१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मंगलबार थप एक जनामा हैजा संक्रमण पुष्टि

दुइ सातादेखि विभिन्न स्थानमा देखा परेको हैजा संक्रमण फैलिने क्रम मंगलबार पनि जारी छ । मंगलबारसम्ममा हैजा संक्रमण हुनेको संख्या १७ पुगेको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मंगलबार थप एक जनामा हैजा पुष्टि भएको छ । धनगढीमा थप एक जनामा हैजा पुष्टि भएपछि संक्रमित संख्या १७ जना पुगेको हो ।  

हालसम्म ललितपुरमा ९ जना, काठमाडौमा एक जना र धनगढीमा ७ जना गरी १७ जनामा हैजा पुष्टि भएको हो । उपत्यकाका विभिन्न भागमा हैजा देखा परेपछि महाशाखाले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत् संक्रमितले प्रयोग गरेको पानी या स्थितिको बारेमा खोजविन गर्ने कार्य गरिरहेको छ ।  

कतै हैजा देखिए १११५ हटलाइनमा फोन गर्नु

हैजा हुने क्रम जारी रहेपछि इपिडिमोलोजी महाशाखाले तत्काल रेस्पोन्सको लागि १११५ हटलाइटन सेवा सञ्चालनमा ल्याएको छ। कुनै पनि टोल वा स्वास्थ्य संस्थामा हैजाका लक्षण भएका बिरामी आउने बित्तिकै यो नम्बरमा फोन गरी जानकारी गराउन अपिल गरेको छ । हटलाइन सेवामा सम्पर्क गरे बिरामीको तत्काल उपचार व्यवस्थापन र सम्वन्धित ठाउँमा देखा परेको हैजाको तत्कालै खोज गरी व्यवस्थापन गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको इपिडमोलोजी महाशाखा महामारी शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए ।  

हैजा फैलिरहेका स्थानमा रोेकथामको लागि पहिल्यै औषधी पठाउने, पानीजन्य निकाय, स्थानीय तह सबैलाई पानी तथा सफाइमा सचेत हुनको लागि सन्देश दिइरहेको  डा. पौडेलले जानकारी दिए ।  

व्यक्तिगत सफाइमा ध्यान दिनु  

हैजाको कीटाणु दिसा मिश्रित पानी या खानेकुरामा पाइने भएकोले यी दुई कुराबाट बच्न सके हैजाको संक्रमण नहुने भएकोले सफाइमा ध्यान दिन इपिडिमोलोजी महाशाखाले अपिल गरेको छ । खाना खानु अघि, खाना खाइसकेपछि, शौचालय गएपछि साबुनपानीले राम्रोसँग हात धुन, फलफूल, सलादजस्ता काँचा खानेकुरा खाँदा उमालेको पानीले मात्र पखालेर मात्र खाने, सडेगलेका र झिंगा भन्केका खानाहरु नखान महामारी शाखाका प्रमुख डा. पौडेलको सुझाव छ । मुख्य कुरा व्यक्तिगत सफाइमा ध्यान दिएमा पनि धेरै हदसम्म झाडापखालावबाट बच्न सकिन्छ’ उनले भने ।  

प्रकाशित: १५ श्रावण २०८१ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App