नेपालमा ६ महिनादेखि पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिकामा रक्तअल्पता छ । नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०२२ को प्रतिवेदनअनुसार यो उमेर समूहका बालबालिकामा रक्तअल्पता बढी मात्रामा देखिएको हो । नेपालमा रक्तअल्पता देखिने अर्को उमेर समूहमा १४ देखि ५९ वर्षका महिला छन् । यो समूहका महिलामा भन्दा पनि पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको समस्या बढी पाइएको छ । त्यस्ता महिलामा भन्दा बालबालिकामा यो समस्या ९ प्रतिशतले बढी रहेको प्रतिवेदनले औंल्याएको छ ।
रगतमा रातो रक्तकोषको कमी हुने अवस्थालाई रक्तअल्पता भनिन्छ । रक्तअल्पता भए शरीरमा अक्सिजनको कमी भई उमेरअनुसार शारीरिक तथा मानसिक विकास हुन नसक्ने कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. रामहरि चापागाईं बताउँछन् । उनका अनुसार रक्तअल्पता भए बालबालिकाको आँखा तथा हत्केला सेतो हुने, खेल्न नसक्ने, अल्छी लाग्नेजस्ता लक्षण देखिन्छन् । यो समस्या बढ्दै गए अन्य रोगको संक्रमण छिटो लाग्ने, पेट फुल्ने, कुपोषण हुने, ख्याउटे बन्नेजस्ता समस्या निम्तिने चापागाईं बताउँछन् ।
नेपालमा रक्तअल्पता देखिने अर्को उमेर समूहमा १४ देखि ५९ वर्षका महिला छन् । यो समूहका महिलामा भन्दा पनि पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको समस्या बढी पाइएको छ ।
पाँच वर्षअघिको तुलनामा यो दर केही घटे पनि लक्षित संंख्यामा घट्न नसकेको परिवार कल्याण महाशाखा पोषण शाखाप्रमुख लीलाविक्रम थापा बताउँछन् । सन् २०१६ मा नेपालमा ६ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको समस्या ५३ प्रतिशत थियो । यो समस्या मधेस र लुम्बिनी प्रदेशका बालबालिकामा झनै बढी छ । सर्वेक्षणले शिक्षितको तुलनामा निरक्षर आमाका बालबालिकामा बढी रक्तअल्पताको समस्या देखिन्छ ।
मधेस प्रदेश, निरक्षर आमाका सन्तान र विपन्न वर्गका बालबालिकामा रक्तअल्पताको समस्या बढी छ । सन् २०२२ को सर्वेक्षणअनुसार निरक्षर आमाका बालबालिकामा ५२ प्रतिशतमा रक्तअल्पता छ भने तराईका ४९ प्र्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या छ । सन् २०१६ मा निरक्षर आमाका ५७ प्रतिशत बालबालिकामा रक्तअल्पता थियो । तराईका भने यो समस्या ५९ प्रतिशतमा थियो । यो हिसाबले निरक्षर आमाका बालबालिकामा ५ प्रतिशत र तराईका बालबालिकामा १० प्रतिशत घटेको देखिन्छ ।
विशेष गरी तराईमा बढी मात्रामा आलुको परिकार खाने, भिटामिन बी १२ र आइरन भएका खानेकुरा कम समावेश गर्ने चलनले पनि रक्तअल्पता हुने गरेको थापाको भनाइ छ ।
