२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

शतप्रतिशत बालबालिका पूर्ण खोपको पहुँचमा

म्याग्दीका सबै उमेर समुहका बालबालिकाले नियमित खोप लगाउने गरेको पाइएको छ। राष्ट्रिय खोप तालिकामा समावेश भएका खोपहरू १५  मुनि र १६ महिनादेखि पाँच वर्षभित्रका बालिबालिकाले नियमित खोप सेवा लिने गरेको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।

जिल्लाका ६ वटै स्थानीय तहका ४५ वडालाई १५ महिनामुनिका १७ सय १२ र १६ महिनादेखि ५ वर्षमुनिका ४४ सय २१ जना बालबालिका खोप अभियानको नियमित पहुँचमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका कोल्डचेन सुपरभाइजर विरेन्द्रकुमार चौधरीले बताए।

‘विशेष धर्मका नाममा खोप नलगाएका दुईजना बालबालिकालाई समेत अघिल्लो वर्ष नै लगाइएको छ । गलत भ्रममा परेका अभिभावकले अहिले भने नियमित खोप सेवा लिनुहुन्छ’,  सुपरभाइजर चौधरीले भने।

उनका अनुसार खोप लगाउन स्थानीय तह र विद्यालयसँग समन्वय गरिएकाले पनि प्रभावकारी भएको बताए। जिल्लाका सबै स्वास्थ्य चौकीबाट प्राप्त तथ्यांकअनुसार खोपबाट बालबालिका वञ्चित भए विभिन्न रोगको जोखिममा पर्ने उच्च सम्भावनाका बारेमा अभिभावक सचेत हँुदा बालबालिकाले आफ्नो पायक पर्ने स्थानमा नियमित खोप सेवा लिने गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए।

उनले जिल्लाभित्र खोपको पहुँचको अवस्था उत्साहजनक देखिएको बताउँदै खोपबाट वञ्चित हुने बालबालिकालाई जटिल रोगको सम्भावना उच्च हुने बताए। नियमित खोप अभियानले औसत आयु बढ्ने, बालबालिकामा लाग्ने रोगबाट जोगाउनेलगायत दीर्घकालीन फाइदा रहेको बताए।

१३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोगविरुद्ध तथा गर्भवती महिलाका लागि टिटी खोप लगाउने गरिन्छ।

म्याग्दीमा बेनी अस्पताल, एक सय ३४ खोप केन्द्र, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ३९ वटा स्वास्थ्य चौकीसहित सामुदायिक स्वास्थ्य एकाइ, सहरी स्वास्थ्य केन्द्र गरी सबै प्रकारको स्वास्थ्य संस्थाको संख्या ७३ वटा रहेको छ।

म्याग्दीका सबै स्थानीय तहको वडास्तरमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाको सचेतनामूलक अभियानले समेत खोप सुनिश्चिततासँगै सबै बालबालिकालाई खोप पहुँचमा ल्याउन सहज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।

प्रकाशित: १४ माघ २०८० ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App