१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविरमा २ हजार लाभान्वित

शिविरमा आँखा अप्रेसन गरेका बिरामीहरू। तस्बिर: महेश्वर

कटारी नगरपालिका-११ को बेतिनीमा आयोजित चार दिने निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै दुई हजार नागरिक लाभान्वित भएका छन्। बिकट र पहाडी भेगका नगरवासीलाई घर पायक स्वास्थ्य सेवा उपलब्ध गराउन बेतिनीमा शिविर आयोजना गरिएको हो।

भूतपूर्व गोर्खा सैनिकहरुको पहलमा बेलायतस्थित ‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज’ को आयोजना र कटारी नगरपालिकाको समन्वयमा सञ्चालित शिविरमा विभिन्न रोगबारे १ हजार ९ सय ४० जनाले फाइदा लिएका छन्।

आयोजकले जनाए अनुसार विशेषज्ञ चिकित्सकसहितको टोलीले शिविरमा बिरामीको स्वास्थ्य जाँच गराउँदै उपचार र आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।

शिविरमा स्त्री रोग जाँच गराउने ४ सय ७८ महिलामध्ये १० जनाको बच्चादाती (पाठेघर) खस्ने समस्या पत्ता लागेको छ। उनीहरुलाई तत्कालका लागि ‘रिङ प्रेसरी’ प्रविधिको उपचार गरि रोकथामको प्रयास गरिएको छ। केही समयपछि नै उनीहरुलाई शल्यक्रिया (अप्रेसन) गर्न सुझाइएको छ। अप्रेसन गर्दा निःशुल्क गराउने व्यवस्था मिलाइने बताइएको छ।

त्यसैगरी आँखा जँचाउने ९ सय ८० जनामध्ये ५५ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ। उनीहरुको शिविर स्थलमै सफल अप्रेसनको उपचार गराइएको छ भने अन्य बिरामीलाई आवश्यक औषधि र चस्मा निःशुल्क उपलब्ध गराइएको छ।

शिविरमा दाँतको चेकजाँच गराउने ५ सय ४ जनालाई पनि आवश्यक उपचार र औषधि निःशुल्क वितरण गरिएको छ। शिविरमा झण्डै १ हजार १ सय बढीको जेनेरल फिजिक्सको चेकजाँच गरी आवश्यक औषधि उपलब्ध गराइएको छ।

कटारीका १४ वटा वडामध्ये अधिकतर भूभाग पहाडी भेगका भएकाले दुर्गम र अविकसित अवस्थाका छन्। वडा नं. १ देखि २, ३, ४, ५, ६ र ७ बाहेक सबै वडा पहाडी दुर्गम र विकट क्षेत्रका छन्।

बिकट र दुर्गम भूभागका नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन केन्द्र स्थल ११ नं. वडा बेतिनीमा शिविर आयोजना गरिएको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।

प्रकाशित: १३ फाल्गुन २०८० १६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App