बालबालिकामा रक्तअल्पताको कारण
पोषण शाखाका प्रमुख थापाका अनुसार लुम्बिनी र मधेस प्रदेशमा यो समस्या बढी छ । त्यसमा पनि विपन्न तथा निरक्षर आमाका बालबालिकामा रक्तअल्पता बढी देखिन्छ ।
विभिन्न कीटजन्य रोगको संक्रमण, आमामा शिक्षाको कमीजस्ता कारणले नेपालमा लक्षित समूहका बालबालिकामा अहिले पनि रक्तअल्पता घट्न नसकेको उनको भनाइ छ । उनका अनुसार जुका, डेंगी संक्रमणजस्ता कीटजन्य रोगको प्रभाव तराईका विपन्न वर्गमा बढी परेको छ । ‘नेपालमा बालबालिकामा जुकाको समस्या धेरै छ, यसले रक्तअल्पता गराउँछ,’ उनले भने, ‘तराईमा पनि सम्पन्न वर्गमा भन्दा विपन्नमा यो समस्या बढी देखिन्छ ।’
उपलब्ध खाना मिलाएर खाने तरिका नपुगेर पनि विभिन्न समूहमा रक्तअल्पताको समस्या रहेको थापा बताउँछन् । बालबालिका जन्मिनेबित्तिकै आमाको दूध नपाएका बालबालिकामा पनि पछि गएर रक्तअल्पताको समस्या हुने र ६ महिनापछि बालबालिकालाई दिइने थप आहार पोेषणयुक्त नहुनाले पनि बालबालिकामा रक्तअल्पता हुने बालरोग विशेषज्ञ डा. चापागाईं बताउँछन् । विशेष गरी तराईमा बढी मात्रामा आलुको परिकार खाने, भिटामिन बी १२ र आइरन भएका खानेकुरा कम समावेश गर्ने चलनले पनि रक्तअल्पता हुने गरेको थापाको भनाइ छ । ‘तराईमा आलुको पकौडा, आलुकै भुजिया, आलु चिप्स नियमित भोजनमा समावेश भएको देखिन्छ,’ उनले भने । यस्ता खानामा आइरन र भिटामिन बी १२ को कमी हुने उनको भनाइ छ ।
स्थानीय सरकारले पोषणको क्षेत्रमा आफ्नै खालका कार्यक्रम सुरु गरे पनि प्रभावकारी हुन नसकेको उनको दाबी छ ।
सरकारले बालबालिकामा कायम रक्तअल्पताको समस्या कम गर्न कार्यक्रम सबै स्थानीय तहसम्म पु¥याएको भए पनि सबै लक्षित समूहमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनका अनुसार सरकारले यो उमेर समूहका बालबालिकालाई ‘बालभिटा’ १८० डोज निःशुल्क वितरण गरेको छ । बालभिटा अन्य खानेकुरामा मिसाएर खाए रक्तअल्पतामा कमी ल्याउन सहयोग पुग्छ । सरकारले वितरण गरेको यो पोषण तत्त्व सबै बालबालिकाले नलिएको हुन सक्ने थापाको अनुमान छ ।
सरकारको कार्यक्रममाथि विश्वास नभएर या यो पोषणको प्रभावबारे लक्षित समूहसमक्ष प्रभावकारी जानकारी नभएर हुन सक्ने उनको अनुमान छ । आगामी दिनमा कार्यक्रममा सुधार ल्याउनुपर्ने देखिएको पनि थापाले बताए । स्थानीय सरकारले पोषणको क्षेत्रमा आफ्नै खालका कार्यक्रम सुरु गरे पनि प्रभावकारी हुन नसकेको उनको दाबी छ । ‘स्वास्थ्य स्थानीय निकायको भागमा परेको छ, जनचेतनामूलक कार्यक्रम थप प्रभावकारी हुनुपर्छ,’ उनले भने ।
मधेस सरकार के गर्दै छ ?
