४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

राष्ट्रसंघको केन्द्रीय कार्यालयबाटै ‘प्रथम विश्व ध्यान दिवस’ मनाइने

आउँदो शनिवार(२१ डिसेम्बर)का दिन विश्वभर प्रथम ध्यान दिवस मनाइँदै छ । यही डिसेम्बर ७ मा संयुक्त राष्ट्र सङ्घले २१ डिसेम्बरमा विश्व ध्यान दिवस मनाउने निर्णय गरेको थियो ।  

पहिलो पटक हुन लागेको ध्यान दिवसका अवसरमा २० डिसेम्बर(आउँदो शुक्रवार) भारतीय अध्यात्म  गुरु रवि शंकरले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा ध्यान दिवसको नेतृत्व गर्दै छन्। गुरु रवि शंकरले तनाव व्यवस्थापन र द्वन्द्व समाधानका लागि ध्यानको महत्वबारे त्यहाँ आफ्नो प्रस्तुत गर्नेछन् । 

उक्त अवसरमा त्यहाँ अन्तर्राष्ट्रिय प्रबुद्ध व्यक्तिहरू, संयुक्त राष्ट्रसंघका नेतृत्वकर्ता अधिकारी, कूटनीतिक अधिकारी एवं विश्वभरका प्रतिनिधिहरू सहभागी हुनेछन् । यता २१ डिसेम्बरकै दिन काठमाडौंस्थित आर्ट अफ लिभिङ शाखाले गुरु रवि शंकरसँगै ध्यान दिवस मनाउने कार्यक्रम राखेको छ । त्यो दिन एकैसाथ विश्वभरि छरिएर रहेका आर्ट अफ लिभिङका अनुयायी तथा सर्वसाधारणलाई ध्यान शिविरमा सहभागी हुने आर्ट अफ लिभिङका अध्यक्ष सिद्धेश्वरकुमार सिंहले बताए । विश्वभरबाट भर्चुअल माध्यमबाट लाइभ हुने शिविरमा सबैलाई जोडिन अध्यक्ष सिंहले आग्रह समेत गरे । 

पूर्वीय सभ्यतामा शान्ति र आरोग्यका लागि अभ्यास हुँदै आएको ध्यान विधिलाई संयुक्त राष्ट्र सङ्घले पहिचान गरेर विश्व ध्यान दिवसको सुरुवात गरेपछि यस क्षेत्रमा खुसीयाली छाएको छ । 

संयुक्त राष्ट्र सङ्घले ध्यान दिवस सुरु गर्नु गौरव र खुसीको विषय भएको आर्ट अफ लिभिङका महासचिव प्रभुराज वैद्यले बताए । ‘पूर्वीय सभ्यतामा युगौँदेखि ध्यानको अभ्यास थियो, अब विश्वभरि फैलने कुराले हर्षित छौँ,’ वैद्यले भने । यो ऐतिहासिक दिनलाई नेपालमा पनि सबैले मनाउन उनले आग्रह गरे । 

विश्व स्वास्थ्य सङ्गठनले केही वर्षमै मानसिक स्वास्थ्यले प्रकोपको रूप लिने प्रक्षेपण गरेका बेला मानसिक स्वास्थ्यलाई समेत फाइदा पुर्‍याउने ध्यानलाई वैश्विक मान्यता पाउनु जनस्वास्थ्य दृष्टिकोणबाट पनि उपलब्धिपूर्ण रहेको जानकारहरू बताउँछन् । 

ध्यान मस्तिष्कलाई आराम दिएर तनावमुक्त गर्ने र मस्तिष्कलाई आराम दिने भएकाले यसले स्वस्थ मानसिक अवस्थाका लागि उचित प्रक्रिया र विधि मानिन्छ । प्राचीन कालमा ध्यान आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गर्थे ।  पछिल्लो समय विभिन्न योग गुरुहरूले यसलाई सर्वसाधारणसम्मै पुर्‍याएका छन् । 

संयुक्त राष्ट्र सङ्घले नै विश्व ध्यान दिवस मनाउने निर्णय गरेर आत्मसात् गरेसँगै यसको प्रयोग विश्वव्यापी बन्ने भएको छ । 

प्रकाशित: ३ पुस २०८१ १८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App