१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जका बिरामीले अब भारतीय विशेषज्ञबाट उपचार पाउने

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आयोजित कार्यक्रम। तस्बिर: अर्जुन/नागरिक

नेपालगन्ज आउने बिरामीले भारतका विशेषज्ञ चिकित्सकबाट उपचार पाउने भएका छन्। नेपालगन्ज मेडिकल कलेज र भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालबीच सेवा दिने विषयमा समझदारी भएको छ।

मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र अपोलो मेडिक्स अस्पताल भारतका प्रबन्ध निर्देशक डा. मयंक सोमानीबीच उक्त सेवा प्रदान गर्ने विषयमा हस्ताक्षर भएको हो। 

२०५३ सालमा स्थापना भएर नेपालको स्वास्थ्य तथा चिकित्सा विज्ञान क्षेत्रमा सेवा प्रदान गर्दै आएको मेडिकल कलेजले भारतको लखनउसम्म आफ्नो सेवालाई बिस्तार गरेको छ। यसबाट बिरामीले निःशुल्क सुपरस्पेशालिटी परामर्श-उपचारको सेवा आफ्नै सहरमा पाउने, उत्कृष्ट विश्वस्तरको स्वास्थ्य सेवा पाउने लगायत विश्वास गरिएको छ।

दुवै अस्पताल बीचको सहकार्यमा यहाँ केही निःशुल्क उपचारका साथै विभागीय विषयका सेमिनार तथा यहाँ कार्यरत चिकित्सकसँग अन्तरक्रिया गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ। समझदारी अनुसार शनिबारदेखी नै सेवा सुरु गरिएको छ।

अपोलो मेडिक्स अस्पतालसँगको सहकार्यमा मेडिकल कलेजले नेपालगन्जमै बिरामीलाई विशिष्टकृत सेवाहरु क्यान्सर रोग, आई.भि.एफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गर्नेछ। 

बिरामीलाई आवश्यक पर्ने सेवा प्रभावकारी बनाउन मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा निःशुल्क ओ.पि.डि सेवा दिने भएको छ। यसका लागि हरेक शनिबार मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अपोलो मेडिक्स अस्पतालका विशेषज्ञ डाक्टर आएर बिरामीको स्वास्थ्य जाँच गर्नेछन्।

शनिबार नै अपोलो मेडिक्स अस्पतालकी विशेषज्ञ डाक्टर राधिका बाजपेईले कृत्रिम गर्भाधान (आईभिएफ) उपचार प्रदान गरेको मेडिकल कलेजले जनाएको छ। यस्तै आगामी शनिबार क्रमशः मुटु शल्यक्रिया, प्लाष्टिक सर्जरी, मुटुरोग, क्यान्सर सर्जरी लगायत सेवा अपोलो मेडिक्स अस्पतालका डाक्टरमार्फत प्रदान गर्ने तयारी रहेको लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए।

मेडिकल कलेज शिक्षण अस्पतालमा हुन नसक्ने सेवाहरु मात्र अपोलो अस्पताल लखनऊ बिरामीको आवश्यकता अनुसार रिफर हुन सक्ने बताइएको छ। 

‘अपोलो अस्पताल लखनउमा रेफर भएका बिरामीले पहिलो फलोअपमा निःशुल्क सेवा पाउनेछन्, यस्तै दोस्रो फलोअपबाट बिरामीले ओ.पि.डि चार्जमा २० प्रतिशत छुट पाउनेछन्,’ सहायक निर्देशक डा. कनोडियाले भने ‘बिरामीले अपोलो अस्पताल लखनऊमा हुने ओ.पी.डी पर्चामा ल्याब र रेडियोलोजी परीक्षणमा २० प्रतिशत छुट पाउनेछन्।’

बिरामी भर्ना हुनुपरेमा अपोलो अस्पतालमा हुने ल्याब र रेडियोलोजी परीक्षण, आई.पि.डि बिल र अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउने बताइएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट लिएको आधिकारिक रेफरल कार्ड देखाएमा मात्र बिरामीले सुविधा पाउने सम्झौता भएको छ।

मेडिकल कलेजले शनिबार आयोजना गरेको औपचारिक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. कनोडिया, अपोलो मेडिक्स अस्पताल भारतका प्रबन्ध निर्देशक डा. मयंक, नेपालगन्ज मेडिकल कलेजका प्रिन्सिपल डा. अनुप शर्मा लगायतले दुई अस्पतालबीचको यस्तो समझदारीले नेपाली नागरिकले सहज रुपमा गुणस्तरीय उपचार पाउने विश्वास गरे।

प्रकाशित: २० माघ २०८० १७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App