१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया सफल रूपमा सम्पन्न भएको छ। तातोपानी गाउँपालिका- ४ गिडीखोलाकी ३५ वर्षीया सम्झना पाण्डेको पाठेघरको शल्यक्रिया ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो।

१७ वर्षको कलिलै उमेरमा विवाह गरेकी पाण्डेलाई पाठेघरमा संक्रमण भएको थियो। उनका दुईवटा बच्चा जीवित छन् भने पाँचवटा बच्चा खेर गए। प्रतिष्ठानका अस्पताल निर्देशक स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राजीव शाहको नेतृत्वमा डा. सुवी बस्न्यात, डा. रवि खापुङ, डा. ललित धामी, स्वास्थ्यकर्मी सविना मानन्धर, राज खत्रीको टोलीले ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया गरेको हो।

यो प्रविधिबाट शल्यक्रिया गर्दा घाउ सानो हुने, रगत कम बग्ने, घाउ छिटो निको हुने, शल्यक्रिया गर्दा घाउको दाग सानो देखिने, थप रगत आवश्यकता कम पर्ने, संक्रमणको जोखिम कम हुने र बिरामीलाई डिस्चार्ज छिटो गर्न मिल्नेजस्ता फाइदा रहेको डा. शाहले बताए। उनले भने, ‘पेटमा ससाना घाउ बनाएर दुर्बिनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने ल्याप्रोस्कोपी हो।

पछिल्लो समय नेपालमा भित्र्याइएका प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सुरक्षित र भरपर्दो विधिका रूपमा चिनिन थालेको डा. शाहले बताए। यो विधिअन्तर्गत शल्यक्रिया गर्नुपर्ने अंगमाथि प्वाल बनाएर क्यामेरा राखिन्छ, जसको माध्यमले भित्री अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ’, उनले भने।

विशेषगरी, स्त्री रोगसम्बन्धी पाठेघरमा ट्युमर पलाएको, डिम्ब वा नलीमा बच्चा बसेमा, पाठेघरबाट बढी रगत बगेमा, पेटमा मासुको डल्लो पलाएमा, पाठेघर आफ्नो ठाउँबाट तल झरेमा, स्थायी बन्ध्याकरण र पाठेघरमा लाग्न सक्ने विभिन्न किसिमका रोग पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ।

प्रकाशित: २३ पुस २०८० ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App