२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उदयपुर अस्पतालमा नयाँ प्रसूति भवन थपिँदै

पछिल्लो केही वर्षयता उपचारको ‘हव’ बन्न थालेको सरकारी स्वामित्वको उदयपुर जिल्ला अस्पतालको नयाँ प्रसूति भवन निर्माण सुरु भएको छ। विशेषज्ञ डा.सहित दक्ष जनशक्ति र यन्त्र उपकरण व्यवस्थापन भएसँगै अस्पतालमा उपचार गर्न आउनेको चाप बढ्दै गएपछि आवश्यक भौतिक पूर्वाधार थप्ने क्रममा नयाँ भवन निर्माण सुरु भएको हो।  

हाल सञ्चालित पुरानो प्रसूति भवनले बिरामीको संख्या थेग्न नसक्दा सुत्केरी गराउन आउने महिला भुइँमा राखेर पनि उपचार गराउनुपर्ने बाध्यता छ। अस्पतालमा दिनहुँ ५० भन्दा बढी गर्भवती सुत्केरी गराउन आउने गरेका छन् भने स्वास्थ्य जाँचका लागि पाँच सयसम्म आउने गरेका छन्। दक्ष चिकित्सक टोलीद्वारा सुरक्षित र सफल सुत्केरी सेवा पाउने हुँदा अस्पतालमा दिनहुँ गर्भवती महिलाको भिड लाग्ने गरेको छ। बढ्दो आकर्षणले अस्पतालका लागि नयाँ भवन बनाउन लागिएको हो।  

भवनका लागि चालु वर्षमा एक करोड ४५ लाख २३ हजार २५५ रूपैयाँको लागत इस्टिमेट भए पनि मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक ९४ लाख १८ हजार ५३५ रूपैयाँमा ठेक्का लागेको छ। अस्पतालका लेखा अधिकृत महेशकुमार वाग्लेका अनुसार विद्युतीय माध्यमको टेन्डर आह्वान गर्दा निर्माण व्यवसायीबीच प्रतिस्पर्धामा ३५.१४८ प्रतिशत कम मूल्यमा ठेक्का लागेको हो।  

भवन निर्माणको जिम्मा पाएको बेलटारे निर्माण सेवा चौदण्डीगढी–७ उदयपुरले चैत १० गते सम्झौता गरी काम सुरु गरिसकेको छ। बहुवर्षीय योजनाअन्तर्गत बन्ने नयाँ भवनको चालु वर्ष जगदेखि भुइँतला ढलानसम्मको काम हुनेछ। आउँदो ३ महिना अर्थात् असार ९ गतेभित्र ४८ वटा पिलर (खम्बा)सहितको भवनको भुइँतला ढलान गरिसक्नुपर्ने सम्झौता छ। आगामी वर्ष सरकारले विनियोजन गर्ने बजेट आकारको आधारमा भवनको थप काम हुँदै जाने लेखा अधिकृत वाग्लेले बताए।  

उदयपुर अस्पतालमा दिनदिनै बिरामीको आकर्षण बढ्दै गएपछि भौतिक पूर्वाधारको खाँचो बढ्दै गएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाले बताएका छन्। डा. झाका अनुसार दिनमा ५० भन्दा बढीको संख्यामा सुत्केरी गराउने महिलासहित २÷३ हजार जना उपचारार्थ आउने गरेका छन्। २० शड्ढयाको पुरानो प्रसूति भवनले बढ्दो बिरामीको चाप थेग्न नसकेकाले नयाँ भवन अत्यावश्यक भएको झा बताउँछन्।  

नयाँ प्रसूति भवन बन्ने भएपछि सुत्केरी गराउन केही सहज हुने भए पनि डा. झाले अन्य सेवाका लागि थप भवनको अत्यावश्यक खाँचो औँल्याएका छन्। डा. झाका अनुसार दिनहुँ बिरामीको चाप बढ्दै गएकाले अब कम्तीमा सय कोठाको अर्को भवन तत्काल खाँचो परेको छ। तर, राज्यले बजेट दिन नसकेकाले दुःखले अस्पताल चलाउनु परेको उनको भनाइ छ।  

अहिलेकै रफ्तारमा अस्पतालमा आकर्षण बढ्दै जाने हो भने आउँदो ५ वर्षभित्र दुई सय शड्ढया सञ्चालन गर्नेगरी भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने डा. झाको बुझाइ छ। हाल ५० शड्ढया सञ्चालनको स्वीकृति पाएको अस्पतालले स्थानीय आवश्यकताको आधारमा सय शड्ढया चलाइरहेको छ। सरकारी स्वीकृत र दरबन्दीभन्दा बाहेकको शड्ढया र जनशक्ति व्यवस्थापन अस्पताल विकास समितिले गर्दै आएको छ।  

अस्पतालमा विगत ३ वर्षयता हाडजोर्नी तथा नशारोग, एपेन्डिसाइटिस, हाइड्रोसिल, हर्निया र पत्थरीको सफल शल्यक्रिया (अपरेसन)सहितको उपचार हुँदै आएको छ। गत पुस अन्तिम सातादेखि मिर्गौलाको डाइलासिस सेवा पनि नियमित रूपमा हुँदै आएको छ। अप्रेसन सेवा सुरु भएसँगै २० वटा शड्ढया थपिएको छ। अप्रेसनपछिको उपचार (पोस्ट ओटी)का लागि छुट्टै क्याबिनसहित २० शड्ढया थपेर सञ्चालनमा ल्याइएको छ।  

जटिल खाले गर्भवती महिलाको सुरक्षित अप्रेसनसहित सुत्केरी गराउने (सिएस) सेवा भने विगत १० वर्षदेखि नै अस्पतालमा हुँदै आएको छ। आकस्मिकतर्फ १० शड्ढया, आइसियु १०, वार्डतर्फ ४० र डाइलासिस पाँच शड्ढया छन्। त्यस्तै दन्त विभागमा ६, डे«सिङ, भिडियो एक्सरेलगायत अन्य सेवामा गरी सय शड्ढयाले पनि बिरामी धान्न गाह्रो भइरहेको छ।  

अस्पताल प्रशासन अधिकृत योगेश्वर खनालले भौतिक पूर्वाधार अभावमा अस्पतालले चाहेअनुसार सेवा दिन नसकिरहेको बताए। प्रदेश सरकारमातहतका अस्पतालमध्ये विराटनगरपछि सबैभन्दा धेरै र विश्वसनीय सेवा दिँदै आएको यो अस्पतालका लागि बहुकोठे, बहुतले भवन र केही जटिल खालका उपचार गर्ने यन्त्र उपकरणको खाँचो रहेको उनी बताउँछन्। खनालले अब सिटी स्क्यान, एमआरआई, अतिरिक्त एक्सरे मेसिन तथा आइसियु र भेन्टिलेटर सेवाको व्यवस्था गर्न अत्यावश्यक भइसकेको बताए।  

ती उपकरण र केही दक्ष जनशक्तिको व्यवस्थापन गर्न सके उदयपुरलगायत प्रदेशका माथिल्लो भेगका जनसमुदायलाई क्यान्सरबाहेक रोगको उपचारका लागि काठमाडौं, विराटनगर र धरान जानुपर्ने बाध्यता हट्ने खनाल बताउँछन्। तर, सरकारसँग पटकपटक कुरा राख्दा पनि बजेट व्यवस्थापन गर्न नसक्दा यी उपकरण खरिद गर्न नसकेको अधिकृत खनालले बताए।

प्रकाशित: २१ चैत्र २०८० ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App