सुनसरीका दुईवटा नगरपालिका र ६ वटा गाउँपालिकामा ‘उपेक्षित ट्रपिकल रोग प्रभावित र जोखिम’ मा रहेकाहरूको हितमा काम हुँदै आएको छ। सेभ द अर्थ सुनसरीले जिल्लाका दुहबी र इनरुवा नगरपालिकासहित हरिनगर, गढी, बर्जु, देवानगञ्ज, कोसी र भोक्राहा नरसिंह गाउँपालिकामा नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोगहरू कुष्ठरोग, हात्ती पाइले, जुका, डेंगी र चिकनगुनिया, रेबिज, सर्पदंश, लुत्तो, कालाजार, फित्तेजुक एवम् खस्रे रोगका बारेमा समुदायका मानिसमा सचेतना स्तर बढाइएको छ।
६७ वटा स्वास्थ्य संस्थासँगै गाउँघरका सर्वसाधारणलाई विभिन्न कार्यक्रममार्फत उपेक्षित उष्णप्रदेशीय रोगबारे ग्रामीण क्षेत्रका अधिकतर सर्वसाधारण सचेत भएको पाइएको संस्थाले भर्खरै सार्वजनिक गरेको सामाजिक परीक्षण रिपोर्टका आधारमा उल्लेख छ।
आमा र बच्चाको स्वास्थ्यसम्बन्धी सचेतनाका लागि प्रत्येक स्वास्थ्य स्वयंसेविकाले समूह निर्माण गरी मासिक रूपमा बैठक राख्ने र बैठकमा नियमित जाँदा आमा र बच्चाको स्वास्थ्य तथा पोषणसम्बन्धी छलफल हुने गरेको छ। आमा र बच्चाको स्वास्थ्यस्थितिबारे जानकारी हुँदा केही खतराको संकेत देखिएमा बेलैमा उपचार गर्न सुल्झाउने गरिन्छ।
आपत् परेका बेला जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ वटै गाउँपालिकामा सेभ द अर्थ संस्थाले काम गर्दै आए पनि सूक्ष्म ढंगले भने दुई नगरपालिका एवम् ६ वटा गाउँपालिकामा काम गर्दै आएको अध्यक्ष पुष्प भट्टराईले बताए।
स्थानीय स्वास्थ्य संस्थाबाट सञ्चालन गरिने स्वास्थ्य सेवालाई उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गरी सेवालाई थप व्यवस्थित, जनमुखी र प्रभावकारी बनाउन, स्वास्थ्य सेवा सञ्चालन र व्यवस्थापनमा जनसहभागिता परिचालन गर्न नेपालको संविधानले स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई तालिमसमेत दिइएको छ। यस्तै नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोगका बारेमा स्वास्थ्यकर्मीहरू, आमा समूह, स्वास्थ्य स्वयंसेविका र निर्वाचित जनप्रतिनिधिलाई पनि तालिम दिइएको छ।
सुनसरीका विभिन्न स्थानमा डेंगु संक्रमणको जोखिम विभिन्न समयमा बढ्ने गरेको छ। स्थानीय तहले डेंगु रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियानमा सेभ द अर्थको विश्वास परियोजनाले पनि सपोर्ट गर्दै आएको सामाजिक परीक्षण रिपोर्टमा उल्लेख छ। उपेक्षित उष्णप्रदेशीय रोगहरूबाट पीडित भएकाहरूको अवस्था बुझ्न घरघर भ्रमण गर्नुका साथै कुष्ठरोग तथा हात्तीपाइलेबाट प्रभावित बिरामीलाई थप उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरसँगै लालगढ र आनन्द वन अस्पताल पठाइएको छ।
सेभ द अर्थ संस्थाले गर्दै आएका आमा समूहको नियमित बैठक हरेक महिना बसेर आमा समूहमा आबद्ध महिलाको समग्र स्वास्थ्य अवस्थाबारे छलफल गर्ने गरिएको छ। परियोजना सुरु भएपछि गर्भवती महिलाले नियमित स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउने गरेका छन्।
साथै स्वास्थ्य चौकीका बर्थिङ सेन्टरमै बच्चा जन्माउने गरेका छन्। आमा समूहको बैठकमा गर्भावस्थामा महिलामा आउने परिवर्तन, जोखिम तथा सुत्केरी भएपछि ध्यान दिनुपर्ने विषयमा छलफल हुने गरेको छ।
यस्तै, स्वास्थ्य आमा समूहमा स्वास्थ्य स्वयंसेविकाहरूको समेत सहभागिता रहने हुँदा खोपलगायतका विषयमा समेत छलफल हुने गरेको छ। आमा समूहले बैठकमा उठाएका कतिपय सवालमा स्वास्थ्य स्वयंसेविकाले संस्थाका सिनियर स्वास्थ्यकर्मीसँग आवश्यक जानकारी लिएर गाउँमा आमा समूहका सदस्यलाई प्रस्ट पार्ने गरेको पाइएको छ।
परियोजनाका राम्रा पक्षलाई स्थानीय तहले नीति, नियम, कार्यविधिमा समावेश गर्ने गरेको पाइएको छ। साथै स्थानीय सरकारले परियोजनामा चलिरहेका उपेक्षित उष्णप्रदेशीय रोगबाहेक स्वास्थ्यका अरू क्षेत्रमा पनि काम गरेमा अझ उपलब्धिमूलक हुने ठानेका छन्।
