४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चिकित्सा ऐनमै समस्या छ, ऐन संशोधन गरेरै छाड्छु: स्वास्थ्य मन्त्री

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐनमै समस्या रहेको बताएका छन्।

शनिबार हेटौंडा-६ मा स्थापना भएको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालको उद्घाटन गर्दै उनले चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन हुनैपर्नेमा जोड दिए।

ऐन संशोधन गर्ने कुरामा अप्ठ्याराहरू आउन सक्ने तर्फ इंगित गर्दै उनले जसरी पनि संशोधन गरेरै छाड्ने बताएका छन्। स्वास्थ्य क्षेत्रको नीतिगत सुधारका लागि प्रधानमन्त्री पनि सकारात्मक रहेको उनले जिकिर गरे।

सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल स्थापना भएकोमा खुसी व्यक्त गर्दै उनले अस्पताल सञ्चालनका लागि केन्द्र सरकार सहयोग गर्न तयार रहेको बताए। ‘हामी सहयोगका लागि तयार छौं तर पहिले काम गरेर देखाउनुपर्‍यो’, मन्त्री बस्नेतले भने।

यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले नेपाली जनताले गरिबीकै कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए। तीनै तहका सरकारी अस्पतालले गरिब, असहायको निःशुल्क उपचार गर्नुपर्ने उनले बताए।

उनले निजी अस्पताल, मेडिकल कलेजहरु र सामुदायिक अस्पतालहरुले आफ्नो बेड संख्याको १० प्रतिशत छुट्टाएर निःशुल्क उपचार गर्नुपर्ने जानकारी दिए।

‘सबैले कम्तीमा १० प्रतिशत बेड छुट्याएर निःशुल्क उपचार सेवा दिनुपर्छ’, प्रदेशका स्वास्थ्य मन्त्री जोशीले भने, ‘यो व्यवस्था कडाइका साथ लागू गर्न स्वास्थ्य क्षेत्रको टिम नै लागेका छौं।’ 

हेटौंडा-६ मा स्थापना भएको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालले प्रारम्भमा १५ शय्याबाट सेवा सुरु गरेको छ। तीनै तहका सरकारको सहयोग प्राप्त भए छिट्टै यस अस्पताललाई ५० शय्याको बनाउने र मुटु रोग विशेषज्ञसहितको उपचार सेवा सुरु गरिने सिद्धस्थली सामुदायिक अस्पतालका संस्थापक डाक्टर अवन गौतमले जानकारी दिए।

प्रकाशित: २० आश्विन २०८० १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App