गत सातादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एमपक्स संक्रमितको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
शरीरमा घाउ लिएर आएका उनको घाउ निको हुँदै गएको अस्पतालका एमपक्स सम्पर्क चिकित्सक डा. शिवेन्द्र झाले बताए। चौवालीस वर्षीय संक्रमित गत शनिबार साउदी अरबबाट नेपाल आएका थिए। घाउसहित घर प्रवेश गरेका उनी भोलिपल्टै उपचारका लागि अस्पताल पुगेका थिए। परीक्षण गर्दा उनमा एमपक्स संक्रमण पुष्टि भएको थियो।
उनी अस्पतालका तेस्रा एमपक्स संक्रमित हुन्। दुई साताअघि साउदीबाटै नेपाल आएका साउदीकै ३६ वर्षीय युवा निको भई डिस्चार्ज भइसकेका छन्। गत असारमा ६० वर्षीय विदेशी पर्यटकमा पनि एमपक्स पुष्टि भएको थियो। भर्ना भएका संक्रमित सिन्धुली स्थायी घर भई काठमाडौं स्वयम्भुमा डेरा गरी बस्छन् भने लामो समयदेखि साउदीमा रोजगारीको सिलसिलामा थिए।
चिकित्सकका अनुसार उनको घाउ बढेको छैन। आइसोलेसनमा राखेर उनको उपचार भइरहेको छ। उनलाई थप १० दिनपछि मात्र डिस्चार्ज गर्न मिल्ने डा. झाले बताए। एमपक्स ‘अर्थोपो’ नामक भाइरसबाट मानिसमा यो रोग सर्छ। अर्थोपो भाइरस यौैन सम्बन्ध, नजिकै बस्दा थुकको छिटाबाट एक मानिसबाट अर्को मानिसमा सर्छ। यो संक्रमण भएको एकदेखि तीन साताभित्र लक्षण देखिन्छ।
यो संंक्रमण भएमा ज्वरो आउने, यौनअंग वा मलद्वारको वरिपरि बिमिरा आउने, आँखा राता हुने, छालामा बिमिरा देखिने, मुखमा घाउ हुने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएका बिरामीको घाउमा मलम लगाउने, खाने औषधी दिने र अरूलाई नसरोस् भन्नका लागि २१ दिनसम्म आइसोलेसनमा राख्न सकिन्छ।
दुवै संक्रमित विदेशमा उपचार नहुने भएपछि नेपाल आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए। दुवै संक्रमित वैदेशिक रोजगारबाट आएकाले संक्रमणको जोखिम वैदेशिक रोजगारीमा जानेहरूबाट बढी हुने टेकु अस्पतालका एमपक्स सम्पर्क चिकित्सक डा. झाले बताए। यस्तो अवस्थामा सुरुकै लक्षणमा आउनेहरू सिधै घर जान सक्ने या अरूसँग घुलमिल हुन सक्ने सम्भावना बढेको झाले बताए।
यो जोखिम घटाउन सरकारले देशभर १४ वटा अस्पताललाई एमपक्स उपचार अस्पताल तोकिसकेकाले कुनै लक्षण देखिएका व्यक्तिले रोग लुकाउन नहुने उनले सुझाए। ‘कुनै पनि लक्षण देखिएमा लुकाएर बस्नुभएन, परीक्षण गर्न गइहाल्नुपर्यो’, उनले भने।
संक्रमणको लक्षण भएर पनि घर या समुदायमा घुलमिल भएमा अरूमा सर्ने जोखिम हुने भएकाले संक्रमितकै सकारात्मक भूमिकाले मात्र नियन्त्रण सम्भव हुने डा. झा बताउँछन्। एमपक्स भइरहने अफ्रिका, कंगोलगायतका देशबाट यसको संक्रमणको जोखिम बढी हुने र अन्य देशबाट कम हुने महाशाखाका निर्देशक डा. घिमिरेले बताए। ती देशमा जाने नेपाली सेनामा एमपक्सको जोखिम रहेको र त्यहाँ आएको संक्रमणका बारेमा जानकारी नभएको डा. घिमिरेले बताए।
प्रकाशित: २२ पुस २०८१ १०:३८ सोमबार