२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

दाँत मिलाउन तारको सट्टा ‘अलाइनर्स’ प्रविधि

दाँत शारीरिक स्वास्थ्यसँग जोडिएको महत्त्वपूर्ण अंग हो। सौन्दर्यको एक हिस्सा पनि हो। मिलेका दाँतका पंक्तिहरुले समग्र व्यक्तित्वमा नै प्रभाव पार्छ। टक्क मिलेका र सुन्दर दाँतले अनुहारको सौन्दर्यता झनै बढाउँछ।

धेरैले मानिसहरु आफ्ना नमिलेका र बाङ्गाटिङ्गा भएका दाँत मिलाउन चाहन्छन्। जस मध्य अधिकले प्रयोग गर्ने पारम्परिक प्रविधि हो ‘सिरेमिक ब्रेस’ अर्थात् दाँतलाई तारले बाँधेर मिलाउने प्रविधि।

यस प्रविधिमा दाँतमा तार लगाएर दाँतलाई सही ठाउँमा ल्याइन्छ। तर यसमा प्रयोग हुने तार सहजै बाहिर देखिने हुँदा त्यसले केही असहजता महसुस गराउँछ।

यी परम्परागत तरिकाको विकल्प हो, अलाइनर्स प्रविधि। अलाइनर्स भनेको दाँत ठिक गर्न प्रयोग गरिने एक प्रकारको दाँतको ब्रेस नै हो। तर यसमा तार वा ब्राकेटहरू प्रयोग गरिँदैन। यो प्लास्टिक आकारको हुन्छ। अलाइनर्सलाई अदृश्य ब्रेस पनि भनिन्छ।

नेपालमा केही दन्त क्लिनिक र ओर्थोडोन्टिस्टहरूले अलाइनर्स प्रदान गर्दछन्। अलाइनर्स पारम्परिक धातु वा सिरेमिक ब्रेसको विकल्प हो। जसले दाँतको अलाइनमेन्ट सुधार्न चाहने मानिसहरूलाई अधिक गोप्य र आरामदायक विकल्प प्रदान गर्छ। अलाइनर्स प्रविधिबाट नमिलेका दाँत सहजै मिलाउन सकिन्छ।

वीर अस्पतालका अर्थोडेन्टिष्ट डा. मनीष बज्राचार्यका अनुसार यस प्रविधिबाट उपचार गराउन सबैभन्दा पहिले दाँतको स्थितिबारे जाँच गरिन्छ।

दाँतको स्थितिबारे जानकारी लिन दाँतको डिजिटल स्क्यान गरिन्छ। स्क्यान गरिसकेपछि त्यसलाई थ्रिडी प्रिन्टरको साहायतामा प्रिन्ट गरिन्छ।

थ्रिडी प्रिन्टमा विशेष प्रकारको प्लास्टिकबाट अलाइनर्स बनाइछ र दाँतमा फिट गरिन्छ। डा. बज्राचार्यका अनुसार यसलाई अवस्था हेरेर ४ देखि ६ महिनामा परिवर्तन गर्न सकिन्छ।

अलाइनर्सको उत्पादन नेपालमै हुन थालेको ४ देखि ५ वर्ष भइसकेको छ। तर यसबारे धेरैलाई जानकारी नभएको उनी बताउँछन्। ‘यस प्रविधिबारे धेरैलाई थाहा नहुँदा यसको प्रयोग गर्नेका संख्या पनि न्यून छ।’ उनी भन्छन्। 

यो प्रविधिबाट उपचार गराउँदा नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त विशेषज्ञबाट मात्र गराउनुपर्ने उनी सुझाउँछन्। ‘अन्यथा दाँत तथा हड्डीमा नराम्रो असर पुर्याउन सक्छ। दाँत खिइने हुन सक्छ। तसर्थ विशेषज्ञबाट मात्रै यसको उपचार गराउनु पर्छ।’

विदेशमा धेरै नै महँगो यो उपचार पद्धति नेपालमै उत्पादित भएको हुँदा विदेशको तुलनामा भने कम खर्च लाग्छ। तर यो प्रविधि ब्रसेज (दाँत बाँध्ने प्रविधि) को तुलनामा भने महँगो पर्न जान्छ।

‘महँगो भएकै कारण विपन्न नागरिकका लागि फलदायी नहुन सक्छ। सोही कारण सरकारी अस्पतालमा यो सेवा अझै  सुचारु हुन सकेको छैन।,’ उनले भने।

यसअघि वीर अस्पतालको एक बिरामीलाई निःशुल्क यो सेवा दिइएको थियो। 

नेपालमा सरकारी अस्पतालमा सुरु हुन नसके पनि यो सेवा लिन चाहानेहरुका लागि केही निजी क्लिनिकमा सेवा उपलब्ध छ ।

‘जसलाई फुर्सद हुँदैन, मिटिङ तथा अन्य कार्यक्रममा सहभागी भइरहनुपर्छ, उनीहरूको लागि उचित यो उपचार प्रविधि सहज हुन सक्छ,’उनी भन्छन्।

प्रकाशित: ८ फाल्गुन २०८० ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App