१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप सय स्थानीय तहमा दोस्रो चरणको क्षयरोगमुक्त नेपाल अभियान सुरु

दोस्रो चरणको क्षयरोगमुक्त नेपाल अभियानको शुक्रबार शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत। तस्बिर: ध्रुव/नागरिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको क्षयरोगमुक्त नेपाल अभियान शुक्रबार शुभारम्भ गरेको छ। 
 
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सदरमुकाम चौतारामा आयोजित एक कार्यक्रमबीच दोस्रो चरणको अभियानको शुभारम्भ गरे। तत्काल क्षयरोग न्यूनीकरण गर्दै नियन्त्रणसम्म गर्ने उद्देश्यले मन्त्रालयले तीन वर्षअघि २५ स्थानीय तहबाट पहिलो चरणको अभियान सुरु गरेको थियो। 
 
दोस्रो चरणमा थप एक सय स्थानीय तहमा अभियान बिस्तार गरिएको मन्त्रालयले जनाएको छ। योसमेत अभियान ६६ जिल्लाका १ सय २५ स्थानीय तहमा बिस्तार भएको छ। ‘तेस्रो र चौथो चरणमा ७७ वटै जिल्लाका सबै स्थानीय तहमा अभियान पु¥याउँछौँ,’ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले भने। 
 
उनका अनुसार दोस्रो चरणको अभियानका लागि मन्त्रालयले चालु वर्ष २०८०÷८१ को लागि जिल्लास्थित स्वास्थ्य निकाय र स्थानीय तहमार्फत खर्च हुने गरी २७ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘९५ प्रतिशत बजेट स्थानीय तहमार्फत खर्च हुन्छ,’ निर्देशक डा. श्रेष्ठले भने। 
 
तीनै तहका सरकार र समुदायको साझेदारी तथा प्रत्यक्ष संलग्नतामा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको केन्द्रले जनाएको छ। पहिलो चरणको अभियान अन्तर्गत गत आर्थिक वर्षमा स्थानीय तहले यो कार्यक्रममा १ करोड ४१ लाख रुपैयाँ खर्च गरेका थिए। यो वर्ष स्थानीय तहले गर्ने खर्च बढ्ने मन्त्रालयको विश्वास छ। 
 
केन्द्रको तथ्याङ्क अनुसार प्रति १ लाख जनसंख्यामा २ सय २९ क्षयरोगी भेटिने गरेका छन्। एक वर्षमा ६९ हजार क्षयरोगी पत्ता लगाउनु पर्ने अवस्था रहेको छ। ‘तर प्रतिवर्ष ३७ हजार मात्र रोगी पत्ता लगाएको अवस्था छ,’ श्रेष्ठले भने। जनसंख्याको चाप भएका बागमती, मधेस र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै क्षयरोगी पहिचान भइरहेको उनले जानकारी दिए। उनका अनुसार भारतसँग सीमा जोडिएका जिल्लामा क्षयरोगीको भार बढी देखिएको छ। 
 
कुपोषण, धूम्रपान र मदिरा सेवन गर्ने व्यक्ति, सुगरका रोगी, तथा एचआइभी प्रभावित क्षयरोगको उच्च जोखिम वर्गमा रहेकाले अभियानले उनीहरूलाई समेत केन्द्रमा राखेर काम गरिरहेको छ। सन् २०३५ सम्म क्षयरोग महामारीलाई नियन्त्रण गर्ने र सन् २०५० सम्म अन्त्य गर्ने विश्वव्यापी लक्ष्यलाई नेपालले आत्मसाथ गरेकाले क्षयरोगमुक्त अभियान चलाएको स्वास्थ्य सेवा विभागकी महानिर्देशक संगिताकौशल मिश्र बताउँछिन्। 
 
सामुदायिक संलग्नतामा क्षयरोग न्यूनीकरण गर्ने प्रयास भइरहेको बताउँदै उनले यसमा लगानी गर्न स्थानीय तहलाई आग्रह गरिन्। ‘यो अभियान उच्च राजनीतिक प्रतिबद्धता प्राप्त कार्यक्रम भएकाले यसको प्रगति सिधै प्रधानमन्त्रीको कार्यालयमा रिपोर्टिङ गर्ने व्यवस्था गरिएको छ,’ मिश्रले भनिन्। 
 
दोस्रो चरणमा सिन्धुपाल्चोकको बाह्रबिसे, चौतारा नगरपालिका र हेलम्बु गाउँपालिका अभियानमा समेटिएका छन्। चालु वर्षमा यी स्थानीय तहलाई क्रमशः २८, ३३ र २१ लाख रुपैयाँ बजेट छुटाइएको केन्द्रले जानकारी दिएको छ। उसका अनुसार अभियानले परम्परागत खकार जाँचको सट्टा छातीको एक्स-रे गरेर क्षयरोग पहिचान गरिरहेको छ। 

प्रकाशित: १९ माघ २०८० १९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App