४ हजार ३ सय ७९, डोल्पाका २ हजार ६ सय ४१, हुम्लाका ३ हजार ७ सय ३६, कालिकोटका ११ हजार ९ सय २३, रुकुम पश्चिमका १२ हजार १ सय ६, सल्यानका १४ हजार ५ सय १३, सुर्खेतका २८ हजार ३ सय ४०, जाजरकोटका १५ हजार ९ सय ५२ र दैलेखका १८ हजार ९१ जना किशोरी समेत गरी कुल १ लाख २० हजार ५ सय १० जना किशोरी छन्।

नियमित खोपको लक्षित समूहअन्तर्गत कर्णाली प्रदेशभरि २१ हजार ६ सय ५७ जना छन्। अभियानको लक्षित समूह कक्षा ७-१० सम्मका किशोरीहरू ७९ हजार १ सय ३४ जना र विद्यालय नजाने ११-१४ वर्षका किशोरी १९ हजार ७ सय १९ जना गरी कुल ९८ हजार ८ सय ५३ जना किशोरी छन्। यही माघ २७ देखि फाल्गुन २ गतेसम्म एच.पि.भि खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। पहिलो चरणमा चन्दननाथ नगरपालिका, पातारासी, गुठीचौर, तातोपानी र तिला गाउँपालिकामा खोप लगाइनेछ। दोस्रो चरणमा फाल्गुन १ र २ गते हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा खोप सञ्चालन गरिने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एच.पि.भि खोप लगाइने उनको भनाइ छ। 

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जुम्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने एच.पि.भि विरुद्धको खोप दिइनेछ। भाइरस विरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क संकलन भइसकेको छ। देशव्यापी खोप कार्यक्रम अन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ। विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १ हजार ५ सय ८६ जना र विद्यालय भित्रका ७ हजार २ सय ४३ गरी कुल ८ हजार ८ सय २९ जना किशोरीलाई खोप लगाउने तयारी गरिएको छ। जुम्लाको चन्दननाथ नगरपालिकाका १ हजार ८ सय ७९ जना, गुठीचौर गाउँपालिकामा ५ सय २०, हिमामा १ हजार १३ र कनकासुन्दरीमा ९ सय ६७ जनालाई खोप लगाइनेछ। त्यस्तै, पातारासी गाउँपालिकामा १ हजार एक सय ५८, सिंजामा ९ सय ७, तातोपानीमा १ हजार १ सय ५३ र तिलामा १ हजार २ सय ३२ जना किशोरीलाई खोप लगाइनेछ। विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ। 

नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एच.पि.भिको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन्। हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ।

प्रकाशित: १६ माघ २०८१ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App