५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

‘गाउँका डाक्टर’ महिला स्वास्थ्य स्वयंसेविका

अघिल्लो वैशाख महिनामा जुम्लाको कनकासुन्दरी गाउँपालिका– ६ की लछिमा कामीकी १४ महिनाकी छोरी अञ्जुली कामी कुपोषण भइन्। उनी कडा कुपोषणले थला परिन्। अञ्जुलीको स्वास्थ्य अवस्था हेर्दा नाजुक थियो। सबैले आशा मारिसकेका थिए।

परिवारमा बचाउन सकिँदैन भन्ने भ्रम पर्याे। परिवारले गाउँमा धामीझाँक्रीलाई देखाउनेदेखि घरेलु प्राथमिक उपचार गरे, तर केही उपाय लागेन। जुम्लाको सदरमुकाम खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्म पुर्‍याउन सक्ने आर्थिक अवस्था नभएकाले लछिमालाई छोरीको छटपटहाट हेर्नुको विकल्प भएन।

नजिकैको स्वास्थ्य चौकीमा कुपोषणको उपचार हुने थाहा नपाएकी उनले गाउँकै महिला स्वास्थ्य स्वयंसेविकाबाट छोरीको उपचारको विकल्प पाइन्। ‘झिनो आशा पलायो,’ उनले भनिन्, ‘अब छोरीको उपचार हुने भयो।’

स्थानीय महिला स्वास्थ्य स्वयंसेविका निरमाया हमालले कनकासुन्दरी–५ मा पर्ने हाडसिंजा स्वास्थ्य चौकीमा तत्कालै सम्पर्क गराइदिएर अञ्जुली कामीलाई भर्ना गरिदिइन्। २४ दिन स्वास्थ्यचौकीमा राखेर उपचार गरेपछि अञ्जुलीको अवस्था सामान्य छ। हिँडडुल गर्नेदेखि बोल्ने भइसकेकी छन्।

‘गरिब, दिनदुःखीका डाक्टर त गाउँमै हुने रहेछन्। जसको सुझावले छोरी बाँच्न सकिन्,’ लछिमाले भनिन्। यस्तै कनकासुन्दरी–२ की एक वर्षीया बालिका शान्ति कामी राेगले थलिइन्। निकै दुब्ली र बिमारले ग्रसित शान्ति बाँच्ने आशा कसैलाई थिएन। 

परिवारले आशा मारिसकेकी महिला स्वास्थ्य स्वयंसेविकाले शान्तिलाई मञ्जाउमा रहेको स्वास्थ्य चौकीमा भर्ना गरिदिए। परिवारको आर्थिक अवस्था नाजुक भएकाले स्वास्थ्यचौकी पुर्‍याउनसमेत कठिन थियो। २४ दिन स्वास्थ्य चौकीमा राखेर उपचार गरेपछि उनी निको भइन्। अहिले स्वास्थ्य अवस्था निकै राम्रो छ। उनकी आमा राजु कामीले स्वयंसेविकाले बच्चा बचाइदिएकोमा निकै खुसी व्यक्त गरिन्।

उनले भनिन्, ‘ठूला डाक्टर भेटेर उपचार गर्ने त आस मरिसकेको थियो। गाउँकै स्वयंसेविकाले बच्चा बचाइदिइन् यसैमा खुसी छु। महिला स्वास्थ्य स्वयंसेविका गाउँका डाक्टर मात्र होइन, भगवान् पनि हुन्।’

कनकासुन्दरी– ६ की अर्की स्वयंसेविका रामु पछाई हरेक दिन गाउँका बिरामीलाई निगरानी गर्छिन्। बालबालिका र बुढापाकाको स्वास्थ्यमा प्रायः उनीहरू चासो राख्छन्। गाउँमा सामान्य चोटपटकदेखि अन्य बिरामी भए स्वयंसेविकाले अवस्था बुझेर सल्लाह दिने गरेको स्थानीय बताउँछन्।

बिरामीलाई सान्त्वना र हौसला दिएर उपचारका लाग्न पठाउने गरेको पछाईले बताइन्। उनको गाउँमा अहिले कुनै पनि गर्भवती घरमा सुत्केरी हुँदैनन्।

प्रकाशित: ९ फाल्गुन २०८० ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App