हामीकहाँ पचास/साठी वर्ष कट्नेबित्तिकै आफन्त तथा छोराछोरीले प्रायः यस्तो भनेको सुनिन्छ– बुढ्यौली लाग्यो अब आराम गर्नुहोस्, अब बसीबसी खाने दिन आए, कमाउने कमाइसक्नुभयो, गर्ने गरिसक्नुभयो। अब आराम गरेर खानुहोस्। तर यस्ता भनाइ र गराइ स्वस्थ बुढ्यौलीका लागि हानिकारक भएको विज्ञले बताएका छन्। शुक्रबार ‘स्वस्थ बुढ्यौली’मा सहभागी विज्ञले यस्तो गलत अभ्यास गर्न नहुने सुझाएका छन्।
बुढ्यौलीमा शारीरिक काम, गतिशील क्रियाकलाप, सांस्कृतिक तथा सामाजिक सेवा, उत्पादकत्वसम्बन्धी काममा सहभागी हुन दिएमा बुढ्यौली समय स्वस्थ र सम्मानित हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नर्सिङ महाशाखाकी प्रमुख हीरादेवी निरौलाले बताइन्।
उनले भनिन्, ‘जे जे काम सक्छन्, त्यो गर्न दिनुपर्छ तर निष्क्रिय राख्न हुँदैन। कति सिपमूलक काम गर्न चाहन्छन्, कति सामाजिक समितिमा रहेर काम गर्न चाहन्छन्, यस्तो भूमिकाले एकातिर योगदान हुन्छ, अर्कोतिर बुढ्यौली जीवन सम्मानित हुन्छ।’
नेपालमा अहिले कुल जनंख्याको १० प्रतिशत ६० वर्षमाथिको जनसंख्या वा बुढ्यौलीमा प्रवेश गरेका मानिस छन्। यो जनसंख्याको स्वस्थ बुढ्यौली ज्येष्ठ नागरिकको अधिकार र सम्मानको रूपमा विकसित हुनुपर्ने सरोकारवालाको सुझाव छ।
नेपाली समाजमा बुढ्यौलीका लागि चौतारा, पाटी, भजनस्थल र पार्क बनेका भए पनि सहरीकरणसँगै सीमित हुनुले बुढ्यौली अवस्थाका मानिस घरभित्र सीमित हुनुपरेको निरौला बताउँछिन्। उनका अनुसार वृद्ध उमेरमा भर्याङ चढ्न नसक्ने भएकाले घरको भुइँतलामा सहज संरचनासहित बुढ्यौलीलाई राख्ने व्यवस्था हुनुपर्छ।
स्वस्थ्य बुढ्यौलीका लागि ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना सडक, लिफ्ट, र्याम्प, ह्यान्डल भएका शौचालय, अस्पतालका कक्ष हुनु आवश्यक छ। वृद्ध उमेरमा नसर्ने रोगको नियमित स्वास्थ्य परीक्षण र औषधीको व्यवस्था घरमै भए जोखिम नियन्त्रणमा राखी स्वस्थ बुढ्यौली र लामो आयु राख्न सकिने उनी बताउँछिन्।
उनीहरूको स्वस्थ बुढ्यौली र क्रमशः बुढ्यौलीमा प्रवेश गर्ने जनसंख्यालाई लक्षित गरी समाज, परिवार र राज्यको भूमिका उति नै आवश्यक रहेको विज्ञहरू सुझाउँछन्। नेपालमा नीतिगत रूपमा ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न नीति तथा कार्यक्रम बनिसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा बताउँछन्। उनका अनुसार संघीय र प्रदेश गरी ६२ वटा अस्पतालमा जिरियार्टिक वार्ड सेवा सञ्चालनमा आइसकेका छन्।
जनस्वास्थ्य नीति २०७५, स्वास्थ्य बिमा नियमावली, राष्ट्रिय वित्तीय नीति २०७६, ज्येष्ठ नागरिक केयर होम निर्देशिका, जेरियाट्रिक तथा लैंगिक हिंसा व्यवस्थापन शाखाको निर्माणजस्ता नीति तथा कार्यक्रम बनिसकेका छन्। अस्पतालहरूठ नागरिकका लागि छुट्टै बहिरंग सेवा र सेवास्थलमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने अभ्यास सुरु भएको प्रमुख देवकोटा बताउँछन्। तर पहिल्यै निर्माण भएका अस्पतालका संरचनामा ज्येष्ठ नागरिकमैत्री संरचना नहुनु, ज्येष्ठ नागरिकको संख्याअनुसार पर्याप्त बजेट नहुनुले सबैलाई सेवा दिन सहज नभएको प्रमुख निरौला बताउँछिन्।
साथै सबै अस्पतालमा जेरियाट्रिक वार्डको व्यवस्था, जेरियाट्रिक वार्डमा आवश्यक तालिम प्राप्त जनशक्तिको व्यवस्थापन, सबै अस्पतालमा वार्डको व्यवस्थापन तथा सहज शड्ढयाको व्यवस्था हुनुपर्ने विज्ञहरूको सुझाव छ। बुढ्यौलीको स्वास्थ्य तथा अन्य पक्षको व्यवस्थापनका लागि मानसिक स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, नसर्ने रोगको व्यवस्था, सहायक सामग्री, सरोकारवाला मन्त्रालयको व्यवस्थापन, स्थानीय तहको भूमिकाबाट मात्र स्वस्थ सहकार्य आवश्यक रहेको उनीहरूको सुझाव छ।
प्रकाशित: १३ पुस २०८१ ०६:१५ शनिबार