१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

महानगरको निःशुल्क उपचार प्रणालीमा ४१ अस्पतालका ३२३ शय्या जोडिए

काठमाडौँ महानगरपालिकाले निःशुल्क उपचार प्रणालीमा हालसम्म ४१ वटा अस्पताल आवद्ध भएको जनाएको छ। महानगरले ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ अनुसार हालसम्म महानगरभित्रका ४१ अस्पताल निःशुल्क उपचार प्रणालीमा आवद्ध भएका छन्।

महानगर क्षेत्र भित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पतालहरूलाई गत फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न पत्राचार गरिसकेको भन्दै महानगरले हालसम्म महानगरको निःशुल्क उपचार प्रणालीमा ४१ अस्पतालका ३२३ शय्या रहेका छन्।

महानगरले कोही नभएका र केही नभएकाले न औषधि किन्न सक्ने, न कुनै शुल्क तिर्न सक्ने व्यक्तिको सबै उपचार र त्यसमा लाग्ने खर्च निःशुल्क हुनुपर्ने भन्दै यो प्रणाली सुरु गरेको हो।

महानगरले लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याएको अनलाइन प्रणालीमा आवद्ध भएका ४१ अस्पताल बाहेक अन्य अस्पतालसँग पनि सम्पर्क र प्रणाली सञ्चालनका लागि पहल भइरहेको जनाएको छ।

संविधानले प्रत्याभूत गरेको स्वस्थ्य रहन पाउने मौलिक तथा नैसर्गिक हकको प्रत्याभूति गराउन काठमाडौँ महानगरपालिका प्रयत्नरत रहेको महानगरका मेयर बालेन शाहले बताएका छन्।

उनले राज्यकातर्फबाट नागरिकलाई दिइने सेवा सुविधाको न्यायोचित वितरणका लागि निर्माण गरिएका कानुनको पूर्ण कार्यान्वयन हाम्रो प्रतिवद्धता रहेको पनि बताए।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को ७० (घ) र काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ बमोजिम महानगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण अस्पतालहरूले कुल शैयाको १० प्रतिशत निःशुल्क उपचार सेवाका लागि उपलब्ध गराउनु पर्नेछ। यो सेवा नेपालका जुनसुकै भागबाट आएका व्यक्तिलाई पनि तोकिएको मापदण्डबमोजिम हुने महानगरले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०८० ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App