१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

निःशुल्क आँखा शिविरमा पाँच सय लाभान्वित

आँखा शिविरमा उपचारार्थ आएका स्थानीय। तस्बिर: महेश्वर/ नागरिक

उदयपुरको कटारी नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा झण्डै पाँच सय जनाले उपचार सेवा पाएका छन्। शुक्रबारदेखि आइतबारसम्म सञ्चालित शिविरमा कटारी र आसपास क्षेत्रका नागरिकले उपचार सेवा पाएका हुन्। 

कटारी नगरपालिकाको सहयोगमा सञ्चालित शिविरमा बालबालिकादेखि वृद्ध-वृद्धासम्म सबै उमेर समूहले सेवा पाएको आयोजक स्थानीय साथी समूह कटारीले जनाएको छ। समूहका अध्यक्ष विजय दनुवारका अनुसार शिविरमा आँखा जँचाउने मध्ये ६१ जना मोतिया विन्दुका बिरामी फेला परेका छन्।

शिविरमा रतन्धो, मोतिया विन्दु, फुला परेको तथा आँखामा मासु पलाएको जस्ता विभिन्न किसिमका बिरामीको उपचार गरिएको छ। शिविरमा ४ सय ५३ जनाले आँखा जाँच गराउनुका साथै आवश्यक उपचार सेवा पाएको साथी समूहका सचिव राजकुमार थापा क्षेत्रीले जानकारी दिए। जसमध्ये मोतिया विन्दुका ६१ बिरामीलाई भने तत्काल शल्यक्रिया (अप्रेसन) गर्न चिकित्सकले सुझाएका छन्।

मोतिया विन्दुका बिरामीमध्ये २५ जनालाई तत्काल अप्रेसनका लागि आइतबार अस्पताल जान सुझाइएको छ। अस्पताल हिँडेका उनीहरुलाई नगर उपप्रमुख गीता खड्काले सोमबार बिहान बिदाइ गरेकी छिन्।

बिरामीको निःशुल्क अप्रेसनसहितको उपचार गर्ने जिम्मा लिएको नवदृष्टि आई हस्पिटल इटहरीले शिविरमा आँखा रोग विशेषज्ञसहितको टोलीले शिविरमा प्राविधिक सहजीकरण गरेको आयोजकले जनाएको छ।

अध्यक्ष अधिकारीका अनुसार शिविरमा आँखा जाँच तथा उपचारका लागि निःशुल्क फारम भर्ने तथा औषधि र चस्मालगायत उपकरणहरु पनि निःशुल्क वितरण गरिएको छ। शुक्रबार एक कार्यक्रमका बिच कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गीता खड्काले आँखा जाँच गर्दै शिविर उद्घाटन गरेका थिए।

मेयर श्रेष्ठले सबै नगरवासीको स्वास्थ्यमा पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता शिविरहरू सञ्चालन गर्न नगरपालिकाले बजेट व्यवस्था गरेको बताए। स्वास्थ्य जीवन भए मात्र प्रगति र उन्नति गर्न सकिने भएकाले नगरवासीलाई स्वास्थ्य र तन्दुरुस्त राख्न कुरामा कटारी नगरपालिका संवेदनशील रहेको उनको भनाई छ।

शिविरमा कटारी नगरपालिकाका १४ वटै वडा, आसपासका गाउँपालिकाहरु ताप्ली र उदयपुर गढी तथा छिमेकी जिल्ला सिन्धुली र सिराहाका विभिन्न ठाउँबाट समेत आँखा जाँच गर्न सर्वसाधारण भेला भएको आयोजकले जनाएको छ।

प्रकाशित: २२ माघ २०८० १५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App