२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

उदयपुरमा सुन्तला उत्पादन र किसानको आम्दानी बढ्यो

उदयपुरमा केही वर्षयता सुन्तला उत्पादन बढ्दै गएको छ। चालु आर्थिक वर्ष जिल्लामा ६ सय ३२ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती गरिएको थियो। जसमध्ये ४ सय ७० हेक्टर उत्पादन क्षेत्रबाट ३ हजार ९ सय ९५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

जसबाट करिब २८ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ। ज्ञान केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार कुल उत्पादनको करिब ३० प्रतिशत सुन्तला भने किसानले आफैं उपभोग गर्ने तथा आफन्तजनलाई बाँड्ने गरेका छन्। बाँकी ७० प्रतिशत मात्र व्यवसायिक रूपमा बजारमा बिक्रीका लागि जाने गरेको छ।

ज्ञान केन्द्र प्रमुख यादव सुन्तला खेती केवल व्यवसायिक मात्र नभई ग्रामीण खाद्य सुरक्षासँग पनि जोडिँदै गएको बताउँछन्। सुन्तला खेतीप्रति पछिल्लो समय कृषकहरूमा आकर्षण बढ्दै गएको छ। गत वर्षको तुलनामा चालु वर्ष खेती गर्ने जमिन बढ्नुले यो कुरा प्रमाणित गरेको यादव बताउँछन्।

ज्ञान केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्ष जिल्लामा ६ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो। त्यसमध्ये ४ सय ६८ हेक्टर क्षेत्रफलमा ३ हजार ५ सय १० मेट्रिक टन उत्पादन भएको थियो। चालु वर्ष क्षेत्रफल जमिन २ हेक्टरले मात्र बढे पनि उत्पादन भने ४ सय ८५ मेट्रिक टनले वृद्धि भएको छ। यसले सुन्तला खेतीमा उत्पादकत्व बढेको देखाउँछ।

कृषकहरूका अनुसार बोट व्यवस्थापन, समयमै मलखादको उचित प्रयोग, रोग नियन्त्रण तथा किसानको अनुभव वृद्धिले सुन्तला खेती र उत्पादन दुवै बढ्न सहयोग पुगेको हो।

उदयपुरको पहाडी भेगमा सुन्तला खेती लगाउने गरिएको छ। समशीतोष्ण हावापानी भएको जमिन सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका लिमचुङबुङ, ताप्ली र रौतामाई गाउँपालिका तथा कटारी नगरपालिकाका पहाडी भेगका वडाहरू सुन्तला उत्पादनका मुख्य क्षेत्र हुन्। यी क्षेत्रमा परम्परागत खेतीसँगै पछिल्ला वर्षहरूमा व्यवसायिक सुन्तला खेती गर्ने किसानको संख्या बढ्दै गएको छ।

उत्पादन बढेसँगै बजारमा सुन्तलाको आपूर्ति पनि बढेको छ। तर किसानहरू अझै मूल्य स्थिरता, भण्डारण सुविधाको अभाव तथा ढुवानी खर्च बढी लाग्ने समस्याले पिरोलिइरहेका छन्। कृषि ज्ञान केन्द्रले उचित भण्डारण, प्रशोधन उद्योग तथा चिस्यान केन्द्र र उचित बजार व्यवस्थापन गर्न सके सुन्तला खेतीबाट किसानले यो भन्दा बढी आम्दानी लिन सक्ने सम्भावना रहेको जनाएको छ।

सुन्तला उत्पादनमा वर्षेनी हुँदै आएको वृद्धिलाई दिगो र व्यवस्थित बनाउन खेतीको क्षेत्रफल बढाउने, प्रविधि विस्तार तथा यान्त्रिकीकरण गर्ने तथा रोग नियन्त्रण र बजार सुनिश्चित गर्नुपर्ने खाँचो किसानले औंल्याएका छन्। त्यसो गर्न सके उदयपुरका जनता सुन्तला खेतीबाटै आत्मनिर्भर र समृद्ध हुन सक्ने सम्भावना देख्छन्।

प्रकाशित: २६ माघ २०८२ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App