त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कुनै समय बिरामीले भिडियो एक्सरे गर्नका लागि कम्तीमा पाँचदेखि एक साता कुर्नुपर्थ्याे। कतिको ढिला उपचारले रोग छिप्पिन्थ्यो। अहिले यो अस्पताल पुग्ने बिरामीले कि पुगेकै दिन नभए भोलिपल्टै भिडियो एक्सरे गर्न पाएका छन्। अस्पतालले डेढ वर्षअघि भएको भन्दा दशवटा बढी अल्ट्रासाउन्ड थपेर सेवा सुरु गरेपछि बिरामीले छिटो सेवा पाउन थालेका हुन्।
मंगलबार टिचिङ अस्पतालमा भेटिएकी बुढानिलकण्ठकी लक्ष्मी आचार्यले स्वास्थ्य परीक्षण गरेको भोलिपल्टै पालो पाएको बताइन्। उनी भिडियो एक्सरे गर्ने लाइनमा पर्खिरहेकी थिइन्। उनले भनिन्, ‘जाँचेको भोलिपल्टै पालो पाएँ,’ उनले भनिन्।
अस्पतालमा छिटो पालो पाएको बताउनै अरू बिरामी पनि भेटिए। उनीहरूले हिजो र अस्ति स्वास्थ्य परीक्षण गरेपछि आज भिडियो एक्सरेको पालो पाएको बताए।
अस्पतालले बहिरंग विभागका विशिष्ट सेवाका भिडियो एक्सरेसहित १५ वटा सञ्चालनमा ल्याएपछि बिरामीले राहत पाएको रेडियोलोजी विभागका निमित्त प्रमुख डा. उमेश खनालले बताए। उनको अनुसार भिडियो एक्सरे सेवा थप गर्नुअघि बिरामीले पालो कुर्न नसकेकै कारण बाहिर जान्थे। ‘उपत्यकाबाहिरका बिरामीलाई होटेलमा बसेर पालो कुर्दा खर्चालु हुँदो रहेछ, त्यो कारण निजीमा जान्थे,’ डा. खनालले भने।
धेरै दिन कुर्नु परेपछि यसअघि उपचारमा आउने ७० प्रतिशत बिरामी अस्पताल बाहिर नै भिडियो एक्सरे गर्न बाध्य थिए। अस्पतालका अनुसार हाल दैनिक पाँच सयदेखि ६५० जनाको भिडियो एक्सरे हुन्छ। अस्पतालमा भएका १५ वटा भिडियो एक्सरेमध्ये दुईवटा बिगे्रेका छन्। बिगे्रका दुईवटा पनि छिट्टै मर्मत गरी चलाउने तयारीमा रहेको डा. खनालले जनाए।
अस्पतालमा भिडियो एक्सरे सेवामा छिटो परिवर्तन हुनुमा यो विभागका पूर्व विभागीय प्रमुख तथा हालका निमित्त निर्देशक डा. घनश्याम गुरुङको पहलमा सम्भव भएको थियो। डा. गुरुङ भन्छन्, ‘बिरामीको उपचारमा ढिलाइ भएको देखेर नराम्रो लाग्थ्यो, म विभागको प्रमुख भएर आएपछि पहल गरें, अस्पताल प्रशासनको सकारात्मक भूमिकाबाट सम्भव भयो,’ उनले भने। बहिरंग विभागबाहेक आकस्मिक कक्षमा दुईवटा भिडियो एक्सरे सञ्चालनमा छन्। यी दुईसहित १७ वटा भिडियो एक्सरे छन्।
वार्डमा भर्ना भएका बिरामीको हकमा वार्डमा छुट्टै दुईवटा भिडियो एक्सरे राख्ने कार्ययोजना अघि बढेको निर्देशक गुरुङले बताए। बहिरंग विभागका बिरामीले भिडियो एक्सरे गर्ने ठाउँमा वार्डका बिरामी लिएमा दुवै पक्षलाई भावनात्मक असर पर्ने भएकाले वार्डका बिरामीका लागि वार्डमै भिडियो एक्सरे थप्ने तयारी भएको उनले बताए। ‘ वार्डका बिरामी गम्भीर अवस्थाका हुन्छन्, त्यो देखेमा ओपिडीका बिरामीको मनोबल घट्छ,’ उनले भने।
गम्भीर प्रकृतिका बिरामीलाई बाहिर लगेर पालो कुराउँदा सास्ती हुने कारण पनि वार्डमै सहज रूपमा सेवा दिने तयारी गरेको उनले बताए। अस्पतालमा दैनिक औसत २५ सयदेखि ३५ सय जना बिरामी उपचारको लागि आउँछन्।
प्रकाशित: १२ माघ २०८१ ०६:४९ शनिबार