३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

छुटेका बालबालिकालाई वैशाख ३१ गते देशैभर पूर्ण खोप दिइने

फाइल तस्वीर

सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिने नियमित खोप पूरै लगाएको हुनुपर्छ। कुनै खोप छुटेमा पछि गएर संक्रामक रोग लाग्ने र अरू बालबालिकालाई पनि सार्ने जोखिम हुन्छ।

यो जोखिमबाट बचाउन सरकारले सबै बालबालिकालाई पूर्ण खोप दिने भएको छ। खोप छुटेका बालबालिकालाई वैशाख ३१ गते पूर्ण खोप दिने परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।

हरेक वर्ष बालबालिकालाई नियमित खोप दिने दिन तोक्नुअघि नै विभिन्न कार्यक्रममार्फत खोप अभियान चलाइसकेको र कुनै कारणवश छुटेकालाई वैशाख ३१ गते खोप दिने कार्यक्रम रहेको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।

खोप दिनुअघि स्थानीय स्वास्थ्य स्वयंसेविकामार्फत ‘वैशाखभरि खोज र खोप लगाऊ’ अभियान सञ्चालन गरिएको छ।

अभियानका लागि स्वास्थ्य स्वयंसेविका प्रत्येक घरघरमा पुगेर खोप कार्डको रेकर्ड खोजेर उनीहरूलाई नजिकको खोप केन्द्रमा खोप छुटेकाको अभिलेख तयार गरेका छन् भने भर्ना हुन स्कुल पुग्ने बालबालिकाको हकमा खोप कार्ड खोजी पूर्ण खोप लिए/नलिएको जानकारी लिने काम भइरहेको छ। यसका लागि हरेक स्थानीय स्वास्थ्य केन्द्रलाई खोप सेवा खुला राख्न सबै स्थानीय तहलाई निर्देशन दिइएको छ।

वैशाख ३१ सूचना नै जारी गरेर हरेक नागरिकलाई जानकारी दिने र वैशाख ३१ गते देशैभरिका स्वास्थ्य केन्द्रबाट खोेप लिन मिल्नेगरी व्यवस्था गरिएको छ। यो दिन सबै बालबालिकाले नजिकको स्वास्थ्य केन्द्रबाट खोप लिन खोप शाखाका प्रमुख डा. गौतमले अपिल गरेका छन्। ‘खोप छुटेका हरेक बालबालिकाले वैशाख ३१ गते खोप लिनुपर्छ,’ उनले भने।

वैशाख ३१ गते खोप लिएपछि नेपाललाई पूर्ण खोप देश घोषणा गर्ने तयारी रहेको खोेप शाखाले जनाएको छ। ‘यो आर्थिक वर्षको अन्तिमसम्ममा पूर्ण खोप देश घोषणा गरिसक्छौं,’ उनले भने।

उनका अनुसार यो अवधिमा सबै खोप लिएका वडालाई पूर्ण खोप वडा घोषणा, सबै वडामा पूर्ण खोप भएमा पूर्ण खोप स्थानीय तह, सबै स्थानीय तहमा पूर्ण खोप भएमा पूर्ण खोप जिल्ला र सबै जिल्लामा पूर्ण खोप भएमा पूर्ण खोप प्रदेश घोषणा गर्ने कार्य भइसकेको छ।

यो अभियानमा नुवाकोट, पर्सा, महोत्तरी, धनुषा र बारालाई पूर्ण खोप जिल्ला घोष्णा गर्न बाँकी छ। यी जिल्लामा पनि पूर्ण खोप दिन विभिन्न अभियान जारी रहेको छ। पाँच वटा जिल्लामध्येमा पनि १३ वटा स्थानीय तहमा मात्र पूर्ण खोप घोषणा हुन बाँकी रहेको खोप शाखाको रेकर्ड छ।

खोप शाखाका अनुसार खोप छुट्नेमा प्रायः सुकुमबासी वस्ती, घुमन्ते मजदुरकाका बालबालिका, शरणार्थी शिविर, कारखाना, इँटाभट्टा र आन्तरिक विस्थापित वस्तीमा बालबालिकाले पूर्ण खोप नलिएको पाइएको छ।

प्रकाशित: १९ वैशाख २०८१ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App