१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

४१ वर्षमा ७७ लाखभन्दा बढी बिरामीका आँखा उपचार

४१औं वार्षिकोत्सवमा सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीबाट सम्मान ग्रहण गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह। तस्बिर : नागरिक

लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पतालबाट साढे ७७ लाखले उपचार सेवा लिएका छन्। लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार ४१ वर्षको अन्तरालमा यस अस्पतालबाट देशविदेश गरी ७७ लाख ६९ हजार १ सय १० जनाले आँखा उपचार गराइसकेका छन्। यस अवधिमा १३ लाख ८४ हजार ९ सय ४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

गत वर्ष अर्थात् ४० वर्षसम्म सगरमाथा चौधरी आँखा अस्पतालमा ७१ लाख ९८ हजार १ सय ५ जना बिरामीकाआँखा उपचार गरिएको थियो। यस अवधिमा अस्पतालले १३ लाख २२ हजार १ सय २७ आँखा बिरामीको शल्यक्रिया गरेको थियो। लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत मधेस प्रदेशमा सगरमाथा चौधरी आँखा अस्पताल र कोशी प्रदेशमा विराटनगर आँखा अस्पताल छन्। बागमती प्रदेश, कोशी प्रदेश र मधेस प्रदेशमा ३१ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन्।

४१ वर्षमा सगरमाथा चौधरी आँखा अस्पतालले १३ लाख ८४ हजार ९ सय ४ आँखाका बिरामीको शल्यक्रियामार्फत दृष्टि फर्काइदिएको सोही अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले बताए। अस्पतालले सुविधासम्पन्न आधुनिक भवनबाट उपचार सेवा दिन थालेको एक वर्ष भएको छ। त्यहाँ जनरल फिजिसियन सेवादेखि आँखाका सम्पूर्ण जाँच तथा उपचार र आवास व्यवस्था उपलब्ध छ।

प्रबन्धक रोशनका अनुसार भवनमा २८ वटा ‘डिलक्स रुम’ छन्। ‘यहाँ उपचारका लागि चाहिने उपकरणदेखि अन्य सुविधा पनि स्तरीय छ’, उनले भने। प्रबन्धक रोशनका अनुसार देशका सबै जिल्ला, भारत, बंगलादेश, भुटानलगायत देशबाट पनि आँखाका बिरामी आउने गरेका छन्।

भारतमा विश्वकै पहिलो र दोस्रो ठुलो आँखा अस्पताल छ, तर भारतीय बिरामीसमेत उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल आउने गरेको प्रबन्धक रोशनको भनाइ छ।

भारतमै थुप्रै अस्पतालले आँखा उपचार सेवा गर्दै आए पनि भारतीय बिरामीमाझ सगरमाथा चौधरी आँखा अस्पतालको उपचारप्रति विश्वास रहेको त्यहाँबाट आउने बिरामीको भीडले पुष्टि गर्छ। ‘सगरमाथा चौधरी आँखा अस्पतालले सगरमाथाजस्तै नेपालको नाम विश्वभर फैलाइरहेको छ’, समाजसेवी लगनलाल चौधरीले भने।

‘प्रायः हुनेखाने नेपाली स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडन्छन्। तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्नुले यसको गुणस्तरीयतालाई पुष्टि गर्छ’, उनले भने। लहानका प्रायः सबै अस्पतालमा विवाद भएको पाइन्छ। जबर्जस्ती बिरामी रोकेर गलत उपचार गरेर दुर्घटना भएको पाइन्छ, तर यस अस्पतालले लहानको मात्र नभई देशकै नाम चम्काइरहेको उनले बताए।

शल्यक्रियाका आधारमा विश्वमै अब्बल यो आँखा अस्पताल मधेस प्रदेश लागि ‘चिकित्सा पर्यटन’ को बलियो स्रोत भएको नेपाल नेत्र ज्योति संघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद पोखरेलले बताए। पोखरेलले भने, ‘नेपाल नेत्र ज्योति संघअन्तर्गतका आँखा अस्पतालहरू जोड्ने हो भने विश्वमै पहिलो आँखा अस्पताल हाम्रो हुन्छ। मुलुकमा यो अस्पताल अब्बल स्थानमा छ।’

अहिलेसम्म कुनै विवादमा नपरेको उक्त अस्पतालमा दैनिक आउने बिरामीमा नेपाली र विदेशीको संख्या बराबरी छ। विदेशी बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय हुन्छन्। यस प्रकारको चिकित्सा पर्यटन (मेडिकल टुरिजम) ले मधेस प्रदेशको व्यापार मात्र होइन, गौरव पनि बढाएको मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले बताए। ‘यो अस्पताल मधेस प्रदेशको त हो नै देशकै गहना हो’, उनले भने, ‘मानव सेवाको स्वयंसेवकीय भाव यस अस्पतालबाट सिक्नु पर्छ।’

सन् १९८३ मा स्थापित यो अस्पताल बिरामीले तिर्ने न्यूनतम शुल्क र दातृ संस्थाको सहयोगबाट चलिरहेको छ। सन् १९८३ मा यो अस्पतालले १७ हजार ३ सय ४८ जना बिरामीका आँखा उपचार गरेको थियो भने १ हजार ६ सय ३१ जनाका आँखा शल्यक्रिया गरेको थियो।

यस अस्पतालमा मुलुककै १५ उत्कृष्ट आँखा रोग विज्ञसहित झन्डै ४ सय चिकित्सक एवं प्रशासनिक कर्मचारी कार्यरत छन्। यस अस्पतालमा यस वर्ष जँचाउन आउने बिरामीको संख्या ५ लाख ७७ हजार ३ सय ९६ र शल्यक्रिया गराउनेको संख्या ६२ हजार ५ सय ७७ छ। अस्पताल प्रशासनका अनुसार यस वर्ष ४३ हजार ५ सय ४१ मोतियाविन्दु बिरामीको शल्यक्रिया गरिएको छ। यस वर्ष कोर्निया प्रत्यारोपण गराउनेको संख्या १४९ छ। गत वर्ष २४ जना मात्र थियो।

यस अस्पतालमा फेको प्रविधिमार्फत गरिने मोतीविन्दुको शल्यक्रिया यसै अस्पतालका संस्थापक निर्देशक डा. एलब्रेच्ट हेनिङको आविष्कार हो। यो प्रविधि विश्वभरका नेत्रविज्ञहरूले प्रयोग गर्दै आएका छन्। यो अस्पतालमा जाँचका लागि आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका अध्यक्ष चौधरीले गुणस्तरीय उपचार मात्र नगरे वार्षिक ३ करोड रुपैयाँबराबरको निःशुल्क सेवासमेत दिँदै आएको बताए। लहान र विराटनगर आँखा अस्पतालले वार्षिक डेढ–डेढ करोड रुपैयाँबराबरको च्यारिटीमा उपचार गर्दै आएको उनले बताए। अन्धोपन निवारण आफूहरूको मूल मन्त्र भएको उनले बताए।

प्रकाशित: २९ माघ २०८० ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App