जनप्रतिनिधि तथा सरकारी नियमनकारी निकाय स्वास्थ्य संस्थाले उपेक्षित उष्णप्रदेशीय रोगहरूलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिन थालेको पाइएको छ। यी रोगबाहेक जनप्रतिनिधि तथा सरकारी नियमनकारी निकायले संस्थाका अरू क्षेत्रमा पनि गम्भीर भएर लाग्ने गरेको पाइएको छ। स्वास्थ्य संस्थाले बेलाबेला स्वास्थ्य शिविर गर्नुका साथै विभिन्न रोगसँग सम्बन्धित राखेर सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।
सेभ द अर्थ संस्थाको यस कार्यले सरकारद्वारा उपलब्ध सबै औषधी स्वास्थ्य केन्द्रमा राख्न दबाब पुगेको पनि प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्यकर्मीलाई सुशासन र पारदर्शिताप्रति सजग गराएको पाइएको छ। स्वास्थ्य मापदण्डअनुसार बर्थिङ सेन्टरहरू सञ्चालनमा रहेको पाइएको छ। बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीहरूले अवस्थाअनुसार नजिकको स्वास्थ्य संस्थामा थप उपचारका लागि समन्वय गर्ने गरेको पाइएको छ।
स्वास्थ्य संस्थामा शौचालय स्वच्छ, सफा, अपांगतामैत्री निर्माण गरेको पाइएको छ। हरेक स्वास्थ्य संस्थामा नागरिक वडापत्र राखेको पाइएको छ। पारदर्शिताका लागि यो सकारात्मक पक्ष हो, यद्यपि केही स्वास्थ्य संस्थाका वडापत्र भने मेटिएकाले तत्काल व्यवस्थापन गर्नुपर्ने देखिएको छ।
त्यसो त अधिकतर स्वास्थ्य संस्थामा गुनासो गर्ने गुनासो पेटिकासमेत छैन। यसले गर्दा यसमा सुधार गर्नैपर्छ। कतिपय स्वास्थ्य संस्थामा सरकारले निः शुल्क प्रदान गर्ने औषधी अभाव हुने गरेको पाइएको छ। यसमा सुधार गर्नुपर्ने देखिएको छ। परियोजनाअन्तर्गत वार्षिक बजेट तय गर्दा जुन स्थानमा कार्यक्रम सञ्चालन गरिने हो, त्यहाँको स्थानीय तहसँग समन्वय गर्दा थप प्रभावकारी हुने देखिएको छ।
रिपोर्टमा हरेक स्थानीय सरकारले आफ्नो क्षेत्रका बिरामीलाई अस्पतालसम्म पु¥याउने एम्बुलेन्स सेवा प्रवाह गर्दा स्वास्थ्य सेवा थप प्रभावकारी हुने उल्लेख छ। परिवार नियोजन कार्यक्रमलाई सफल पार्नका निम्ति थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ। सचेतनामूलक कार्यक्रम गर्दा नाट्यकलामार्फत गर्दा अझ प्रभावकारी हुने देखिन्छ।
सेभ द अर्थ सुनसरीले फेयरमेड फाउन्डेसन नेपालको सहयोगमा कोसी प्रदेशको सुनसरीमा ‘उपेक्षित ट्रपिकल रोग प्रभावित र जोखिम’ मा रहेकाहरूको हितमा काम गर्दै आएको छ। उपेक्षित उष्ण प्रदेशीय रोग प्रभावित र जोखिमअन्तर्गत काम गर्दै आएका दुई नगरपालिका र ६ वटा गाउँपालिकाभित्र ६७ वटा स्वास्थ्य संस्था रहेकोमा इनरुवा नगरपालिका क्षेत्रभित्र एउटा जिल्ला अस्पताल, पाँचवटा स्वास्थ्य केन्द्र, चार आधारभूत स्वास्थ्य केन्द र दुई सहरी स्वास्थ्य एकाइ केन्द्र रहेका छन्।
यस्तै एउटा सहरी केन्द्र रहेको छ। दुहबी नगरपालिकामा एउटा नगर अस्पताल र ६÷६ वटा स्वास्थ्य चौकी एवम् आधारभूत स्वास्थ्य केन्द्र रहेका छन्। गाउँपालिकातर्फ भोक्राहा नरसिंहमा दुईवटा स्वास्थ्य चौकी र ६ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन्। हरिनगर गाउँपालिकामा एउटा अस्पताल, चारवटा स्वास्थ्य चौकी, एउटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा आधारभूत सहरी एकाइ केन्द्र रहेका छन्।
यस्तै, देवानगञ्ज गाउँपालिकामा पाँचवटा स्वास्थ्य चौकी र दुईवटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन्। बुर्ज गाउँपालिकामा चारवटा स्वास्थ्य चौकी र दुईवटा आधारभूत स्वास्थ्य केन्द्र छन्। यस्तै गढी गाउँपालिकामा पनि तीन स्वास्थ्य चौकी, दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन्। कोसी गाउँपालिकामा चार÷चारवटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र रहेका छन्।
प्रकाशित: २२ पुस २०८१ १०:५९ सोमबार