१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

ज्येष्ठ नागरिकको घरमै उपचार : गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिका ८ थालेपोखराकी तुलसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन। केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो। उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन्। गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो।

बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरैनजिक पुग्यो। चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उनी दंग परिन्। घरमै चिकित्सक आएर उपचार गर्छन् भन्ने तुलसीले कल्पना पनि गरेका थिएनन्। जब थालेपोखरा गाउँमा नगरपालिकाबाट जनप्रतिनिधिसहित चिकित्सक र स्वास्थ्यकर्मी टोली पुग्यो तुलसीसहित गाउँका धेरै मानिस अचम्ममा परे।

गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील पौडेल, गलकोट नगर अस्पतालका एमडी जिपी डा.राजेश पौडेल लगायतको टोलीले ढेड सय बढी ज्येष्ठ नागरिक तथा स्थानीयको स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ।

गाउँभन्दा टाढा हुँदा धेरै नागरिक बिरामी भएर पनि अस्पताल पुग्न सक्दैनथे। सामान्य बिरामीले गाउँको शहरी स्वास्थ्य केन्द्रमा उपचार पाउँथे। नगरपालिकाले दूरदराजका नागरिकलाई लक्षित गरी घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाए।

पुनले टाढा जान नसक्दा अहिलेसम्म गाउँमै रोग पालेर बस्नुपरेको सुनाइन्। घरै नजिक आएको चिकित्सकसहितको टोलीले आफ्नो निःशुल्क स्वास्थ्य जाँच गरी औषधी दिएको उनको भनाइ छ।

औषधी खाएर निको नभए पुनः चिकित्सकले जाँच गर्ने पुन बताउँछिन्। आफूलाई चक्कर आउने र टाउको दुख्नेबाहेक अरू समस्या नभएको सुनाउँदै घरमै आएर उपचार गरिदिँदा खुसी लागेको उनले बताइन्। अहिलेसम्म यो गाउँमा चिकित्सक कहिल्यै नआएको भन्दै पहिलोपटक विशेषज्ञ सेवा लिन पाएको पुनको भनाइ छ।

‘गाउँमा मान्छेहरू बिरामी हुँदा गाडी खोजेर टाढाटाढा उपचार गर्न जाने गर्छन्, गाउँनजिक सानो अस्पताल छ, त्यहाँ ठूलो रोगको उपचार हुँदो रहेनछ, म पनि बिरामी भएको महिना दिन बढी भयो, घुमाउने, टाउको दुख्ने हुन्थ्यो, उपचार पाएकी थिइनँ’, पुनले भनिन्, ‘डाक्टर घरमै आएर जाँच्नुभयो, औषधी पनि दिएर जानुभएको छ, फेरि केही महिनापछि आउने भन्नुभएको छ, गाउँमा अरू मान्छे पनि बिरामी थिए, उनीहरूले पनि औषधी पाएका छन्, गाउँघरमा आएर उपचार गरिदिने, औषधी दिएपछि टाढा किन जानुपर्‍यो? मलाई त धेरै खुसी लागेको छ, यहाँ अहिलेसम्म यस्तो सुविधा आएको मैले थाहा पाएको छैन।’

स्थानीय ६० वर्षीय दुर्गाबहादुर खत्रीले सुविधायुक्त अस्पताल नजिक नहुँदा धेरै नागरिकले दुःख पाएको भन्दै गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताए।

अहिलेसम्म विशेषज्ञ चिकित्सक आएर गाउँमा यस किसिमको शिविर नभएको भन्दै यसपालि नगरपालिकाले यहाँका नागरिकको समस्या बुझेको उनको भनाइ छ।

गाउँगाउँमा सुविधासम्पन्न अस्पतालहरू नभए पनि समयसमयमा दूरदराजमा पुगेर स्वास्थ्य सेवा दिँदा धेरै नागरिक लाभान्वित हुने खत्रीले बताए। यो गाउँ अहिलेसम्म विकट रहेको र सडकको अवस्था पनि निकै जोखिमयुक्त हुँदा अस्पतालसम्म सहज रुपमा पुग्न नसकिने उनको भनाइ छ।

स्थानीयवासी खत्रीले भने, ‘गाउँमा यसरी डाक्टरहरू आएर हाम्रो परीक्षण गरेर निःशुल्कमा औषधी पाइन्छ भन्ने सोचेका पनि थिएनौं। नगरपालिकाले हाम्रो समस्या बुझ्यो, बल्ल सरकार भएको महसुस भयो, यस्ता खालका सेवाहरू महिना-तीन महिनामा दिइराख्यो भने जनतालाई दुःख हुने थिएन, अर्कोपटक पनि चिकित्सक आउने भनेका छन्, सामान्य प्रेसर जाँच गर्न पनि टाढा जानुपर्ने ठाउँमा छौं हामी।

अब समस्या पर्दैन होला’, थालेपोखरा गाउँ बागलुङको गलकोट नगरपालिकाको विकट गाउँ हो। त्यसले गर्दा गलकोट नगरपालिकाले सोही गाउँबाटै र घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी अघिल्लो वर्षदेखि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकोमा यस वर्ष निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पनि सुरुआत गरेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुशील पौडेलले बताए।

ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधी दिँदा उनीहरूलाई टाढा जान नपर्ने र खर्च पनि नहुने पौडेलको भनाइ छ। नगरपालिकाअन्तर्गत ६० वर्षभन्दा माथिका पाँच हजार ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको उनले बताए।

वर्षको दुईपटक घरमै पुग्ने, पहिलोपटक स्वास्थ्य परीक्षक गरी औषधी दिनाका साथै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्डसमेत दिने र पुनः अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने संयोजक पौडेलको भनाइ छ। ज्येष्ठ नागरिकको घरमै पुगेर सुगर, प्रेसर, आँखा, छालालगायत रोगको जाँच र निःशुल्क औषधी दिने गरेको उनले बताए।

यस वर्ष घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र शिविरका लागि नगरपालिकाले सात लाख विनियोजन गरेको पौडेलको भनाइ छ। नगरपालिकाको ११ वटै वडामा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै विशेषज्ञ स्वास्थ्य शिविर गरिने उनले बताए।

‘गलकोट नगरपालिकामा पाँच हजार ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरूको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने र औषधी उपलब्ध गराउने छौं, यो कार्यक्रम पोहोर सालदेखि सुरु गरेका हौं, यस वर्ष थप प्रभावकारी बनाउन लागिरहेका छौं,’ उनले भने, ‘ज्येष्ठ नागरिक कोही पनि छुट्नु हुने छैन, अन्य नागरिकले पनि शिविरबाट सेवा लिनुहुने छ, ११ वटै वडामा पुगेर सेवा प्रदान गर्ने छौं।’

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जनतालाई स्वस्थ राख्नका लागि घरघरमा पुगेर स्वास्थ्य सेवा दिन थालिएको बताए। पालिकाले हरेक वर्ष स्वास्थ्यमा नयाँनयाँ काम गर्दै आएको भन्दै यस वर्ष सुगमदेखि दुर्गमसम्मका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन लागेको उनको भनाइ थियो।

कोही पनि नागरिकले उपचार नपाएर दुःख नपाओस् भन्ने हिसाबले गाउँमै स्वास्थ्य सेवा पुर्‍याउन घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र स्वास्थ्य शिविर सुरु गरिएको प्रवक्ता भण्डारीले बताए।

-रासस

प्रकाशित: ६ पुस २०८० ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App