१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

खोप लगाउन थाले चेपाङ

चितवनको पहाडी भूभागका चेपाङ समुदाय ‘दादुरा रुबेला’ को खोप लगाउन नआउने हुन् कि भन्ने चिन्ता स्वास्थ्य कार्यालय चितवनलाई थियो।

दादुरा रुबेला खोप अभियान, २०८० सञ्चालन गर्नुअघि फागुन ४ गते भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा कार्यालयले यसअघि खोप लगाउँदाको अनुभवका आधारमा भनेको थियो, ‘अझै पनि ग्रामीण भेगका मानिस अन्धविश्वासका कारण खोप लगाउन आउँदैनन्।’

यतिखेर भने कार्यालयले सोचेजस्तो भएन। इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा दादुरा रुबेलाको खोपमा उनीहरूको उत्साह जनक सहभागिता रह्यो।

‘यसअघि खोप लगाउन मान्दा रहेनछन्। अहिले खोपसम्बन्धी सचेतना बढेर होला, उपस्थिति राम्रो देखियो,’ स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले भने। कोरोना महामारी पछि चेपाङ समुदायमा खोपसम्बन्धी जनचेतना बढेको हुन सक्ने रूपाखेतीले बताए।

उनका अनुसार, चितवनमा ९० प्रतिशतले दादुरा रुबेलाको खोप लगाइसकेका छन्। चैत १ गतेसम्म शतप्रतिशतले खोप लगाउने विश्वास उनको छ। चितवनमा प्रत्येक विद्यालयमा खोप केन्द्र तोकिएको छ। जसकारण पनि समस्या नभएको उनको भनाइ छ।

चेपाङ समुदायमा कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस नै भएको थियो। ‘इच्छाकामना, राप्तीलगायत केही क्षेत्रमा धार्मिक गुरुले लगाउन अनुमति दिए लगाउनुहुन्थ्यो। अनुमति नदिए नलगाउने प्रचलन नै थियो,’ स्वास्थ्य कार्यालय चितवनका क्षय कुष्ठरोग अधिकृत जयराम दवाडीले भने, ‘यसपटक धार्मिक गुरु तथा जनप्रतिनिधिको सामूहिक प्रयासमा सहज रूपमै लगाउनुभयो।’

स्वास्थ्य कार्यालय चितवनले खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लामा रहेका ९८ वडामा वडाध्यक्षको अध्यक्षतामा खोप समन्वय समिति बनाएको थियो। एक लाख ६१ हजार जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जिल्लामा हालसम्म एक लाख ४६ हजार बालबालिकाले खोप लगाएका छन्।

स्वास्थ्य कार्यालय चितवनले यहाँका सातवटा स्थानीय तहमार्फत फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन गरेको छ। खोप अभियान दुई चरणमा सञ्चालन भइरहेको छ। पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा फागुन १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो।

दोस्रो चरणमा कालिका, रत्ननगर राप्ती र खैरहनी नगरपालिकामा फागुन २२ गतेदेखि सञ्चालन भइरहेको छ। यहाँ चैत १ गतेसम्म सञ्चालन हुनेछ। यो खोप नौ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई लगाइएको छ।

अभियानमा पाँच वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइएको अधिकृत दवाडीले जानकारी दिए।

खोप लगाउन जिल्लामा सात सयवटा खोप केन्द्र तोकिएको थियो। त्यसमध्ये अधिकांश विद्यालय रहेको उनले जानकारी दिए। उनका अनुसार कक्षा १० सम्म अध्ययनरत सबै बालबालिकालाई खोप थियो।

चितवन दादुरा रुबेलाको उच्च जोखिम रहेको जिल्लासमेत हो। यहाँ पछिल्लो पुस महिनासम्म ५२ जनामा दादुरा देखिएको थियो। जिल्लामा अझै आठ सय बालबालिका नियमित खोप लगाउन छुटेको उनले जानकारी दिए। नेपालमा बच्चाले नियमित १३ वटा खोप लगाउने गर्दछन्।

त्यसमध्ये अधिकांश डिपिटी, पिसिभी, आइपिभी खोप लगाउन छुटेको उनले बताए। उनका अनुसार जिल्लामा ४ प्रतिशत बालबालिका खोप लगाउनबाट पूर्ण वञ्चित छन्। १६ प्रतिशतले खोप पूर्ण पाएका छैनन् भने ८३ प्रतिशतले मात्र पूर्ण खोप लगाएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

१९ जिल्लामा एक हजार ३४९ जनामा दादुरा रुबेलाका बिरामी फेला परेपछि देशभर खोप लगाउन थालिएको हो। दादुरा रुबेलाका देखिने जिल्लामा चितवन पनि एक हो। बागमती प्रदेशमा राजधानीका तीन जिल्ला र चितवनमा यस रोगका बिरामी देखा परेका थिए। २०२६ मा यस रोगलाई निवारण गर्ने गरी खोप अभियान सञ्चालन गरिएको उनले बताए। गर्भवती, एड्स, कोमोलगायतका बिरामी, स्टोराइज औषधी खाएका बिरामीलाई यो खोप लगाइएको छैन।

प्रकाशित: २८ फाल्गुन २०८० ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App