२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमा लिँदा बिरामीलाई सास्ती

स्वास्थ्य बिमामा रहेका कमजोरीका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको अस्पतालहरूले जनाएका छन्। राजधानीका ठुला अस्पतालहरूमा बिरामीको चाप हुने र बिमाले तयार गरेको सफ्टवेयरमा समस्या आउने गरेकाले बिरामीले धेरै सास्ती पाउने गरेका छन्।

अस्पतालहरूमा पर्याप्त प्रयोगशाला परीक्षण नहुनु, बिमा लिनेको भीड बढ्नु, बिमा प्रक्रियामा ढिलाइ हुनुले बिरामीले स्वास्थ्य बिमा सेवा झन्झटिलो बनेको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल बिमा एकाइ इन्चार्ज हरि भेटवालले बताए। उनका अनुसार अस्पतालबाट सेवा लिन आउने बिरामीले चाहिए जति सबै परीक्षण र औषधी नहुँदा सास्ती पाउँछन्। ‘घन्टौं लाइन लगाएर बिमाको लाइन पूरा गर्छन्, कतिपयले अस्पतालभित्र सेवा नहुँदा दोहोरो समय झेल्नुपर्छ,’ भेटवालले भने। उनका अनुसार कोही कोही त रोएरै फर्किन्छन्।

कर्मचारीमा आवश्यक सिप नहुनु, ढिलो काम गर्ने सफ्टवेयर हुनु र दक्ष आइटी विज्ञको कमीले सेवामा ढिलाइ भएको भेटवाल बताउँछन्। ‘स्वास्थ्य बिमाले दु्रत चल्ने किसिमको सफ्टवेयर राखेमा मात्र यो सेवा छिटो हुने देखिन्छ,’ उनले भने। स्वास्थ्य बिमामार्फत छिटो र छरितो गरी सेवा दिन अस्पताल हाताभित्र आठवटा ठाउँमा क्यास काउन्टर स्थापना गरे पनि छिटो हुन नसकेको उनले जानकारी दिए। ‘बिरामीको चाप पनि धेरै छ, सेवामा पनि ढिलाइ छ,’ उनले भने । स्वास्थ्य बिमा सेवाबाट सञ्चालनमा आएको बिमा प्रणालीले छिटो काम नगर्ने, काम गरे पनि बिरामीको पूर्ण विवरण नहुने समस्याले सेवाग्राही हैरान बन्ने गरेको टिचिङ अस्पतालका निर्देशक डा. दिनेशकुमार काफ्लेले बताए। 

‘जथाभावी सेवा दिँदा अस्पतालले उल्टै खर्च बेहोर्नु पर्छ, सेवा दिँदा पूरा विवरण हुँदैन,’ उनले भने। योबाहेक बिमाको सफ्टवेयरमा चिकित्सकको रजिस्टर नम्बर, बिमा सेवा लिन आउनेको भीड, अन्य विवरण दाखिला गर्दा पनि ढिलाइ हुने गरेको निर्देशक काफ्लेले बताए। अस्पतालमा दक्ष कर्मचारी र आइटी प्रविधिको उचित व्यवस्थापन नहुँदासम्म सेवामा ढिलाइ हुने उनको भनाइ छ।

बिरामीको चापका कारण नै स्वास्थ्य बिमा सेवामा ढिला हुने गरेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले बताए। यसका साथै बिमा कम्पनीले अस्पतालहरूलाई समयमै भुक्तानी नदिने अर्को समस्या रहको टिचिङ र पाटन अस्पतालले जानकारी दिएका छन्। 

समयमा भुक्तानी नदिँदा अस्पतालले ठूलो संख्यामा बिमासेवा लिन आउने बिरामीको हकमा रिएजेन्ट किन्न र अस्पतालको अन्य खर्च व्यवस्थापन गर्न कठिन हुने उनले बताए। डा. शाक्यका अनुसार सरकारले योे अस्पताललाई स्वास्थ्य बिमा सेवाबापत २५ करोड र टिचिङ अस्पताललाई ६० करोड भुक्तानी दिन बाँकी छ। माग्न जाँदा बिरामीको खातामा प्रक्रिया नमिलेको भन्दै समयमै भुक्तानी नगर्ने गरेको अस्पतालका निर्देशक डा. काफ्लेले बताए।

प्रकाशित: २९ जेष्ठ २०८१ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App