१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ज्येष्ठ नागरिकलाई घरमै पुगेर नि:शुल्क स्वास्थ्य सेवा

नि:शुल्क स्वास्थ्य सेवा सुरू गर्नु अघि स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला। तस्बिर /नागरिक

विराटनगर महानगरपालिकाले ८० वर्ष माथिका  ज्येष्ठ नागरिकलाई घरमै  नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेको  छ। विराटनगरका १९ वटै वडाका ज्येष्ठ नागरिकलाई  आइतबार देखि घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको हो।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिमसमेत सञ्चालन गरेको छ। तालिम सञ्चालन गरेर स्वास्थ्य चेकजाँचका लागि आवश्यक पर्ने सामग्रीसमेत स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिएको छ। प्रत्येक वडामा दुई जना नर्सिङ कर्मचारीहरूलाई ज्येष्ठ नागरिकहरूको स्वास्थ्य चेकजाँच तथा परामर्शका लागि खटाइएको छ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूको ब्लड प्रेसर, सुगर, अक्सिजनको लेभलको जाँच, नेबुलाइजेसन सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, ड्रेसिङ, औषधि वितरणसहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए। 

घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित वडाका महिला स्वयम्सेविकासमेत परिचालन गरिने अलिले बताए। हरेक तीन महिनामा कम्तीमा एक पटक ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण उपचार सेवा उपलब्ध गराइने, घरमा जाँदा बिरामीलाई अस्पताल लैजानु पर्ने भएका  महानगरको एम्बुलेन्समार्फत नि:शुल्क सेवा दिनुका साथै सम्बन्धित अस्पतालमा समन्वयकारी भूमिका समेत महानगरले गर्ने अलिले बताए।

अभिमुखीकरण कार्यक्रममा मेयर कोइरालाले विराटनगरवासीको घरमै गएर सेवा दिने प्रतिबद्धताअनुरूप नि:शुल्क स्वास्थ्य सेवा सुरु गरिएको बताए। पहिलो तीन महिनाको समीक्षा गरेर आगामी दिनमा कार्यक्रम थप प्रभावकारी बनाएर लाने मेयर कोइरालाको भनाइ थियो। उपमेयर शिल्पा निराला कार्कीले नि:शुल्क स्वास्थ्य सुविधा लिनका लागि आफ्नो क्षेत्रका महिला स्वयंसेविकामार्फत वडा कार्यालय तथा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिने बताइन् । उनले महानगरले सञ्चालन गरेको कार्यक्रममा ८० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक समेटिने गरी काम गर्न निर्देशन दिइन्।

आइतबारदेखि नै ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर सेवा सञ्चालन गरिएको महानगरका स्वास्थ्य अधिकृत अमरदीप देवले जानकारी दिए। महानगर क्षेत्रभित्र २ हजार ३ सय २४ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन्। जसअन्तर्गत सबैभन्दा बढी वडा नम्बर ३ मा ३ सय ९० जना र सबैभन्दा कम १८ नम्बर वडामा २४ जना ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिक रहेको महानगरको तथ्याङ्कमा उल्लेख छ। 

प्रकाशित: २० फाल्गुन २०८० १९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App