१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

आँखाको ज्योति फर्किएपछि प्रसन्न छन् राउत दम्पती

तस्बिर : अनिल भणडारी

कमलामाई नगरपालिका १४ रानीबासका राउत दम्पती आँखाको ज्योति फर्किएपछि औधि खुसी भएका छन्। उनीहरूका आँखा धमिलो देखिन थालेको वर्षौं भएको थियो। आँखा धमिलो हुँदा दैनिक कार्यमा निकै असहज हुँदै आएको थियो।

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजनामा जानकी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा मोतियाविन्दु भएका वृद्ध दम्पतीका आँखाको शल्यक्रिया गरेसँगै आँखाको ज्योति फर्किएको हो।

कमलामाई नगरपालिका १४ रानीबासका ८० वर्षीय चित्रबहादुर राउत र उनकी श्रीमती ८१ वर्षीय ललितादेवी राउतका आँखामा ज्योति फर्किएसँगै उनीहरू खुसी देखिएका थिए। बुढेसकालमा भए पनि आँखाको ज्योति पाइयो, दुवै दम्पतीले हाँस्दै भने, ‘अहिले हामी प्रस्ट देख्न सक्छौं।’

मरिण गाउँपालिका छापका यमबहादुर भुजेलको एउटा आँखाको ज्योति हराएको वर्षौं भएको थियो, तर सोही शिविरमा आएर उनले शल्यक्रिया गरी दुवै आँखामा उस्तै ज्योति दिलाए। जिल्लामै सञ्चालित निःशुल्क शिविरमा आँखा शल्यक्रिया भएकोमा उनी खुसी व्यक्त गर्छन्।  

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र कमलामाई नगरपालिकाको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाअन्तर्गतको आँखा उपचार केन्द्रमा प्रत्येक महिना मोतियाविन्दुको शल्यक्रिया गरिँदै आएको छ।

जनकपुर आँखा अस्पतालका डा. आशिष बोहोराको नेतृत्वमा आँखाको शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ। ‘हामीले तीन दिनसम्म लगाएर एक सय नौजनाको शल्यक्रिया गरेका छौं’, रेडक्रस सभापति अशोक श्रेष्ठ भन्छन्, ‘अहिले सबैजना डिस्चार्ज भइसक्नुभएको छ। आवश्यकताअनुसार पुनः जाँच गर्छौं।  

पछिल्लो समय विषादी मिसिएका खानपान तथा अन्य कारणले मोतियाविन्दु समस्याका बिरामी धेरै हुने गरेका छन्। प्रमुख जिल्ला अधिकारी भरत खनालले शिविर सञ्चालन गरी आँखाको शल्यक्रिया गरी धेरै लाभान्वित हुनु सरहानीय कार्य भएको बताए।

‘विशेषगरी पछिल्लो समय ज्येष्ठ नागरिकमा मोतियाविन्दु समस्या धेरै छ, साथै जन्मजात आँखा नदेख्ने तर उपचारको सम्भावना भएका बिरामी पनि उपचारको पहुँचमा पुग्न नसकेकालाई शिविरले महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ’, उनले भने। यसअघि पनि रेडक्रसले सयौंको आँखा शल्यक्रिया गरिसकेको जनाएको छ।

प्रकाशित: १४ फाल्गुन २०८० ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App