१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

कारागारमा मानव अधिकारको प्रत्याभूतिमा सम्झौता नगर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंका कारागारहरूमा तत्काल सुधारको आवश्यकता औंल्याउँदै सुधारको मार्गचित्र पेस गर्न निर्देशन दिएका छन्।

मंगलबार केन्द्रीय कारागार जगन्नाथदेवल, डिल्लीबजार कारागार र केन्द्रीय कारागार अस्पतालको स्थलगत निरीक्षण गर्दै मन्त्री अर्यालले बन्दीगृहमा मानव अधिकारको प्रत्याभूतिमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीहरूलाई सचेत गराएका हुन्।

निरीक्षणका क्रममा मन्त्री अर्यालले जगन्नाथदेवलस्थित केन्द्र, भद्र र महिला सुधार गृह तथा डिल्लीबजार कारागारका महिला र पुरुष ब्लकहरूमा पुगेर कैदीबन्दीसँग प्रत्यक्ष भेटघाट गरेका थिए।

उनले बन्दीहरूका पीरमर्का, गुनासा र राज्यबाट प्राप्त सेवा–सुविधाबारे जानकारी लिएका थिए।

सम्बन्धित कारागार प्रशासकहरूले कारागारको क्षमता, भौतिक अवस्था र बन्दीहरूको संख्याबारे जानकारी गराएपछि मन्त्री अर्यालले कारागारको भौतिक पूर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताका लागि मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले कारागार व्यवस्थापन विभागमार्फत सुधारको स्पष्ट खाका यथाशीघ्र मन्त्रालयमा पेस गर्न निर्देशन दिए।

कारागारमा रहेका वृद्ध तथा दीर्घरोगी बन्दीहरूप्रति चासो व्यक्त गर्दै मन्त्री अर्यालले उनीहरूको सजाय भुक्तानका सम्बन्धमा कानुनअनुसार प्राप्त हुने राहत र सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

यस्तै, त्रिपुरेश्वरस्थित केन्द्रीय कारागार अस्पतालको निरीक्षण गर्दै उनले उपचाररत बन्दीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए र अस्पतालको सेवालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।

निरीक्षण टोलीमा गृहसचिव, शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थापन विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक लगायतका उच्च अधिकारीहरूको सहभागिता थियो।

प्रकाशित: १३ माघ २०८२ १८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App