१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

न कमाइ हातमा न मिर्गाैला साथमा

धन कमाउन विदेश गएको व्यक्ति मिर्गाैला गुमाएर फर्कनुपर्दा कस्तो अनुभूति होला ? नुवाकोटका २२ वर्षीय एक युवक (पीडितको अनुरोधमा परिचय र ठेगाना लुगाइएको) ले त्यस्तै नियति भोग्नुपरेको छ।

राम्रो कमाइ गर्ने सपना बोकेर बिदेसिएका ती युवक न हातमा कमाइ न साथमा मिर्गाैलाको हालत लिएर स्वदेश फर्केका हुन्। बुढी आमाको सहारा बन्नुपर्ने उनी अहिले अरूको सहारामा बाँच्न विवश छन्।

दुई वर्षअघि राम्रो कमाइ हुने प्रलोभनमा परेर उनी भारत पुगेका थिए। त्यहाँ झुक्यानमा परेर उनले मिर्गौला गुमाउनुपर्‍यो। भारत गएको तीन महिनामै उनी नेपाल फर्केका हुन्। परिवारका सदस्यले उनको मिर्गाैला हराएको थाहा पाएका थिएनन्।

भान्जासँग खेल्दै गर्दा दुखाइले उनी चिच्याएपछि मात्र यो तथ्य खुलेको थियो। ‘भारतबाट सालो आएको खबर पाएका थियौं,’ युवकका भिनाजु (परिचय लुकाइएको) ले नागरिकसँग भने, ‘मेरो छोराको जन्मदिन मनाउन उनलाई बोलाएका थियौं। मामाभान्जा आपसमा चल्दै थिए। एक्कासि ऐया भने। भान्जाले मामाको पेटतिर कुल्चिएको रहेछ। सालो मुर्छा परिरहेको थियो। मेरी श्रीमतीले के भयो भनेर सालोको कपडा माथि सार्दा त अपरेसन गरेको दाग देखियो। त्यो देखेर हामी सबै अत्तालियौं।’

परिवारले सोधीखोजी गर्दा युवकले घटनाको बेलिविस्तार लगाएका थिए। परिवारका अनुसार भारत पुगेको केही समयपछि रगत जाँच गर्ने भनेर युवकलाई अस्पताल लगिएको थियो। रगत जाँचका नाममा लठ्याउने सुई (एनेस्थेसिया) दिएर शल्यक्रिया गरिएको थियो। पछि उनी ब्युँझेपछि सानो पत्थरी भएको रहेछ, शल्यक्रिया गरेर निकालियो भनिएको रहेछ।

‘घाउ निको हुन समय लाग्ने रहेछ,’ युवकले परिवारसँग भनेका थिए, ‘अरू केही भएको छैन।’ तर परिवारका सदस्य युवकको भनाइ मान्न तयार भएनन्। परिवारले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर उजुरी दिएर जाँच गर्दा युवकको एकापट्टिको मिर्गाैला नै नभएको तथ्य सामुन्ने आयो।

कमजोर आर्थिक अवस्था भएका ती युवकले गाउँघरमा बिहेबटुलोमा बाजा बजाउने गरेका थिए। उनको पढाइलेखाइ शून्य थियो। उनका बुवा १४ वर्षअघि नै बितेका थिए। उनी परिवारका पाँच दिदीबहिनीका एक्ला भाइ हुन्। घरको आर्थिक भार थाम्ने ती युवकको काँध अहिले कमजोर भएको छ।

एउटा व्रतबन्धमा बाजा बजाउन गएका बेला उनलाई विदेश जाने सपना एक आफन्तले देखाएका थिए। युवकलाई भारतको कोलकातामा मःम रेस्टुरेन्टले मासिक ३० हजार तलबसहित खानबस्न दिने प्रलोभन दिएका थिए।

गाउँमा ‘बाँदरे’ उपनामले चिनिने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीले युवकलाई विश्वासमा पारी भारत लगेका थिए। भारतमा काम गरेबापत ठुलो आम्दानी हुने आश्वासन दिएर तिनले युवकलाई कोरोना जाँच गर्न भन्दै काठमाडौं बोलाएका थिए। खासमा तिनलाई यसरी काठमाडौं बोलाउनुको कारण भने रक्त समूह पत्ता लगाउनु थियो।

काठमाडांै आएसँगै नाम थाहा नभएको नयाँ बसपार्कको एक मेडिकलमा लगेर युवकको रगत जाँच गरियो। युवकको रगत समूह थाहा पाएपछि भारत पुर्‍याउने दलालले युवकलाई काम पक्का भइसकेको भनेर लिएर गएका थिए।

बुढी आमालाई घरै छाडेर युवक भारततर्फ लागे। दलालहरूले उनलाई काठमाडौंबाट काँकडभिट्टा हुँदै रात्रिबसमा चढाएर कोलकाता पुर्‍याएका थिए। त्यहाँ मुकुन्दपुरस्थित रवीन्द्रनाथ टैगोर अस्पतालमा मिर्गौला फेल भई उपचाररत अनिश खड्का नामक व्यक्तिलाई युवकको मिर्गौला प्रत्यारोपण गरिएको दाबी परिवारजनले गरेका छन्। यसलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले समेत पुष्टि गरेको छ।

