३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कञ्चनपुर, बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

कञ्चनपुर,बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ।कञ्चनपुरका ३३ हजार नौ सय ४२ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइने छ। पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ गतेदेखि २६ सम्म सम्बन्धित पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो।

खोप अभियानका लागि जिल्लामा एक सय ५३ स्वास्थ्यकर्मी र सात सय १० महिला स्वास्थ्य स्वयंसेविका गरी आठ सय ६३ जना परिचालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। यो खोप २०७१ सालदेखि लगाउन सुरु गरिएको हो।

शुक्लाफाँटा नगरपालिकाका तीन हजार पाँच सय ८०, भीमदत्त नगरपालिकाका आठ हजार पाँच सय ६२, बेल्डाँडी गाउँपालिका एक हजार एक सय ७४, बेलौरी नगरपालिकाका दुई हजार सात सय ९३, लालझाडी गाँउपालिकाका एक हजार तीन ८१ बालबालिकालाई खोप लगाइने छ।

पुनर्वास नगरपालिकाका चार हजार तीन सय ११, बेदकोट नगरपालिकाका तीन हजार दुई सय ३२, कृष्णपुर नगरपालिकाका पाँच हजार छ सय ६७ र दोधाचाँदनी नगरपालिकाका तीन हजार दुई सय ४२ बालबालिकालाई खोप लगाइने छ।

यसैगरी बैतडीका १३ हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार जेठ १६ देखि २३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।

यसैबीच जुम्लाका पाँच हजार आठ सय बालबालिकालाई पोलियोेविरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा जेठ १३ गतेदेखि १५ गतेसम्म  पातारासी, गुठिचौर, चन्दननाथ र तातोपानीमा खोप अभियान सञ्चालन हुनेछ।

दोस्रो चरणमा जेठ १८ गतेदेखि २० गतेसम्म तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। खोप अभियानअन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिकालाई मात्र खोप लगाइने छ।

यसैबीच गोरखाका आठ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ। जिल्लाका सबै पालिकामा जेठ १६ गते एकैसाथ खोप अभियान सञ्चालन गरी आठ हजार पाँच सय ३९ जना बालबालिकालाई  खोप लगाउने तयारी जारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

एघार पालिका रहेको गोरखामा गोरखा नगरपालिकामा सबैभन्दा धेरै दुई हजार चार सय ८६ जना बालबालिकालाई खोप लगाइने छ। पालुङटार नगरपालिकामा एक हजार ९१, आरुघाट गाउँपालिकामा सात सय ३०, बारपाक सुलिकोट गाउँपालिकामा छ सय ६७ जना बालबालिकालाई खोप लगाइने छ।

गण्डकी गाउँपालिकामा छ सय ४१, धार्चे गाउँपालिकामा छ सय २८, सहिदलखन गाउँपालिकामा छ सय तीन,  सिरानचोक गाउँपालिकामा चार सय ९९, भीमसेन थापा गाउँपालिकामा चार सय ८५, अजिरकोट गाउँपालिकामा चार सय १२ र चुमनुब्री गाउँपालिकामा दुई सय ९७ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम छ।

खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभर दुई सय ५९ केन्द्र तोकिएको छ भने दुई सय ५९ जना स्वास्थ्यकर्मी र पाँच सय १८ जना स्वयंसेवक परिचालन गरिने छ। साथै एक सय २३ जना जनशक्ति पनि परिचालन गरिने छ।  

प्रकाशित: १२ जेष्ठ २०८१ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App