दुई वर्षअघि मुलुककै उत्कष्ट रहेको तौलिहवास्थित कपिलवस्तु अस्पताल यतिखेर अस्तव्यस्त र दयनीय अवस्थामा छ। राजनीतिक खिचातानीले महिना–महिनामै मेसुको सरुवा गरिएपछि बिरामीको सेवा दिने अस्पताल आफैं बिचरा अवस्थामा पुगेको हो। विगत चार महिनादेखि अस्पताल मेसुविहीन अवस्थामा पुगेको छ।
नवौं तहको मेसुको दरबन्दी रहेको अस्पतालमा अहिले ल्याब फाँटका छैटौं तहका कर्मचारी राकेशकुमार शाहलाई निमित्त मेसु बनाइएको छ। गत ६ महिनाअघि डा. विपिन जैसवाललाई सरुवा गरी मेसु किशोर बन्जडालाई सरुवा गरी ल्याइएको थियो। दुवै मेसुको आपसी लडाइँले अस्पतालमा राजनीति छिरेको अस्पतालका कर्मचारी बताउँछन्।
कांग्रेस र एमाले नेताले मेसु राख्ने र सरुवा गर्ने कार्यलाई प्रतिष्ठाको विषय बनाउँदा अहिले अस्पताल दयनीय अवस्थामा पुगेको कर्मचारी बताउँछन्। मेसु बन्जाडेको एक महिनामै दुईपटक थमौती र दुईपटक सरुवा भएको थियो।
मेसु बन्जडाको अन्ततः विराटनगर सरुवा भएयता अस्पताल मेसुविहीन अवस्थामा पुगेको हो। त्यही सरुवाकै बीचमा अस्पतालमा ८६ लाखको औषधी खरिदलगायतका विषयमा अनियमितता भएको विषय बाहिर आएको थियो।
अस्पतालमा राजनीति छिरेपछि स्वास्थ्य कर्मचारीले पाउने सेवा सुविधासमेत रोकिएपछि अस्पतालमा धमाधम मेडिकल अफिसर र स्टाफ नर्सले नोकरी छाडेर गएको अस्पताल प्रशासनले जनाएको छ। ११ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा अहिले पाँचजना मात्र कार्यरत छन्। छात्रवृत्ति पाएका डाक्टरसमेत अस्पतालबाट बिदा लिएर गइसकेका छन्। ६ जना नर्सले समेत जागिर छाडेका छन्।
यसैगरी आठ महिनायता स्वास्थ्यकर्मीले पाउँदै आएको सेवा रोकिएको छ। फार्मेसीमा औषधी सकिएको छ। औषधी खरिदका लागि नयाँ खरिद समितिसमेत बन्न सकेको छैन। अस्पतालमा आउने स्वास्थ्य बिमा र अन्य बिरामीसमेत औषधी नपाउँदा निराश भएर फर्कने गरेका छन्। औषधीको स्टकसमेत सकिएको छ।
अल्ट्रा साउन्ड मेसिनसमेत महिनौंदेखि बिग्रिएर थन्किएको छ। अस्पतालमा रहेको एउटा मात्र इसिजी मेसिनसमेत बिग्रिएको छ। डाक्टर अभावले आमा सुरक्षा कार्यक्रमसमेत प्रभावित भएको छ।
यशोधरा गाउँपालिकी पूर्व उपप्रमुख तथा तौलिहवावासी कन्यावती उपाध्यायले अस्पतालजस्तो संवेदनशील ठाउँ तीव्र राजनीतिको सिकार भएको बताइन्। ‘अस्पतालमा सेवा बढाउनुभन्दा राजनीनिक दल मेसुको सरुवा गर्न र रोक्नमै लागेकाले अस्पतालको यस्तो हविगत भएको हो’, उनले भनिन्।
अस्पतालको सुधारमा भने कसैले चासो नदिएको उनले गुनासो गरिन्। अस्पतालप्रति बिरामीको विश्वाससमेत घटेकाले विगतको तुलनामा बिरामीको संख्या घटेको छ। निमित्त मेसु शाहले अस्पताल राजनीतिको सिकार भएको स्वीकार गरेका छन्। उनले अस्पतालमा मेसु नहुँदा धेरै काम रोकिएको बताए।
डाक्टर र औषधी अभावले बिरामी मर्कामा परेको भन्दै उनले निमित्त मेसुको हैसियत आफूले सक्दो कासिस गरेको बताए। उनले अस्पतालमा राजनीतिक हस्तक्षेप रहेसम्म सुधार हुन गाह्रो हुने बताए।
उता अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले अस्पतालमा धेरै राजनीति घुसेकाले समस्या आएको बताए। उनले राजनीतिक दलका नेता र मन्त्रालय कसैले पनि कपिलवस्तु अस्पताल सुधारका लागि पहल नगरेको गुनासो गरे। उनले सबैको प्रयासले अस्पताल सुधार गर्नुपर्ने बताए। २०२९ सालमा पन्ध्र बेडबाट अस्पताल सुरु गरिएको थियो। २०७६ सालमा आइपुग्दा कपिलवस्तु अस्पताल पचास बेडको बनेको थियो।
प्रकाशित: २२ पुस २०८१ ११:१० सोमबार