‘भारत पु¥याएका एजेन्टहरूले भाइलाई त्यही अस्पतालमा दुई साता राखेका रहेछन्,’ युवककी दिदीले भनिन्, ‘भाइका साथीहरूले केही समय काममा पनि लगाइदिएका रहेछन्। भाइ भारत जानुअघि कस्तो मोटोघाटो र खाइलाग्दो थियो।

धेरै बिरामी परेर नेपाल फर्किएको रहेछ। सुरुमा भेट्दा त हाम्रै भाइ हो र भनेजस्तो भयो। भाइको अवस्था देखेर आमा धेरै रुनुभयो।’ उनले थपिन्, ‘भाइ दुब्लो र कालो भएर आएको देखेर हामीलाई शंका लाग्यो। त्यसपछि मानव बेचबिखन अनुसन्धान ब्युरोमा पीडित पक्षले उजुरी दिएर चेकजाँच गर्दा भाइको एउटा मिर्गाैला नै थिएन। परिवारमा रुवाबासी भयो।’  

परिवारको हेरचाह गर्ने मान्छे भारत गएर फर्कंदा यस्तो बेहाल भएको छ। अहिले आमा र बिरामी भाइ दुवैलाई पाल्नुपरेको युवककी दिदीले बताइन्। ‘माइती भन्नु त्यही मात्रै थियो। भाइको अवस्था धेरै नाजुक छ। आमा पनि मधुमेहले थलिनुभएको छ,’ उनले भनिन्, ‘आमा गाउँमा जाने अवस्था छैन। भाइलाई त्यस्तो अवस्थामा पुर्‍याउने गाउँकै व्यक्तिलाई ब्युरोले अहिले पक्राउ गरेर थुनामा राखेको छ। पक्राउ परेका परिवारले फोन गरेर सधैं धम्की दिने गरेको छ। नचिनेको नम्बरबाट फोन आउँदा डर लाग्छ।’

‘गाउँमा खेती गर्न बितेको छ। तर आमा घर जान डराउनुहुन्छ। घरमा सबैजना आएर तिमीहरूले गर्दा फलानो पक्राउ परेका छन् भन्छन्। हामीले फलानोले भारत पुर्‍याएर मिर्गाैला बेचेको पनि भनेका होइनौं। ब्युरोको अनुसन्धानका क्रममा गाउँकै मानिसहरू पक्राउ परेका हुन्। हामी गाउँ जाने अवस्थै छैन। सबै जना काठमाडौंमा डेरा लिएर बसेका छौं,’ युवककी दिदीले भनिन्।

गैरकानुनी ढंगले मानव अंग बेचबिखनको अपराध गरेको आरोपमा उजुरीपछि मानव बेचबिखन अनुसन्धान ब्युरोले मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीलाई पक्राउ गरेको छ।

ब्युरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीका अनुसार गरिबी र अशिक्षासँग जुधिरहेका उनीजस्ता युवालाई आर्थिक प्रलोभनमा पारेर भारत लगी मिर्गाैला झिक्ने गरिएको छ। काम लगाइदिने भन्दै सर्वसाधारणलाई यस्तो बिचल्लीमा पार्नेहरूविरुद्ध सजग हुनुको विकल्प छैन। गाउँमा यस्ता दलाल सजिलै घुमिरहेका भेटिन्छन्।

‘अर्काको देखासिकीमा युवाहरू विदेश जान्छन्,’ प्रवक्ता पंगेनी भन्छन्, ‘उत्कृष्ट मासिक तलबको प्रलोभनमा आफ्नो शरीरको अंग गएको थाहै पाउँदैनन्।’ उनका अनुसार नुवाकोटका विभिन्न गाउँमा धेरैले मिर्गौला गुमाएका छन्।

एकले मिर्गाैला गुमाएपछि अर्कोलाई पनि फसाउने गरिएको छ। एउटै मिर्गाैलाले बाँचिन्छ भने किन चाहियो दुइटा भन्दै बेच्न प्रेरित गर्ने गरिएका पाइन्छ। यस्तो विषम स्थितिबाट जोगिन गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको पंगेनीले बताए।

२०७५-७६ देखि यही माघ १५ गतेसम्म ब्युरोले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ६७७ जनालाई उद्धार गरेको छ। नेपाल प्रहरीले पनि यस्तो पीडामा परेका १ हजार ४४९ जनाको उद्धार गरिसकेको छ।

नेपालभरिबाट यस्ता मुद्दामा १ हजार ३५१ जना पीडक पक्राउ परेको ब्युरोले जनाएको छ। कमाउने आशाले विदेश जान खोज्नेलाई बन्धनमा पारेर मानव अंग बेचबिखनसमेत गर्न थालेपछि वैदेशिक रोजगारीमा अरू विकृति देखिन थालेको छ। अहिलेसम्म मानव बेचबिखन तथा ओसारपसारमा पीडित व्यक्तिको संख्या १ हजार ६६५ पुगिसकेको छ।

प्रकाशित: १७ माघ २०८० ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App