११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बाइपोलर डिसअर्डर रोगले करोडौँको ऋण भार!

फाइल तस्वीर

दुई महिना अघि पोखराका ३५ वर्षीय युवा मानसिक रोग विषेशज्ञ डा. अनन्त अधिकारीले यस्तो बिरामी भेटे जसले एकै वर्षमा परिवारले नसोंचेको काम गरे। उनले  केही समयकै अवधिमा तीन वटा होटेल र तीन वटा गाडी किन्ने काम गरे। तर यो उनको निजी पूँजीबाट नभई बैँकको ऋण लिएर गरेका थिए। उनको यो काम देखेर परिवारका सदस्य चकित परे। उनकी पत्नी यति ठूलो काम गरेको देखेर अचम्मित भइन्। जुन काम उनको हैसियत भन्दा बाहिरको थियो। जब बैँकको ऋण र ब्याजले च्याप्यो, परिवार दुःखमा डुब्यो। उनको असामान्य गतिविधि देखेपछि उनकी पत्नीले उपचारको लागि डा.अधिकारीकोमा पुर्‍याएकी थिइन।

१० दिनअघि मानसिक रोग अस्पताल पाटनमा अर्का २३ वर्षीय युवालाई पनि श्रीमतीले उपचारका लागि पुर्‍याएकी थिइन्। उनले केही समययता ‘हाइफाइ’ देखाउने र गफैले अरूलाई प्रभावित पार्दै आएका थिए। महँगा दुईदुईवटा मोबाइल बोक्न थाले। लुगा र जुत्ता पनि महँगा लगाउन थाले। एउटा कन्सल्टेन्सीमा जागिर सुरु गरे, तर उनले दैनिक यस्तो कुरा थाले कि जुन उनको हैसियतभन्दा बाहिरको थियो। एजुकेसन कन्सल्टेन्सीमा उनको दैनिकी अति महत्वाकांंक्षी हुन्थे।

बढी गफकै कारण उनी सुरुमा कन्सल्टेन्सीका सञ्चालकलाई नै प्रभावित पारेर जागिर खान सफल भएका थिए। उनको दैनिकी देखेर कन्सल्टेन्सीका मान्छेलाई शंका लाग्यो र अध्ययन गर्न थाले। उनका कुनै पनि व्यवहार सामान्य लागेनन्। त्यसपछि परिवारलाई खबर गरी उपचारमा पुर्‍याएका थिए। तेस्रो घटना थियो– पूर्वकी एक ३० वर्षीया महिलाको। उनी पनि दुई वर्षअघि मानसिक उपचारकै लागि मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीसमक्ष पुगेकी थिइन्। उनी धर्मगुरुकहाँ पनि धाउन थालिन्। धाउने क्रममा गुरुबाटै यौन शोषणमा परिन्। उपचारपछि उनमा होस आयो। उनले गुरुविरुद्ध मुद्दा दायर पनि गरिन्।

मानसिक रोग विशेषज्ञका अनुसार उल्लिखित तीनवटै घटना मानिसक समस्या भएको थियो। मानसिक रोग अस्पताल पाटनका निर्देशक डा. अधिकारीका अनुसार यी तीनैजनामा बाइपोलार डिसअर्डर भएको हो।

यो रोगले बिरामीलाई भावनात्मक रूपमा दुईवटा चरणमा पुर्‍याउँछ– कहिले चरम खुसी (मेनिया) कहिले चरम उदासीन (डिपे्रसन)। दुई भिन्न अवस्थामा पुर्‍याउने भएकाले यो रोगलाई बाइपोलार डिसअर्डर भनिएको हो।

यो रोग लागेपछि चरम खुसी हुने र बढी खर्च गर्ने, नसक्ने काम गर्न पनि आँट आउने, सबैसँग सम्पर्कमा रहने चाहना बढ्छ। यही अवस्थामा उल्लिखित दुई पुरुष पात्रले वास्तविकभन्दा बढी खर्च गरे। बाइपोलार डिसअर्डरकै कारण उनीहरूले यस्ता गतिविधि देखाएको मानसिक रोग अस्पतालका निर्देशक डा. अधिकारी बताउँछन्।

