स्तन क्यान्सर रोग परीक्षणका लागि ‘म्यामग्राफी’ मेसिन आयात गर्दा लागतभन्दा बढी मूल्य राखी खरिद गर्ने कार्यमा संलग्न रहेको आरोप लागेपछि एक कर्मचारीको सरुवा भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको खरिद प्रमुख डा. सुरेन्द्र चौरासियाको सरुवा भएको हो।
स्वास्थ्य मन्त्रालयले मंगलबार सामान खरिदमा विवाद आएको भन्दै उनलाई सरुवा गरेको हो। मन्त्रालयका अनुसार उनी लामो समयदेखि स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखामा खरिद प्रमुख थिए। स्तन क्यान्सरको परीक्षणका लागि ‘म्यामग्राफी’ मेसिन खरिद गर्दा करोडौं घोटाला भएको समाचार सोमबार नागरिक दैनिकमा प्रकाशित भएको थियो।
त्यसकै भोलिपल्ट उनको सरुवा भएको हो। विभागले बिपी अस्पताल धरान, भरपुर क्यान्सर अस्पताल, नारायणी अस्पताल, लुम्बिनी अस्पताल र सिभिल अस्पतालका लागि खरिद गरेको मेसिनमा लागत मूल्यभन्दा बढी निर्धारण गरी खरिद गरेको पाइएको हो। विभागले खरिद गरेको मेसिनको मूल्य सामान्यतया एक करोड ४० पर्ने भए पनि करिब दुई करोड ४० लाख मूल्य तयार गरी खरिद गरिएको स्रोतको दाबी छ।
विभागले गत असार मसान्तसम्म सामान बुझाइसक्नुपर्ने गरी पाँच थान म्यामग्राफी मेसिन खरिद गरेको थियो। तर सबै सामान विभागले प्राप्त गरिसकेको छैन। नागरिकलाई प्राप्त भएको भन्सार प्रज्ञापनपत्रअनुसार आधा मात्रै सामान आएको छ। तर आयातकर्ता कम्पनीले भने भुक्तानी पाइसकेको छ। यो मेसिनको आयातकर्ता कम्पनी म्याक्सिम कर्पोरेसन टे«डर्स हो। तर विभागले सबै सामान आइसकेको दाबी गरेको छ। विभागका खरिद प्रमुख चौरासियाले सबै सामान आइसकेको दाबी गरे पनि सामान आइनसकेको बताइएको छ।
प्रकाशित: २६ मंसिर २०८१ १२:४४ बुधबार





