४ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रयोगविहीन आइसियु र भेन्टिलेटर

कालीकोटको सरुवारोग अस्पतालभित्र राखिएका प्रयोगविहीन आइसियु र भेन्टिलेटरहरू। तस्बिर: ललित/कालीकोट

दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा सरुवा रोग अस्पताल, कालीकोटमा एक करोडभन्दा बढी खर्चेर किनेका आइसियु र भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएका छन्। कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन आएको छैन।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि कुनै चासो नदेखाएपछि मेसिन बिग्रने अवस्था आएको स्वास्थ्य सेवा कार्यालय, कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए।

 कर्णाली प्रदेश सरकारले २०७६/७७ मा एक करोड ५८ लाख बजेटबाट चार शैड्ढयाको भेन्टिलेटर र १० शैय्याको आइसीयू सञ्चालन गर्नको लागि मेसिन तथा बेड खरिद गरेको थियो। कोभिडको समयमा समेत प्रयोगमा नआएको आइसियू सेवा अहिले भने झन बन्द जस्तै छ।

उनले भने, ‘आइसीयू तथा भेन्टिलेटर सेवा सञ्चालनका लागि विशेषज्ञ डाक्टरसहितको दक्ष टिम चाहिन्छ। दक्ष जनशक्ति भए आइसीयू सञ्चालनमा ल्याउन सकिन्छ। अहिलेसम्म आइसीयू सञ्चालनमा ल्याउन सकिएको छैन कसरी भेन्टिलेटर सेवा सञ्चालन गर्नु? खरिद गरेका उपकरण प्रयोगमा आउन नसकी थन्किएका हुन्।’

कोभिड विशेष अस्पतालका रूपमा २०७६ सालमा स्थापना भएको अस्पताललाई २०७८ सालमा कर्णालीकै पहिलो सरुवारोग अस्पतालका रूपमा स्थापना गरी १५ शैड्ढयाको अस्पतालबाट एक वर्ष सेवा सुरु भएको थियो।

सरुवा रोग अस्पताल सञ्चालनका लागि २०८०/८१ मा प्रदेश सरकारले बजेट नपठाउँदा अहिले बन्द अवस्थामा छ। करिब तीन करोडका सामग्री भएको सरुवा रोग अस्पतालबाट अहिले कुनै पनि सेवा सुचारु छैनन्।

अस्पतालमा आइसियु तथा भेन्टिलेटर सेवा सञ्चालनमा ल्याउन नसक्दा गम्भीर खालका बिरामीलाई नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको डाक्टर संकेत विश्वकर्माले बताए।

अस्पताल व्यवस्थापनका लागि दक्ष जनशक्ति तथा थप दरबन्दी लगायतमा सरकारले ध्यान नदिँदा थप समस्या आएको र पछि सरुवा रोग अस्पतालको सामग्री जिल्ला अस्पतालमा लिएर प्रयोग गर्नुपर्ने जिल्ला अस्पताल कालीकोटले जनाएको छ।

प्रदेश सरकारले बजेट पठाए पनि पानी, बत्तीलगायतको जनशक्तिको व्यवस्थापन गर्न पनि समस्या हुने बताइएको छ। स्वास्थ्य सेवा कार्यालय, कालीकोटको स्वामित्वमा कर्णाली सरकारले सरुवा रोग अस्पतालका रूपमा स्थापना गरेको थियो।

तत्कालीन कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरुवा रोग अस्पतालको उद्घाटन गरेका थिए।  सरुवा रोग अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ। वरिष्ठ कन्सल्ट्यान्ट जनरल फिजिसियन एकजना, मेडिकल अधिकृत एकजना, हाउस किपर सहायक एकजना, फार्मेसी सहायक एकजनालगायत अन्य जनशक्ति गरी २१ जनाको दरबन्दी छ।

यहाँबाट कर्णालीका कालीकोट, जुम्ला, हुम्ला, मुगुलगायत छिमेकी जिल्ला अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रूपमा सेवा लिन सक्ने बताइएको छ। यीमध्ये अहिले सरुवा रोग अस्पतालमा कुनै पनि दक्ष जनशक्ति छैन, सरुवा रोगका बिरामी पनि छैनन्, अस्पताल पनि सञ्चालनमा छैन।

सरकारले तीन करोड खर्च गरेर दिगो रूपमा अस्पताल चलाउन नसक्दा समस्या आएको स्थानीयको भनाइ छ। अहिले सुर्खेतमा पनि सरुवा रोग अस्पताल निर्माणाधीन अवस्थामा छ। स्थानीयका अनुसार कालीकोटको सरुवा रोग अस्पतालको बजेट कटौती गरेर प्रदेशमा बन्न लागेको अस्पतालका लागि खर्च भएको हुन सक्ने आशंका छ। कालीकोटमा मात्र नभएर कर्णालीका अन्य जिल्लामा पनि भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन्।

प्रकाशित: १४ जेष्ठ २०८१ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App