अर्की महिलामा हुने मेनियाँकै कारण उनी गुरुकहाँ धाउन थालेकी थिइन्। कतिपयमा यौन आकर्षण बढी हुने, बढी धार्मिक हुने, कोही खर्चालु हुने, नसोचेको काम पलभरमै गर्ने क्षमता असन्तुलनको बेलामा हुन्छ। तर कतिपय बिरामीमा बाइपोलारकै कारण हुने डिपे्रसनले उदासीन हुने, कुण्ठा र तनावको अवस्थामा पुग्ने गराउँछ।

चिकित्सकका अनुसार यो बाइपोलार डिसअर्डरले व्यक्तिमा ठ्याक्कै दुई विपरीत अवस्था सिर्जना गराउँछ। मेनियाको तहमा पुग्दा आफूमा धेरैै क्षमता भएको, ठूलो भएको, धेरै पैसा, गतिविधिको तह धेरै हुने, बढी ज्ञान भएको अनुभूति गराउँछ भने डिपे्रसनको अवस्थामा पुर्‍याउँदा आफूमै कमजोर र हीनताबोध महसुस गराउँछ।

किन हुन्छ बाइपोलार डिसअर्डर?

न्युरोलोजिकल असन्तुलनको अवस्था हो। मस्तिष्कमा हुने डोपामिन तथा सेरोटोनिकलगायतका न्युरोट्रान्समिटरमा हुने असन्तुलन हो बाइपोलार डिसअर्डर। आनुवंशिक हिसाबले जोखिममा रहेका मानिसमा बाहिरी वातावरण, सामाजिक, आर्थिक, पारिवारिक परिवेशले रोग बढाउने काम गर्छ।

खासगरी वंशाणुगत गुण भएका मानिसहरूमा यो रोगको जोखिम बढी हुन्छ। मनोसामाजिक तत्वले जोखिममा रहेका व्यक्तिलाई विभिन्न पक्षले असर गरेमा रोग बढ्छ। जस्तो कि व्यक्तिको सहन गर्ने क्षमता, कुनै कुरालाई बुझ्ने तरिकाले पनि प्रभाव पारेको हुन्छ। आपसमा सन्तुलन भएर बसेका यी न्युरोट्रान्समिटरमा मनोसामाजिक, पारिवारिक या वंशाणुगत वातावरणले प्रभाव पारेमा रोगको रूप लिन्छ।

यो रोग जुनसुकै उमेर समुहमा हुन्छ। तर बढी मात्रामा १८ वर्षमाथिको उमेरमा हुन्छ। यो रोगले दीर्घकालीन असर पर्ने भएकाले व्यक्तिको दैनिकी, व्यक्तित्व निर्माणसहित सिंगो जीवन प्रभावित हुन्छ।

यसको असर परिवार र समाजमा समेत पर्छ। समयमै उपचार नपाएमा यो रोगले बिरामीको दैनिक जीविका, पेसा, कुराकानी सबै पक्षमा विकलांग ल्याउँछ। यो रोग महिला र पुरुष दुवैमा बराबरी संख्यामा रहेको छ। यसले जटिल रूप लियो भने पागलपन, विक्षिप्ततामा पुग्ने, मेनियाँ भएमा धनसम्पत्ति सबै सकिने, डिपे्रसनले आत्महत्याको विचार आउने जोखिम हुन्छ। चिकित्सकका अनुसार नेपालमा बाइपोलार डिसअर्डरका बिरामी कुल जनसंख्याको एक प्रतिशत छ।

यो हिसाबले करिब तीन लाख जनामा यो रोग हुन्छ। समयमैै रोगको पहिचान नहुँदा बिरामी ढिलो उपचारमा पुग्ने गरेको मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्की बताउँछन्। ‘कति बिगार गरेर प्रहरीकहाँ पुगिसकेपछि मात्र उपचारमा आइपुग्छन्, कति गाउँघरमै धामीको भर पर्छन्’, उनले भने।

समयमै उपचार भएमा छोटो अवधिमा औषधीले नै रोग निको हुने चिकित्सकको सुझाव छ। ‘यो पूरै निको हुन्छ। कतिपय त छिटो निको हुन्छ’, डा. अधिकारी बताउँछन्।

प्रकाशित: ६ असार २०८१ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App