१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘देश हचुवाको भरमा चलेको छ’: डा. गोविन्द केसी

भेरी अस्पतालमा भूकम्पका घाइतेको अवस्था बुझ्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी। तस्बिर: अर्जुन ओली/नागरिक

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले देश हचुवाको भरमा चलिरहेको आरोप लगाएका छन्। भूकम्पबाट प्रभावित घाइतेको उपचार गर्न यहाँ आइपुगेका उनले आइतबार नेपालगन्जमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन्। 

‘वास्तवमा भन्ने हो भने देश हचुवाको भरमा चलिरहेको छ, कसैलाई केही मतलब छैन, मन्त्रीलाई आफ्नो मन्त्रालय मातहतको काम के भइरहेको छ, केही मतलब छ? उनीहरुलाई निन्द्रा नलाग्नुपर्ने हो, यति अव्यवस्थित छ,’ उनले भने।

अस्पतालमा दरबन्दी नभएको र राज्यले डाक्टर तथा नर्सको पनि सेवा सुविधा नबढाएको आरोप लगाए। सीमित जनशक्तिका बाबजुद पनि मुलुकभरका सरकारी अस्पतालहरूले बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको भन्दै डा. केसीले दुःख व्यक्त गरे। अस्पतालहरूले ४० वर्षअघिको दरबन्दी अनुसार सेवा दिनुपरेको बताउँदै भने, ‘नेपालभरिकै सरकारी अस्पतालको यही अवस्था छ, आन्तरिक स्रोतबाट तलब खुवाउने गरी मान्छे राख्नु परेको छ, हामी लडिरहेका छौँ।’ आफूहरूले अस्पतालमा क्षमता अनुसारको दरबन्दी स्वीकृत गर्न सुझाव दिँदा स्वास्थ्य मन्त्रालयले ‘अर्थ मन्त्रालयमा लेखेर पठाएको’ भन्ने परिस्थिति रहेको सुनाए। 

जाजरकोट र रुकुम(पश्चिम)का भूकम्प प्रभावित घाइतेको उपचार गर्न डा. केसी निस्केका हुन्। काठमाडौँबाट आइतबार नेपालगन्ज आइपुगेका उनले दिउँसो भेरी अस्पतालमा उपचाररत घाइतेको रिपोर्ट हेरे र स्वास्थ्य जाँच गरे। भूकम्पका घाइतेलाई भर्ना गरिएको भेरी अस्पतालको ‘विपद् वार्ड’ मा पुगेका उनले पालैपालो सबैको रिपोर्ट हेरेका थिए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझी र वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश थापासहित वार्डमा छिरेका डा. केसीले सबै घाइतेले सहज रुपमा उपचार पाएकोमा खुसी व्यक्त गरे। 

‘बिरामी सबै जसोको अवस्था राम्रो छ, अस्पतालको तर्फबाट बिरामीहरूको ख्याल राम्रोसँग गर्नु भएको छ र उपचार पनि राम्रोसँग गर्नु भएको रहेछ,’ उनले भने। गम्भीर प्रकारका बिरामीको शल्यक्रिया भइसकेको र शल्यक्रिया गर्नुपर्ने बिरामीको गरिसकेको पाइएको डा. केसीले बताए। ‘उहाँहरूले आफ्नो दायित्व सम्झेर गर्नु भएको छ, उहाँहरू विशेषज्ञ हो, विशेषज्ञभन्दा मेडिकल अफिसर बढी चाहिने हो, अस्पतालमा मेडिकल अफिसरको दरबन्दी नै छैन,’ डा. केसीले भने।

नेपालगन्जमा बिरामीको अवस्था बुझेपछि डा. केसी सुर्खेत प्रस्थान गरेका छन्। सुर्खेतस्थित अस्पतालमा भर्ना भएका घाइतेलाई हेरेर जाजरकोट र रुकुम(पश्चिम) जाने उनको योजना छ। घाइतेको उपचार गर्दा आफ्नो बसाई कतिदिन सम्म लम्बिन्छ भन्ने अहिले नै निश्चित नभएको डा. केसीले बताए। ‘त्यहाँको आवश्यकता अनुसार मेरो बसाई हुन्छ, अहिले भन्न गाह्रो छ,’ उनले भने।  

प्रकाशित: १९ कार्तिक २०८० १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App