मधेस प्रदेशमा अहिले पनि शिक्षाको कमीका कारण बालविवाह हुनु, रक्तअल्पता भएकै बखत किशोरी गर्भवती हुनुले पनि जन्मिने बच्चामा रक्तअल्पता हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले बताए । आमाहरूमा शिक्षाको कमीका कारण स्वस्थ र सन्तुलित भोजन शिशुलाई खुवाउन नसक्नु, जुकाको संक्रमण हुनु, थारू समुदायमा सिकलसेल एनिमियाँ र मुस्लिम समुदायमा थालसिमिया देखिनु र बालबालिकामा रगतको क्यान्सर हुनुजस्ता कारणले पनि मधेसमा पाँच वर्ष मुनिका बालबालिकासहित अन्य उमेर समूहमा पनि रक्तअल्पता बढी देखिएको सचिव यादवको भनाइ छ ।
पोषणको समस्यालाई सम्बोधन गर्ने गरी आइएमएनसिआई (एकीकृत बालरोग व्यवस्थापन कार्यक्रम), खोप केन्द्रदेखि नै सरसफाइ कार्यक्रम, बहुउद्देश्यीय पोषण योजनाजस्ता नीति तथा कार्यक्रम बनेका छन् ।
लामो समयदेखि मधेसमा यस्तो समस्या देखिएपछि त्यसको निराकरणका लागि संघीय सरकारको कार्यक्रमसँग जोडेर मधेस सरकार र स्थानीय सरकारले नीति तथा कार्यक्रम अघि सारेको उनले बताए । मधेस प्रदेशमा कायम पोषणको कमीले निम्त्याएको समस्यालाई समाधान गर्ने गरी केही कार्यक्रम अघि सारेको सचिव यादवले बताए । उनले पहिला समस्याको पहिचानका लागि हरेक स्थानीय तहमा रक्तअल्पता पहिचान गर्न प्रयोगशाला र सबै खालको रगतको रोगको पहिचान गर्न प्रदेश अस्पतालहरूमा सिकलेसेल एनिमियाँ र थालसिमिया वा रगत क्यान्सर पत्ता लगाउने प्रयोगशालाको व्यवस्था गरेको जानकारी दिए ।
मन्त्रालयका अनुसार पोषणको समस्यालाई सम्बोधन गर्ने गरी आइएमएनसिआई (एकीकृत बालरोग व्यवस्थापन कार्यक्रम), खोप केन्द्रदेखि नै सरसफाइ कार्यक्रम, बहुउद्देश्यीय पोषण योजनाजस्ता नीति तथा कार्यक्रम बनेका छन् । यसका साथै संघीय सरकारबाट जारी कार्यक्रमहरू ‘हरेक बार खाना चार’सम्बन्धी पोषण चेतना कार्यक्रम, फोलिक एसिड तथा आइरन वितरण कार्यक्रम, प्रत्येक ६ महिनामा जुकाको औषधि वितरण कार्यक्रम पनि मधेसमा सञ्चालन भइरहेका छन् । यति हुँदाहुँदै पनि मधेसमा रक्तअल्पताको समस्या घट्न नसक्नुमा अशिक्षा र प्याकेटका खानाको प्रयोग मुख्य कारण रहेको सचिव यादवको भनाइ छ । कतिपय ठाउँमा स्थानीय सरकारले आफ्नै खालका पोेषण कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
रक्तअल्पताबाट कसरी बच्ने ?
बालबालिकालाई सन्तुलित भोजन र पोषणयुक्त खानेकुरा खुवाएर रक्तअल्पताबाट बचाउन सकिन्छ । मधेसमा पोषणयुक्त खानेकुराबारे जनचेतनामूलक कार्यक्रम गर्ने, जुका तथा अन्य कीटजन्य रोगको संक्रमणवाट बचाउने, खानामा आइरन, प्रोटिन, भिटामिनप्रशस्त मात्रामा खुवाएर पनि यसबाट बालबालिकालाई बचाउन सकिने चिकित्सकहरू बताउँछन् । अन्डा, माछा, मासु, कलेजो, सागपात, फलफूल, दुधलगायत सबै खानेकुरा समावेश गरेर पर्याप्त मात्रामा खुवाउने र आमाले दुई वर्षसम्म स्तनपान गराए पनि बालबालिकामा रक्तअल्पताको समस्या कम हुने चिकित्सकको भनाइ छ ।
प्रकाशित: ९ आश्विन २०८० ०२:१९ मंगलबार