१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अस्वस्थ जीवनशैलीले रोगको सिकार: आरजु राणा

नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले ‘अस्वस्थ जीवनशैली’ ले गर्दा अनेक रोगको सिकार हुनु परेको बताएकी छिन्।

नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको ‘नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तरगत ‘स्वस्थ सहर अभियानका लागि कार्यशाला गोष्ठी’ लाई सम्बोधन गर्दै नसर्ने रोगले त झन् डरलाग्दो रूप लिइरहेको धारणा राखिन्। रोग लाग्नुमा खानपान पनि एउटा पक्ष भएको उनले बताइन्।

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्ष समेत रहेकी डा. राणाले उमेर बढ्दै जाँदा आफ्नो स्वास्थ्यको उचित ख्याल गर्नुपर्ने बताइन्। प्रतिनिधि सभाको ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति’ सभापति डा. राणाले नसर्ने रोग रोकथामका लागि मुलुकका अधिकांश स्थानीय तहमा अभियानका साथ अगाडी बढाउनुपर्ने बताइन्।

‘नसर्ने रोगले डरलाग्दो रूप लिइरहेको छ, यो सबै अस्वस्थ जीवन शैली र खानपानका कारणले गर्दा भएको हो,’ उनले भनिन् ‘यस विषयमा नयाँ पुस्तालाई जागरूक बनाउनुपर्छ।’

नसर्ने रोगविरुद्ध सरकारले देशव्यापी रुपमा जनचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेकाेमा उनले जोड दिइन्।

‘सरकारले नसर्ने रोगलाई कम गर्दै लैजानुपर्छ, क्यान्सर रोगका बिरामीका लागि मात्रै राष्ट्रिय ढुकुटीबाट धेरै रकम खर्च हुन्छ,’ काँग्रेस केन्द्रीय सदस्य डा. राणाले भनिन्।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सर्ने भन्दा नसर्ने रोगका बिरामी धेरै रहेको बताए। संविधानले नै मानिसको स्वास्थ्य अधिकारलाई सुनिश्चित गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिकामा नसर्ने रोगका बिरामीहरू सिफारिसका लागि दिनहुँ आउने गरेको सुनाए। 

‘नसर्ने रोगका बिरामी मैले कल्पना नगरेका आउँछन्, उनले भने। नसर्ने रोग रोकथाम गर्न नसके राज्यले थेग्न नसक्ने अवस्था आउन सक्ने मेयर विष्टले बताए।

सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिनेश चौधरी, उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले आफ्नो धारणा राखेका थिए, भने स्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: १२ मंसिर २०८० १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App