१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन

सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो।

समितिमा प्राडा भगवान कोइराला, डा.सन्दुक रुइत, डा.भोला रिजाल, प्राडा शैली प्रधान, प्राडा रविमान श्रेष्ठ, प्राडा किरणप्रसाद श्रेष्ठ, प्राडा रत्नमणि गजुरेल, प्राडा सुवास आचार्य, प्राडा शशि शर्मा, प्राडा रमेश चाखनी, सह प्राडा ध्रुव गैरे, डा.पुकारचन्द्र श्रेष्ठ, डा.महेश अधिकारी र डा. अनन्त अधिकारी सदस्य रहेका छन्।

नेपालको स्वास्थ्य संस्थाहरूको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवाप्रवाह भइरहेको अवस्थामा राज्यको महत्त्वपूर्ण निकायमा कार्यरत भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरेजस्तो समेत देखिएकाले सो समिति गठन गरिएको हो।

समितिले वीर अस्पतालबाट भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्ने लगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गर्नेछ।

समितिको आजको वैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भिभिआइपी र भिआइपीले नेपालमै उपचार गर्दा आम जनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए।

उनले भने, ‘अब नेपाली स्रोत र साधनबाट उपचारका लागि आवश्यक सबै उपकरणको व्यवस्था छ, अकस्मात कुनै त्यस्तो परेछ भने, नेपालकै विशेषज्ञको टिमले गरेको सिफारिस गरेका आधारमा किन नपठाउने?’ उनले भने।

प्रकाशित: २१ श्रावण २०८० ०६:०९ आइतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अति विशिष्ठ व्यक्ति (भिभिआइपी)