२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने प्रधानमन्त्रीकाे ‘कमिन्टमेन्ट’, यसपटक हाेला त पुरा ?

‘प्रधानमन्त्रीले डडेलधुरामा शिक्षण अस्पताल बनाउने तयारी गर्नुभएको मैले भर्खरै जानकारी पाएको छु। अब पालो भरतपुर अस्पतालको हो। ‘मैले भनेपछि शेरबहादुरजीले नमान्ने कुरा हुँदैन, अब भरतपुर अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन हुनेछ’

यो अभिव्यक्ति भरतपुर अस्पतालको वार्षिकोत्सव उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षअघि दिएका थिए।

त्यतिखेरको आश्वासनलाई केन्द्रित गर्दै भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले आइतबार अस्पतालको ६८ औँ वार्षिकोत्सवको अवसरमा सुनाए–‘हामी भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने भनेर धेरै लाग्यौँ। पटक पटक प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, राजनीतिक दल सबैलाई भेट गर्‍यौँ। उहाँहरूबाट आश्वासन मात्र पाइयो अझै सम्बन्धन पाउन सकेका छैनौँ।’

उनले एमबिबिएस कक्षा सञ्चालनका लागि आश्वासन दिए पनि कार्यान्वयन हुन नसकेको बताए। उनले आगामी वर्षदेखि एमबिबिएसका कक्षा सञ्चालन गर्नका लागि सहयोग गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई अनुरोध समेत गरे।

प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिकोत्सवको उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न पहल भएकाे विषय दोहोराए।

‘एमबिबिएसका कक्षा सञ्चालन गर्न पहल गर्छु। म अस्पताल प्रशासनको माग प्रति गम्भिर छु। आश्वास होइन यो मेरो कमिन्टमेन्ट हो। उनले भने,‘त्यसकारण यसलाई त्यही रुपमा हेर्नुहोला।’

भरतपुर अस्पताललाई २०७९ साल चैत्र १० गते राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट आंगिक कलेजका रुपमा विस्तार गरिएको थियाे। कार्यान्वयन गर्ने काममा आफू प्रतिबद्ध भएको उनले बताए। उनले जिल्ला स्तरबाट केन्द्रीय अस्पताल बनाउनका लागि पहल गरेको समेत बताए।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई चिकित्सा शिक्षा, उपचार, र अनुसन्धान केन्द्रका रुपमा विकास गरिने बताएका छन्। 

‘उपचारको पक्ष, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धान क्षेत्रमा पुर्वाधारहरु तयार भएको छ।,’ मन्त्री यादवले भने ‘चितवनलाई स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकास गरिने छ।’

उनले भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि चिकित्सा शिक्षासँगै क्यान्सरको अनुसन्धान केन्द्रका रुपमा विकास गरिने बताए। उनले भरतपुर अस्पतालको आवश्यकताका आधारमा पूर्वाधारहरू निर्माण गरिने प्रतिबद्धता जनाए।

भरतपुर अस्पतालमा २०७२ सालदेखि चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) अन्तर्गत बिएन र पोस्ट ग्य्राजुयट (पिजी) को पठनपाठनका कक्षा सञ्चालन भइरहेका छन्।

एमबिबिएसका कक्षा सञ्चालनका लागि मन्त्रिपरिषद्ले निर्णय गरेपनि स्वास्थ्य मन्त्रालय र चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठानले अगाडि नबढाएको निवर्तमान मेडिकल सुपरिटेण्डेन्ट प्राडा.कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

‘२०७२ सालदेखि एमडिएमएस पढाई भएको छ। तर फुल टाइम पढाउन पाइएको छैन,’ उनले भने ‘सम्बन्धन प्राप्त नहुँदा छ महिना मात्र पढाउने गरेका छौँ।’

भरतपुर अस्पतालमा औषतमा दैनिक दुई हजार बिरामी आउने गर्दछन्। गत वर्षको तुलनामा ५० प्रतिशतले बिरामी बढेको मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले बताए। यहाँ शय्याको संख्या ६ सय छ। वार्षिक १२ हजारभन्दा बढी प्रसूति हुन आउने गर्दछन्। नौ हजार बढीको ठुलो शल्यक्रिया भएको उनले बताए।

गरिब बिरामीका लागि पाँच करोड रुपैयाँ खर्च गरिएको उनले सुनाए। भरतपुर अस्पतालमा ७० प्रतिशत स्वास्थ्य विमाका बिरामी आउने गर्दछन्। अस्पतालको ४७ करोड वार्षिक बजेटमा ८५ प्रतिशत तलब भत्तामा खर्च हुने उनले जनाए।

प्रकाशित: २५ चैत्र २०८० २०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App