अल्ट्रा प्रोसेस्ड फूड (युपीएफ) अर्थात् अत्यधिक तारिएको खान्कीले ठूलो आन्द्राको क्यान्सर गराउने अध्ययनको निष्कर्ष छ।
केही वर्षयता अत्यधिक तारिएको (युपीएफ) माथि निकै धेरै शोध भएका छन्। त्यसमाथि प्रतिबन्ध लगाउन विकसित मुलुकहरूमा केही वर्षयता अभियान नै चलिरहेको छ। तर वार्षिक अर्बाैं डलरको व्यापार शृंखला चलाइरहेका केएफसी, पिज्जा हट लगायतका कम्पनीहरूका लागि यो तथ्य भने टाउको दुखाइको कारण बनिरहेको छ।
जर्नल गटमा हालै प्रकाशित अध्ययन निष्कर्षले युपीएफले क्यान्सरबाहेक अन्य स्वास्थ्य समस्या पनि थप्ने अध्ययनका सहलेखक तथा युनिभर्सिटी अफ साउथ फ्लोरिडाका प्राध्यापक तिमोथी यिटम्यानले बताएका छन्। यस्ता खान्कीले शरीरको प्रतिरोधात्मक शक्ति क्षीण गराउने दाबी गर्दै क्यान्सर फैलाउन मद्दत गर्ने यिटम्यानको दाबी छ।
अध्येताहरूले टाम्पा जेनरल हस्पिटलमा पेटको क्यान्सरबाट मृत्यु भएका १६२ जनाको लिपिड (एक किसिमका तन्तु)हरू भेला पारी अध्ययन गरेका थिए। यस्ता तन्तुहरूमा उच्च रूपमा तारिएका खान्कीहरूले उत्पन्न गराउने खराबीका लक्षणहरू देखिएका थिए। यसैगरी युपीएफको अत्यधिक प्रयोग नगर्नेहरूको लिपिड अध्ययन गर्दा उनीहरूमा क्यान्सरका कारकहरूको अवस्था कम देखिएको थियो।
‘मान्छेको पाचन प्रणाली निकै सशक्त हुन्छ तर त्यसको दुरूपयोग भइरहेको छ,’ यिटम्यान भन्छन्, ‘युपीएफले मान्छेलाई निकै हानि पुर्याइरहेको छ तर यसबारे कसैले पनि ध्यान दिइरहेका छैनन्। खासगरी पेटका समस्यामा यस्ता युपीएफले मानिसलाई गम्भीर स्वास्थ्यको समस्याहरू थपिदिएको छ।’
ठूलो आन्द्राको समस्या संसारभर तेस्रो साझा स्वास्थ्य समस्या रहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ। सन् २०२२ मा गरिएको एउटा अध्ययनमा १८५ देशहरूमा करिब दुई करोड हाराहारी पेटको क्यान्सरका रोगीहरू फेला पारिएकामा तीमध्ये नौ लाखको मृत्यु कोलोरेक्टल क्यान्सरले भएको थियो। यो क्यान्सर ठूलो आन्द्राको क्यान्सर हो।
उमेर पुगेकाहरूमा यस्तो समस्या देखिनु स्वाभाविक मानिए पनि ५५ वर्षभन्दा कमका व्यक्तिमा समेत क्यान्सर देखिन थालेको छ। सन् १९९० को मध्यदेखि हरेक वर्ष दुई प्रतिशतका दरले यस्ता रोगी बढिरहेको संगठनको तथ्यांकले देखाइरहेको छ। खासगरी उच्च दरमा धेरै उमालिएको तेल, बारम्बार उमालिएको तेलमा डिप फ्राई गरिएका खान्की र तिनमा उपयोग भएको नूनको उच्च मात्राले पेटलाई हानि पुर्याउने अध्ययन निष्कर्ष छ।
प्रकाशित: २७ मंसिर २०८१ ०५:२५ बिहीबार