१६ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बुढीगंगामा साँढे २ अर्ब लागतको अस्पताल शिलान्यास

शिलान्यास गरिएको अस्पतालको भवनको स्केच

मोरङको बुढीगंगामा साँढे २ अर्ब लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। शिवम अर्गनाइजेसनले निर्माण गर्न लागेको अस्पतालको मंगलबार शिलान्यास गरिएको छ।  

नेपालबाट बर्सेनि हजारौँको सङ्ख्यामा नेपालीहरू भारत लगायत विभिन्न देशहरूमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित अस्पताल सञ्चालनको तयारी गरिएको अर्गनाईजेसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए।

शिलान्यासपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले कोशी प्रदेशबाट बिरामी अन्यत्र रिफर गर्नुपर्ने अवस्थाको पनि अस्पताल सञ्चालनमा आएपछि अन्त्य हुने राउतले दाबी गरे।  

उनले भने, ‘आरआर अस्पताल सञ्चालनमा आएपछि भारतलगायत अन्य देशमा उपचारका लागि जानु त पर्दैन नै कोशी प्रदेशबाट राजधानी काठमाण्डौंका विभिन्न अस्पतालमा बिरामी रिफर पनि गर्नुपर्दैन।’

राउतले आरआर अस्पताललाई कोशी प्रदेशको रिफरल अस्पतालमा रूपमा सञ्जाल गर्ने तयारी गरिएको जानकारी दिए। तीन वर्षभित्रमा अस्पताल निर्माणको लक्ष्य राखिए पनि २ वर्षमै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने राउतले दाबी गरे।

 अस्पतालको शिलान्यास पछि आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समिति अध्यक्ष राजेन्द्र राउत लगायत। तस्वीर: चुमन बस्नेत/ नागरिक

दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा एक बिगाहा ८ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुने उनले बताए। अस्पताल सञ्चालनपछि नर्सिङ कलेजको तयारी गरिने राउतले जानकारी दिए।

सरकारी नीतिका कारण विराटनगरमा सञ्चालित नसिंङ कलेजहरू बन्द हुँदा भारत लगायत विभिन्न देशमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बढेको राउतले बताए। विदेश पढ्न जाने विद्यार्थीलाई रोक्न पनि नर्सिङलगायतका स्वास्थ्यका विभिन्न विषयमा नेपालमै कलेजहरू स्थापना गर्न आवश्यक देखिएको राउतको धारणा छ।

झन्डै ३० वर्षदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आउनु भएका नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासङ्घका स्थायी समिति सदस्य तथा सार्क चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य समेत हुन्।

विराटनगरमा उद्योग, अटोमोवाईल र ट्रेडिङ क्षेत्रमा सफल व्यवसायी राउतले पछिल्ला वर्षहरूमा सेवा क्षेत्रतर्फ लगानी केन्द्रित गर्दै आएका छन्।

उनले काठमाण्डौंमा होटेल, विराटनगरमा अस्पताल, होटेल र हाउजिङमा लगानी बिस्तार गरेका छन्।

काठमाण्डौंमा होटेल निर्माण सम्पन्न हुने चरणमा रहेको राउतले बताए।  उद्योग क्षेत्रमा लगानी गर्ने वातावरण नभए पनि सेवा क्षेत्रमा धेरै अवसर देखिएका कारण पछिल्ला वर्षहरूमा नेपालका उद्योगी व्यवसायीहरूले सेवा क्षेत्र तर्फ लगानी केन्द्रित गर्न थालेका छन् । विराटनगरमा उपचारका लागि  थुप्रै अस्पताल भए पनि आरआर अस्पतालले अन्य अस्पतालहरूसँग गुणस्तरमा प्रतिस्पर्धा गर्ने राउतले बताए।

देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तर बिचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने शिवम् अर्गनाईजेसनका सदस्य प्रतीक राउतले बताए।

उनले सुरुमा २०० शय्या क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ। हाल यसलाई १०० शैंयाको मल्टि स्पेशियालिटी अस्पताल सञ्चालन गर्ने र क्रमशः ३०० शय्या सम्म विस्तार गर्ने लक्ष्य लिइएको  छ।

अस्पतालले मुटु रोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवा, कार्डियो, क्याथ ल्याब जस्ता सेवा सुविधा उपलब्ध गराउने राउतको भनाई छ।

उनका अनुसार अस्पतालबाट जनरल मेडिसिन, न्युरो सर्जरी, जनरल सर्जरी, मिर्गौला रोग, मूत्र रोग, स्त्रीरोग तथा प्रसूति सेवा, आँखा रोग, नवजात शिशु तथा बाल रोग, हाड जोर्नी तथा नशाको विशिष्ट कृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ।

विभिन्न  किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने सदस्य राउतले बताए।  

प्रकाशित: ५ पुस २०८० ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App